~डा. रुपक श्रेष्ठ ~
एक
ओ मेरी दिलमाया, मेरो दिलको धड्कन सुनिदेऊ न प्लिज !
ओ मेरी मनमाया, मेरो मनको गुञ्जन सुनिदेऊ न प्लिज !!
तिमी यो मिठो रातो गुलाबछेउ म तिखो काँडा बन्न तयार छु,
ओ ज्यानमाया, तिमी मेरो भ्यालेन्टाईन बनिदेऊ न प्लिज !!!
दुई
तिमीले भन्यौ जसरी पनि आउनु यही महिना प्रेमोत्सव छ
सम्झेछौ कि बिर्सिसक्यौ त्यही दिन मेरो जन्मोत्सव छ
थाहा छैन म कहाँ छु तर तिमी छौ मेरो मनको मझेरीमा
त्यसैले प्रियतम हरेक दिन मेरो लागि प्रेम महोत्सव छ ।
तीन
तिमीलाई देखेदेखि सत्ते भन्छु मेरो होस हराउन थालेको छ
केही पाएजस्तो केही हराएजस्तो मन डराउन थालेको छ
दिनमा साथी घरमा राति एउटै कुरा भन्छन् मलाई अचेल
यो बिपनामा टोलाउन अनि सपनामा बर्बराउन थालेको छ ।
चार
मेरो खुनको रंग तिम्रो ओठको रंग जतिकै कडा पाउनेछौ
तिम्रो शंका र अमावश्याको भ्रम उत्तिकै टाढा पाउनेछौ
पत्यार नलागे छुरी रोपी हेर न आजै मेरो छातीमा तिमी
तिमीले पनि मेरो प्रेम तिम्रो प्रेम जत्तिकै गाढा पाउनेछौ ।
पाँच
प्रेमको हाँसो यो घामको एक झुल्काले जीवन झलमल हुन्छ
प्रेमको आँसु यो पवित्र मनको जलले जीवन गंगाजल हुन्छ
हेर न पवित्र हाँसो र आँसुको मिलन जिन्दगीको क्षितिजमा
भन्छ स्वच्छ, पवित्र, सुन्दर ईन्द्रेणीले जीवन एकपल हुन्छ ।
छ
समयले नै मान्छेलाई सुनझैँ खारेर पनि जाँच्दोरहेछ
समाज, सम्पत्ति, प्रमाणपत्र सब फिक्का लाग्दोरहेछ
तिमीलाई भेटेपछि मात्र मैले यो बुझेँ मेरी प्रियतम
साँचो अर्थमा मान्छे त मायामा मात्र बाँच्दो रहेछ ।
सात
मेरो विश्वास ईश्वरीय अनुपम तत्व प्रेम नै हो
मेरो विश्वास संझना अनि सपना प्रेम नै हो
भन्नेले अति प्रेम पछि घृणा आउँछ भन्छन्
मेरो विश्वास घृणा घृणा नै हो प्रेम प्रेम नै हो ।
आठ
फूल जस्तो होईन माया झरेर जाने कुनै दिन
दियो जस्तो होईन माया निभेर जाने कुनै दिन
सदाबहार बरु गाढा अझ गाढा हुन्छ माया
शरीर जस्तो होईन माया मरेर जाने कुनै दिन ।
नौ
यो मन हरपल यही गुलावमा अल्झिरहोस्
यो मुटु पलपल यही सुवासमा बल्झिरहोस्
तिम्रो रुप, रंग र सुवास मेरो यात्रा र मञ्जिल
हरेक बिहान शीतका थोपाहरुमा छचल्किरहोस् ।
दश
प्रेमपूर्ण मान्छे सधैँ रसिलो हुन्छ
प्रेमपूर्ण मान्छे सधँै हँसिलो हुन्छ
पात्रता पवित्रता र करुणाले भरपुर
प्रेमपूर्ण मान्छे सधँै ओजश्विलो हुन्छ ।
एघार
पागल प्रेमी भन्छन् प्रेम निशर्त त्याग हो
भावुक प्रेमी भन्छन प्रेम सिर्फ प्रतित्याग हो
धड्कन नै नसुन्ने समर्पणनै नबुझ्ने ब्याधा
छद्म प्रेमी भन्छन प्रेम सिर्फ मनिब्याग हो ।
बाह्र
प्रेम प्राप्ति हो भन्छन् स्वार्थी प्रेमीहरु
प्रेम त्याग हो भन्छन निस्वार्थी प्रेमीहरु
त्याग र प्राप्ति भन्दा माथि छ प्रेम
प्रेम प्रेम नै हो भन्छन् प्रेमार्थी प्रेमीहरु ।
तेह्र
मायामा माया लिनु भन्दा दिनु हुँदोरहेछ
मायामा माया देखाउनु भन्दा साँच्नु हुँदोरहेछ
मायामा माया खानु न पिउनु मात्र होईन हजुर
मायामा माया कहिले जिउनु न मर्नु हुँदोरहेछ ।
चौध
प्रेम कहिले सास्ती नै हो जस्तो लाग्छ
प्रेम कहिले समाप्ति नै हो जस्तो लाग्छ
दिमागलाई बिर्सेर दिलसँगै बहकिँदा
प्रेम कहिले समस्ती नै हो जस्तो लाग्छ ।
पन्ध्र
प्रेम निर्मल हुँदा पूर्ण भक्ति हुन्छ त्यहाँ
प्रेम निस्छल हुँदा पूर्ण शक्ति हुन्छ त्यहाँ
प्रेम एक रुप अनेक मायावी लाग्छ कहिले
प्रेम प्रवल हुँदा पूर्ण आशक्ति हुन्छ त्यहाँ ।
सोह्र
गुलाबको पत्रपत्रमा प्रेमपत्र लेख्दैछु तिमीलाई
मनका रहरहरु सारा पवित्र पोख्दैछु तिमीलाई
आज अलि बढी नै भावुक भईरहेछु म प्रिय
रातो गाढा रातो गुलाबभित्र देख्दैछु तिमीलाई ।
(स्रोत : सत्यतथ्य मासिकको वर्ष २, अंक ४ जनवरी २०१४)