~अनिल नेम्बाङ~
यतिबेला फाँसिको तख्तामा छु।
एक युग पहिले चिलको देश गएको थिएं, काग बनेर
मैले देखें,
-उसैको आकाशमा सारा तारा झुल्केको
-उसैको आँगनमा सारा सयपत्री फुलेको
-उसैको दलानमा चन्द्र सुर्य फक्रेको
अनी बेस्सरी गाली गरेँ कंगालहरुलाई।
चिलको देशमा
मान्छे मात्र ह्वाइट हाउसमा देखेँ
सत्ते, स्याल त डेल्टा मै घुम्दै थिए
स्याउलाको गलपट्टी बाँधेर
अनी फेरी सरापेँ स्यालदरवारका स्यालहरुलाई।
एक युग पहिले काग बनेर गएको थिए
नुनिलो पिरो समयले नकलची सुगा बनेँ
अनी धेरै कागहरुलाई सुनाएँ
रटेको “का का कृष्ण कौ।”
बिग्रेको साइत!
एकाबिहानै मान्छेले बाटो काटेको दिन
चिलको देशमा मर्न आउने जर्मनी अल्बर्टहरु माझ
धेरै नै बर्बराएछु “लाजको टापु” मान्छे बनी टोपलेर
मात्र मान्छेले गर्छ चिलको शिकार
त्यसैले त यतिबेला फाँसिको तख्तामा छु।
ठीक यतिबेला फाँसिको तख्तामा छु।
एउटा नकावधारी आएर सोध्छ:
“अन्तिमा इच्छा के?”
अगमवक्ता एडमको कसम खाएर झुटो बोल्दै
म निकट मृत्युले जीवन न माँगे
कहाँँ पाउनु!
म त पक्कै मर्छु
तर तिमी मान्छे बनेको दिन ढलेको बडेमानको लिबर्टी स्टाच्यु हेर्नु
तिल जत्रो पनि दिल हुने छैन
साँच्चै मुर्तिमा त दिल नै पो हुंदैन त।
जीवन दिन त दिल पनि हुनुपर्छ।
बैकल्पिक इच्छा यसरी तन्किदै गयो:
-मैले लेछेवा भिरको वन तरुल माँगे
-मिठो रोधी सुनाउ भने
-मुर्चुङगा र सारङगीको धुन सुन्छु भने
-एकैचोटी सिम्सिमे पानी, कुहिरो र घाम हेर्छु भने
.
.
.
-सानोमा घुइँ खेल्ने साथी सँग भेट्छु भने
केही पाइन!
अन्तिममा एक गिलास पानी माँगे
त्यो पनि तमोर हुँदै प्रशान्त पुगेको सगरमाथाको पानी रहेछ
अनी भुलेको मुन्धुमलाई सम्झिएर अन्तिम सत्य बोलेँ:
“एक युग पहिले
काग बनेर चिलको देश पसेको थिएँ
टल्कने सबै सबै चिज टिप्न भनेर
तर फाँसिको तख्तामा थाहा भयो
चिलको देशमा मलाई चाहिने केही रहेनछ
सत्ते,चिलको देश त महाकंगाल पो रहेछ।।।”
(स्रोत : रचनाकारको ब्लगबाट सभार)