~दामोदर नेपाल~
त्यो भञ्ज्याङमाथिको क्षितिजबाट
सधैँ घाम झुल्किन्छ
तर मेरो बाबु
अझै झुल्किएन
आशा मरेको छैन
तृष्णालाई बुढ्यौली लागेको छैन
त्यसैले त नियाल्दैछु उसको बाटो
अनि वर्षौम्म नियालीरहनेछु
जबसम्म ऊ आउँदैन
अझै रहर बाँकी छ मनमा
अनि विश्वास जिउँदै छ
ऊ अवश्य आउनेछ
आमा त्यो क्षितिजबाट सधैँ
कालो घाम उदाउँछ
त्यसले कहिल्यै हाम्रो बस्तीमा
उज्यालो छर्दैन, छर्नै खोज्दैन
त्यसैले म जान्छु
अनि टपक्क टिपेर
ल्याउँछु सेतो घामलाई
यस्तै भन्थ्यो मेरो छोरो
उज्यालो खोज्न गएको हो
थाहा छैन भेट्यो भेटेन
मलाई त यत्ति थाहा छ
ऊ अझै आएन
अझै पनि लाग्छ
ऊ आउनेछ
त्यही घाम उदाउने क्षितिजबाट
सेतो घामलाई लिएर
सेतै पहिरनमा सेतै घोडा चढेर
कलियुगको कल्की अवतार बनेर
अनि सारा बस्तीमा उज्यालो छर्नेछ
ऊ अवश्य आउनेछ
November 18, 2008
(स्रोत : माइ संसार डट कम)