साहित्यमा परिचित नाम हो भुवनहरी सिग्देल । वि.सं. २००७ साल जेठ ५ गते काठमाडौंको थानकोटदेखि उत्तरतर्फ दहचोकको डाँडामा जन्मिएका कवि साहित्यकार सिग्देल पिता नन्दलाल र माता मीनकुमारीका जेठो सन्तान हुन् । विषेशतः कविताका माध्यमबाट साहित्यजगतमा परिचित सिग्देलले कथा, निवन्ध, खण्डकाव्य, महाकाव्यलगायत अन्य विधामा पनि कलम चलाएका छन् । उनै कवि साहित्यकारसँग दीपश्रीका लागि शशी कुँवरले गरेको कुराकानीः
तपाईको बाल्यकाल कसरी बित्यो ?
मेरो चेतना बाख्राका स–साना पाठा र बिरालाका ङ्याउरासँग खेल्दै खुलेको हो । त्यो समयको स्मरण गर्दा म आफैँलाई आज विश्वास हुन्न तपाईले कति अनुमान लगाउन सक्नुहुन्छ म जान्दिन । नुहाउने साबुन थिएन । जुत्ता लगाउने, कट्टु लगाउने चलन थिएन । कैँचीले कपाल काट्ने चलन थिएन । चिया जन्मेकै थिएन, बिजुली बत्तिको कल्पना थिएन । टुकी बाल्ने मट्टितेल किन्न दिनभरी हिँडेर काठमाडौँ आउनु प¥र्यो, त्यहि पनि प्रशस्त पाइदैन थियो । टुकीको विकल्प दियालो बाल्नु प¥र्यो, बिरामी परेमा घरेलु ओखती मात्रै हो । आजको जस्तो डाक्टर औषधिको सपना सम्म थिएन । लेख्ने कलम कापी र मसी थिएन, पढ्ने पुस्तक थिएन ।
यो परिवेशमा जन्मेको बच्चाको वालापन कस्तो हुन्थ्यो होला एकछिन कल्पना गर्नुहोस् । विशुद्ध प्राकृतिक जीव तर फरक कति थियो भने मानिस घर कटेरामा बस्थे, ओछ्यानमा सुत्थे, थाल कचौरामा खान्थे । अरु जन्तु भने बनमा या खुला आकासमुनी बस्थे । मैले कखरा धुलौटोमा रातो माटोको धुलो छरेर छेस्काले लेख्दै सिकेको हुँ । श्रुतीमा प्रचलित रुद्री, चण्डी र वेदका अध्याय पिताजीका मुखबाट सुन्दै कण्ठ पारेको हुँ । दिनभरी त बाख्राको गोठालो मात्र हो ।
म तेह्र बर्षको हुँदा बल्ल थानकोटमा प्राइमरी स्कुल खुल्यो । म घरबाट भागेर तीन कक्षामा भर्ना हुन गएँ । त्यसको तीन बर्ष नपुग्दै मेरो जीवनका महत्वपूर्ण घुम्ती आए, २०२२ सालमा पिताजीको देहावसान र २०२३ सालमा मेरो विवाह भयो ।
्
आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
विना व्यस्त, व्यस्त देखिने काम हो साहित्य भनूँ भाषा सेवा । यसो हेर्दा मलाई फुर्सदै फुर्सद छ तर फुर्सद कहिल्यै छैन । यही फुर्सद र बेफुर्सदका बिचमा म एउटा उपन्यास लेखिरहेको छु । यसको विषयवस्तु जिमीदारीसँग सम्बन्धित छ ।
महाभुकम्पले कस्तो असर पा¥र्यो, खासगरी साहित्यिक र व्यक्तिगत जीवनमा ?
