~मदनमणि दीक्षित~
बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच. सुहरवर्दीको समयमा “डाइरेक्ट याक्सन” चलाइएको थियो । त्यो घटनामा ब्रिटिस सरकारले आन्दोलनकारीहरूविरुद्ध आफ्नो सेनामा रहेका गोर्खा सेनालाई उपयोग गरेको थियो ।
त्यस समय म काशीहिन्दू विश्वविद्यालयमा (सन् १९४६ को अप्रिल) स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेर त्यही विश्वविद्यालयमा विद्यावारिधिको निम्ति दर्ता गरेको थिएँ । तिनताक बेलायतको विख्यात समाचारपत्र “म्यान्चेस्टर गार्जियन” ले सन् १९४९ सम्ममा भारतले बेलायतबाट स्वाधिनता पाउने पक्का भयो भन्ने समाचार दिइसकेको थियो तर बेलायती प्र.म. क्लिमेन्ट एट्लिले सन् १९४७ मानै भारतले स्वाधिनता पाउने भन्ने पक्का गरेर झिलीप माउन्ट ब्याटिनलाई ब्रिटिस भाइसराय नियुक्त गरी भारत पठाएका थिए । हिन्दू विश्वविद्यालयका उपकुलपतिमा भारतका अन्तरिम प्रधानमन्त्रीको पदमा जवाहरलाल नेहरू नियुक्त भइसकेका थिए ।
सन् १९४६ को सेप्टेम्बर महिनाको कुनै एक दिन हिन्दू विश्वविद्यालयको स्नातक तहमा पढ्ने छ/सात जना नेपाली छात्र र बनारसकै अन्य कलेजमा पढ्ने दुई जना नेपाली छात्रले बाहिर मूलसडकमा रहेको गोविन्द लज भन्ने छात्रावासमा नेपाली छात्रहरूको सभा बोलाए । त्यसबेला दामोदरशमशेर राणा र तिनका भाइ विश्वविद्यालयको स्नातक कक्षामा पढ्दै थिए ती दाजुभाइ र लीलानटेश्वर बरालसमेत त्यो सभामा उपस्थित थिए । विश्वविद्यालयको सबैभन्दा जेठो छात्रमा म रहेको हुँदा मलाई सभापति बनाइएको थियो ।
नेपाली छात्रहरूको त्यो सभामा कलकत्तामा “डाइरेक्ट याक्सन” हुँदा आन्दोलन दबाउन ब्रिटिस भ्वाइस रायले गोर्खा सेना प्रयोग गरेको बारे सुरुमा सामान्य छलफल भयो तर कुनै निष्कर्ष भएन । आफ्नो गोर्खा फौजलाई अङ्ग्रेजहरूले जसरी उपयोग गरे पनि हामी नेपालीले वास्ता गर्नुपर्ने भन्ने तर्कले नै त्यो दिन मान्यता पायो । त्यो दिन अर्को गम्भीर प्रश्न उठेर लामै छलफल भयो । त्यो छलफलमा स्नातक दोस्रो वर्षका छात्र लीलानटेश्वर बरालले बढी बोलेको जस्तो म सम्झन्छु । दामोदरशमशेरले बरालको विरोध गरेका थिए । नेपाली भाषामा आफूभन्दा मान्यजन, आफूभन्दा तलका सेवकहरू, बीचका मानिसहरू र सरकारमा रहेका ठूला पधादिकारीहरूलाई अबदेखि के भनेर सम्बोधन गर्ने भन्ने प्रश्न नै छलफलको विषय भएको थियो “सरकार माहाराजधिराज”, महाराज सर्कार “गरिब प्रवर प्रभु”, “हजुर”, “तपाइँ”, “तिमी” र “तँ” जस्ता शब्द प्रयोग नेपालीमा हुने गर्थे । सम्बोधन गर्दा नेपाली भाषामा पनि पुण्य र पुण्य मात्र प्रयोग गरे हुन्छ भन्ने तर्कहरू त्यसबेला उठेका थिए । त्यो तर्कलाई दामोदरशमशेर जबरा र अन्य दुई जनाले विरोध गरेका थिए । जङ्गबहादुरको समयदेखि चलिआएको शब्दलाई अहिले हेरफेर गर्न हुँदैन, समाज भाँडिन्छ भन्ने तिनीहरूको तर्क थियो । सिराहाका लीलानटेश्वरले भने सम्बोधन गर्दा तपाइँ, तिमी र तँ शब्द प्रयोग गरे हुन्छ भन्ने विचार प्रकट गरेको म सम्झिन्छु । “हाम्रो गाउँका हरूवा र पशु चराउने अशिक्षितलाई हामी शिक्षितहरूले तँ नभनेर के भन्ने त ?” भन्ने तर्कहरू त्यो सभामा उठेको थियो ।
