कविता : बोक्सी

~कल्पना चिलुवाल~kalpana-chiluwal

उनीहरूले बोक्सी करार
गरिदिएकै रात
झाँको फिजाएर
बोक्सी खोज्न
ऊ निस्किएकी हो

कस्ता कस्ता हुन्छन्
बोक्सी सम्प्रदायका अनुहारहरू
बोक्सी रीतिरिवजहरू
बोक्सी नृत्य र गायनहरू
बोक्सी बुझ्नकै लागि
यो मध्यरात
ऊ निस्किएकी हो

सहनशीलाको शालीन बिम्ब
पतिदेवको रक्सी बोतलले
चर्काएपछि
आँखामा राता पहेला बत्ती बाल्दै
पहिलो पटक पतिलाई
हातमुख फर्काएकी
छिमेकी शान्तिदेवीको
अशान्त बोक्सी रूप
उसले त्यही रात
प्रत्यक्ष देखेकी हो

करेसा बारीको साँघुरो साँध
छिमेकी हाकिमको फराकिलो
घडेरीले मिचेपछि
जङ्गिएकी
मैतीदेवीको सेतो सारी
कालो हातले लछार्दै
मलमुत्र खुवाएको
बोक्सी दृश्य
काँम्दै काँम्दै उसले
त्यही रात हेरेकी हो

रातको जोश निख्रिएपछि
थाकेको सहरले
भोलि फर्काउने गरी
घर पुर्‍याउँदै गरेकी युवतीको
लाली चुसिएको निलो ओठ र
रगत कट्कटिएको जाँघबाट
बोक्सी आह्वान गर्दै
पीपलको चौतारोमा
आत्महत्या झुन्डिएको
उसले त्यही रात
आँखाको अगेनुमा
आँसु उमाल्दै हेरेकी हो

अर्कीसँग माया गाँसेपछि
घरकी लक्ष्मीबाट उसलाई
पतिले नै
बोक्सी करार गरेको पनि
त्यही रात नै हो

अचेल ऊ
प्रतेक रात
पिपलको फेदमुनि
बाँसको झ्याङमुनि
खोजिरहन्छे बोक्सी पदचापहरू

पहेंला अक्षता छरिएका
दोबाटो चौबाटोमा
बिरालो हिंड्ने पर्खालमा
आफ्नै साँप्रामा बेलाबेला देखिने
निल डामहरूमा
ऊ भेट्न खोज्छे
बोक्सी सुत्रहरू

बग्रेल्ती बोक्सी किंम्बदन्तीहरू
सँगालेर
कोशौ कोश टाढाबाट
अचेल ऊ
निकाल्न चाहन्छे एउटा लामो
बोक्सी जुलुस।

(स्रोत : नेपालखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.