२०७२ वैशाख १२ गते गएको महाभूकम्पले झण्डै एक महिनासम्म मलाई विचार शून्य र संवेदनात्मक भावनाका शब्दहरू समेत शुन्य प्राय ः स्थितिमा पु¥यायो । म खास त पद्यमा आख्यान लेख्ने मानिस हुँ । दिनभर एकै थलोमा बसेर ५०÷६० पद्य मज्जासँग म लेख्थेँ । एक जना पुराना मित्र एवं वरिष्ठ सम्पादकले उनको पत्रिकाका लागि ५÷६ श्लोकको कविता भुकम्प बारे मागे । त्यो लेख्न मलाई दुई दिन लाग्यो । व्यक्तिगत जीवनमा त सबैको उस्तै होला — कहाँ कुन बेला ? के हुने हो त्यसको अज्ञान भयले सताउने नै भयो । १२ गतेको भुकम्पले हाल म बसेको घरको ठाउँ ठाउँमा प्लास्टर चर्कायो तर गाह्रोलाई खासै असर परेन । १३ गतेदेखि भुकम्पबाट म त्रसित भइन । पहिलो दिनको भूकम्प विनाशकारी पक्कै हो । त्यसपछि त उसका छोरा , नाति , पराकम्प न हुन् भन्ने आत्मविश्वास म सँग जागृत भयो ।
तपाईले हालसम्म कुन कुन विधामा कलम चलाउनु भएको छ ?
मैले सुरूमा खण्डकाव्य, महाकाव्य लेखेँ । कथा पनि लेखेँ । यात्रा निबन्ध र संस्मरणहरू लेखेँ र अझै पनि लेख्दै छु ।
साहित्यबाहेक अरू के काम गर्नु हुन्छ ?
मेरो जागिरे जीवन हो । लगभग ६० वर्षको उमेरसम्म जागिरै खाए । अवकाशको जिन्दगी सुरू भए तापनि मानिसले म असक्त भएँ, बुढो भएँ, म काम गर्न सक्दिन भन्ने भावना जब मनमा लिन्छन् त्यसै दिनदेखि उसको बुढ्याइँ सुरू हुन्छ भन्ने विचारको मानिस हुँ म । त्यसैले आफूलाई व्यस्त राख्नका लागि सानोतिनो खेतीपातीका काम पनि गर्छु । आफ्नो जीवनभर आफैँले उब्जाएको अन्न खानुपर्छ भन्ने सिद्धान्त मेरो हो । आजका दिनसम्म बजारबाट किनेर ल्याएको चामलको भात मैले घरमा खाएको छैन ।
साहित्यबाट समाजले के पाँउन सक्छ ?
के पाँउन सक्छ ? को उत्तर दिनु पूर्व साहित्य के हो ? भन्नु जरूरी छ । एउटै उत्तर —साहित्य समाजको ऐना हो । जब ऐना हो भनिन्छ भने यसमा समाजले अनुहार हेर्न पाउँछ । धेरै जसो मानिसहरू भन्ने गर्छन साहित्य निरर्थक हो । यो भनाइ सत्य हो ? विचार गरौँ त ! हामीले पढ्ने पुस्तक , पढ्ने समाचार , सुन्ने रेडियो र टेलिभिजन सबै साहित्य हुन् । अब मैले के पाउँछको उत्तर दिनु पर्दैन होला ।
समाजप्रति साहित्यकारको जिम्मेवारी के होला ?
समाजलाई हित हुने र अग्रगामी विचार दिनु साहित्यकारको भूमिका अझ भनूँ जिम्मेवारी हो ।
समग्रमा साहित्यको वर्तमान अवस्थाका वारेमा प्रकाश पारिदिनोस् न ?
साहित्य राज्यको सम्पति हो । त्यसमा नेपाली भाषाको कुरा मात्र होइन नेपाली समाजमा प्रचलित कुनै पनि भाषामा लेखिएका र लेखिने साहित्यको विकास र सम्बर्धन अनि जगेर्ना र मुल्याङ्कन समेत गर्ने दायित्व राज्यको हो । सबै लेखकमा उदासीनता छ, अभाव र कुण्ठा छ । अहिले साहित्यका क्षेत्रमा जे जति काम भएका छन् निजी र व्यक्तिगत स्तरबाट भएका छन् । त्यहाँ राज्यको उपस्थिति नै छैन् । मैले उर्दुमा एउटा शायरी सुनेको याद छ—
हाजिर मे हुजुर नहीं,
गैर मे तलासी नहिं ।
यो बिडम्वना हो । अहिले हाम्रो साहित्यका सन्दर्भमा यो शायरी ठयाक्कै लागू हुन्छ ।
तपाईको विचारमा कस्तो साहित्यले पाठकको मन छुन सक्छ ?