मैले केही बोलिन किनभने एक त म नेपाली समाजलाई छोडेर वाराणसीको मावलितिर हिँडेको १२ वर्षभन्दा बढी भइसकेको थियो । त्यसबाहेक आफूले नेपाली साहित्य पहिलोपटक ३० महिना पहिले मात्र पढेको थिएँ । मेरो घरमा मेरो पिताले जहाँनिया शासनका उच्च पदाधिकारीहरूलाई सम्बोधन गरी “बिन्तीपत्र” मेरो हातद्वारा चिठीपत्र लेख्ने डुप्लिकेट कपीमा कार्वनपेपर राखेर लेखाउने हुँदा मैले “सरकारमहाराज”, सरकार, माहाप्रभु र प्रभु इत्यादि सम्बोधन लेख्ने गर्दथेँ । त्यतिमात्र होइन बिन्तीपत्रको अन्त्यमा “सदा हुकुमको पालना गर्ने, “तावेदार आज्ञाकारी सेवक” तथा “सेवक” शब्दहरू मबाट लेखाएर हस्तखत गर्ने गरेको मैले देखेको थिएँ ।
त्यो दिन कुनै निर्णयमा त्यो सभा पुगेन र अर्को सभामा यसबारे फेरि विचार गर्ने भनेर सभा टुङ्गयिो । यो सभा भएको झण्डै ८ वर्षपछि संवत् २००९ तिर होला म नेपाल कम्युनिस्ट पार्टीको सदस्यको रूपमा “नेता” भइसकेको थिएँ । संवत् २००९ मा होला “तँ, तिमी, तपाइँ, हजुर” शीर्षकको लामो पुस्तिका मेरो हातमा कसैले दियो । त्यो सानो पर्चा लेख्ने व्यक्ति मकवानपुर जिल्लाका श्यामप्रसाद शर्मा थिए । तिनी भर्खरै नेपाल कम्युनिस्ट पार्टीमा आएका थिए । मैले त्यो पुस्तिका हेरेँ । त्यसबेला त्यही विषयमा सन् १९४६ मा बनारस हिन्दू विश्वविद्यालयमा नेपाली छात्रहरूबीच छलफल चलेको मैले सम्झन सकिन ।
नेपाली साहित्यले सन् १९४६ देखि आजसम्ममा धेरै प्रगति गरिसकेको छ । यद्यपि व्याकरणमा अझै मेल र एकरूपता छैन तर पनि लेखनविधिमा यो भाषाले भारतका प्रादेशिक भाषाहरू जस्तै उच्चता प्राप्त गरिसकेको छ । १९औँ सताब्दीका भारततेन्द्र हरिश्चन्द्रले हिन्दीलाई अवधिबाट छुट्याएर व्यवस्थित भाषा गराई उच्च स्थानमा पुर्याए । प्रेमचन्द्रले उत्तर प्रदेशमा त्यसै गरे । भारतमा हिन्दीभन्दा समृद्ध भाषाको रूपमा बङ्गाली, मराठी, गुजराती र तामिलभाषा छन् । त्यसबारेमा उर्दू भाषा पनि सिपाहीको भाषा “लस्करको भाषा” रहँदा पनि हिन्दीभन्दा माथिल्ला स्तरमा थियो । नेपाली भाषाले आज श्रेष्ठता र उच्चता प्राप्त गरिसकेको छ तथापि यो भाषामा सम्बोधन गर्ने शब्दहरू कम्तीमा पनि चार तह रहेका छन् । सम्बोधनको क्षेत्रमा जहाँनीया शासन व्यवस्थाभन्दा पहिलेको, भनौँ भीमसेन थापाको समयको सम्बोधन शब्दहरूमा बढी सम्मान नेपाली जनताले देख्ने गरेका थिए भन्ने कुरा समकालीन लेखहरू पढ्दा प्रस्ट हुन्छ । सम्बोधनका शब्दहरूमा “तँ” देखि लिएर सरकार महाराजसम्म रहनुबाट देशको सामाजिक बनोटमा ठूलो अन्तर देखिन्छ ।
वि.सं. २०४७ पछि सम्बोधन तहका शब्दहरू घट्न थालेका छन् । गत केही वर्षदेखि महाराज सरकारको त अन्त्य नै भयो नेपाली परिवारभित्र पनि तिमी र तपाइँ शब्दहरू बढी प्रयोग हुन थालेको देखिएको छ । पुरुष प्रधान नेपाली समाज समेतमा सम्बोधनको कुरामा समानता बढ्दै आएको देखा पर्दछ ।
(स्रोत : मधुपर्क २०६६ असोज)