~मीन बहादुर विष्ट~
‘सिक्रेट सल्काइदेऊ थापा दाइ
चाँदीको कुल्पीमा’
सल्काइदिनोस्, थापा दाइ
जरुर सल्काइदिनोस्
हजुरको हजुरलाई
अम्मल बसेको छ सिक्रेटको
तसर्थ
सल्काइदिनोस् सिक्रेट
चाँदीको कुल्पीमा ।
चाँदीको कुल्पीमा मात्र किन ? थापा दाइ !
सुनकै कुल्पीमा सल्काइदिनोस्
वा हीरा-मोतीकै कुल्पीमा सल्काइदिनोस्
तलतल लागेको छ
जो हजुरको हजुरलाई
त्यो मेट्न
जरुर सल्काइदिनोस् सिक्रेट चाँदीको कुल्पीम ।
सल्काइदिनोस्
हजुरको हजुरलाई
सिक्रेटको धूवाँले
धित मार्न
सिक्रेट सल्काइदिनोस्
तर
होसियार रहनोस् थापा दाइ !
सिक्रेट सल्काउँदा
कहीं यो गाउँ नसल्कोस्
कहीं यो देश नसल्कोस् ।
कवि मीनबहादुर विष्टले यो कविता पञ्चायतकालीन प्रधानमन्त्री सूर्य बहादुर थापालाई प्रमुख पात्र बनाएर लेखेको थियो रे । र अहिले यही कविता अर्को थापामाथि राम्रो जमेको छ ।