~निरज भट्टराई~
सबथोक पाएर पनि केही नपाएजस्तो गर्छ
जिन्दगीले घरिघरि चित्त दुखाएजस्तो गर्छ
हावाका हातहरू हरियो कपाल सुम्सुम्याइ दिन्छन्
मोडमा टक्क उभिएर पीपल निदाएजस्तो गर्छ
चाहेको भए सिङ्गै नदी पिउन सक्थ्यो बगरले
अरूको तिर्खा सम्झेर ओठ भिजाएजस्तो गर्छ
एकपल्ट आफ्नो मनलाई अक्षरमा उतारी हेर त
आँखा खोलेजस्तो गर्छ, औंला चलाएजस्तो गर्छ
गज़लको गला त उहिल्यैदेखि थिचिएको छ यहाँ
गज़लकार भने ठूलो स्वरले चिच्याएजस्तो गर्छ।