~करुण थापा~
अमृत पिउने कोही अमर नहुन नि सक्छ
औषधिको राम्रो असर नहुन नि सक्छ
तिम्रो भागमा खुसी पर्दा मेरो हात खाली
सबको भाग्यमा बराबर नहुन नि सक्छ
खहरेको किनारमा छ जिन्दगीको घर
आउँदो बर्खा मेरो यो घर नहुन नि सक्छ
आउन सक्छ कसैलाई नि शिशा फुट्दा दोष
जसको हातमा कुनै पत्थर नहुन नि सक्छ
समयको रफ्तारलाई कसले रोक्न सक्ला
भर्खर यहीँ थियो, भर्खर नहुन नि सक्छ
मर्छु भनी डराउने धेरै हुन्छन् यहाँ
‘करुण’लाई बाँच्ने रहर नहुन नि सक्छ।