यहाँ कस्तो साहित्य ? भन्नु भन्दा पहिले कस्ता पाठक ? हुन् भनी ख्याल गर्नु पर्ने हुन्छ । पाठकका किसिम छन् , स्तर छन् । पाठकका किसिम र स्तर अनुसारका साहित्यले तिनका मन छुन सक्छ । अझै प्रष्ट भन्नु पर्दा बीस वर्ष भित्रका पाठकलाई प्रौढ साहित्यले कसरी मन छुने ? प्रौढ साहित्य दस वर्ष भित्रका बालकलाई के काम ? छाडा साहित्यको बजार बढी नै देख्नु होला, त्यही मन छुने साहित्य हो भन्ने मान्नु होला । त्यस्ता साहित्य खहरेका भेल हुन्, वर्षापछि बगरमा परिणत हुन्छन् ।
नव आगन्तुक साहित्यकारले पाठकका जिज्ञासा कुन हदसम्म चिर्न सफल भएको ठान्नु हुन्छ ?
बितेको दशकदेखि मुलुकमा साहित्यकारहरूको सङ्ख्या हवात्तै बढेको छ । त्यस्तै विदेशमा बस्ने नेपालीबाट पनि प्रशस्तै किताब लेखिएका देखिन्छन् । त्यसले लेख्योे म किन नलेख्ने भन्ने होडबाजीले पनि पुस्तक प्रकाशित भइरहेका छन् । अनुभव सिद्धिविना, गहन अध्ययन बिना, निर्दिष्ट गन्तव्यको किटानीबिना र शृङ्गारिक तुकबन्दी गाँसेर साहित्य लेख्नेको जमात पनि ठूलै छ । त्यस्तो साहित्य जसले युगलाई खानसक्छ ती कालजयी साहित्य हुन् भनेर चिनिन्छन् । यो समयमा त्यस्ता साहित्य कति प्रतिशतले कति लेखे ? यो अनुसन्धानको विषय बन्न जान्छ । नव प्रवेशी केही युवा साहित्यकारमा चिल्ला पात नदेखिएका होइन् । हामी आशावादी हुनु पर्छ । यहाँ पाठकको मन चिर्ने ? भन्ने भेग प्रश्न छ । फेरि उही माथिकै सन्दर्भमा पुगिन्छ कस्ता पाठक ? भनूँ न , कुनै निर्माताले एउटा सिनेमा बनाएर प्रदर्शन ग¥यो । हलमा मारामार भीड पनि देखियो । निर्माताले धन पनि कमायो तर सम्पूर्ण मानिसको मन त्यो सिनेमाले छोयो भन्ने कुरा त होइन । त्यस्तै हो साहित्य र पाठकका बीचको कुरो पनि ।
अन्त्यमा तपाईको कुनै सन्देश छ कि ?
परिश्रमको विकल्प विश्वमा जन्मेको छैन । परिश्रमको किनबेच परिश्रमबाटै हुन्छ । पैसा परिश्रमबाटै हुन्छ । पैसा परिश्रमको पर्यायवाची शब्द होइन । बजारमा पहेँला यूँ भएका लुगा पाइन्छन् तर सन्त हुन साधना नै चाहिन्छ । क्षणिक आकर्षण पहेँला लुगाले गर्ला, गरिरहेको पनि देखिन्छ । प्रश्न त्यहीँ छ —के त्यो आकर्षण स्थायी हो या क्षणिक । यही कुरा साहित्यमा मात्र होइन, सबैले ठाउँमा लागू हुन्छ । सबैले सोच्नु पर्ला — पहेँला लुगा लाउने कि साधना गर्ने ।
(मिति २०७२ असार १५ गते दीपश्री खबर पत्रिकामा प्रकाशित)