~प्रतिरोध कार्की~
जहाँबाट बाहिरिएकी थियौ तिमी
त्यहीँ सम्झना गरिरहेछु म
बारीको पाटोमा रोपेको अन्नबाली
खेतको डिलमा रोपिएको भटमास
त्यतिबेलै ‘बाई’ गरेँ अँध्यारोलाई
र, सम्झिरहेँ तिमी हिँडेको पाइला
तिमी बाहिरिएपछि
उज्यालोको अनुहार हेर्दा
छोपिरह्यो अँध्याराको लप्काले।
म त्यहीँबाट
सम्बोधन गरिरहेको छु तिमीलाई
प्रिय, बदलियो मौसम
घरदैलोमा आउनै पाएन घाम
अपहरित भयो अन्त कतैबाट।
गल्ली-गल्लीमा खोज्यौँ
मसाल बालेर
सायद मसालको रापले हो
घाम आउनै सकेन फर्किएर
लाग्छ, तिमीबिनाको घाम
र, तिमीबिनाको देश
उस्तैउस्तै भएका छन्।
कुरुक्षेत्रमा लाग्ने अँध्यारोले
किल्ला जमाएजस्तो
पल्ला भारी हाम्रो भन्दा उनीहरूकै
इतिहास हेरेर साह्रै भयभीत छु
पीडा देखेर आक्रोशित छु
मृत्युमा तिमी हुने छैनौ
र हुने छैन म पनि
दिउँसै उज्यालो खोजेर हिँडेको
म यात्री
अँध्यारोलाई अँध्यारो कसरी भनौँ?
जुटाऊँ कसरी प्रमाण अँध्यारोको
यी मोतीयाविन्दु ग्रस्तहरूलाई?
लाग्छ, बरु जाऊँ अदालत
र जुटाऊँ प्रमाण
दिउँसै अँध्यारो भएको लिखत ल्याएर
पेस गरूँ अदालतमा।