~नवीन प्यासी~
यौवनको हिरासतबाट
मध्यराति
हावाले सुस्तरी अङ्गालो हालेपछि
लामो-लामो स्वास तानिरहेकी सल्लाछेउमा
बास बसेकी चखेवीलाई
जीवन कस्तो लाग्दो हो!
समयले दगुरिरहन नछाडेपछि
वैशको सगरमाथा चढेकी फूलको छातीमाथि
हिमपहिरो ल्याउन खोज्ने भमराहरुलाई
जवानीको अत्तर कस्तो लाग्दो हो!
धरातल बिर्सेर बेसुर हामफाल्ने झरना
कतै चट्टानमा नमज्जाले ठोक्किएपछि
घिस्रँदै हिँड्दा…
आफैलाई आफू कस्तो लाग्दो हो!
यस्तै प्रश्नहरुको जङ्गलमा
समयको बञ्चरोले उमेरलाई चिराचिरा बनाएपछि
समातिएको हुँ यौवनको जासुसबाट
र थुनिएको हुँ केही समयको लागि…
आज यहि जेलबाट-
पत्र लेख्दैछु सुर्यलाई
उदाउन र अस्ताउन छाडिदिए हुन्थ्यो,
पत्र लेख्दैछु पृथ्वीलाई
घुमिरहने नृत्य बन्द गरिदिए हुन्थ्यो,
र पत्र लेख्दैछु घडीलाई
सेकेन्ड, मिनेट र घण्टाका गाडी नहाँकिदिए हुन्थ्यो ।
लाग्छ, यही जेलभित्र संम्यमता गुमाइरहुँ।
फेरि सोच्छु,-
यसरी नदीलाई बेसुरले थुनिरहँदा
चिसो हिमाल पगालेर उर्लिरहेका
स-साना खोलाहरुले के भन्लान् ?
आकाशमा हड्ताल गरेर
पानी खसाल्नलाई चम्किरहेका
बादलहरुले के भन्लान् ?
यसरी जबरजस्ती गरिरहँदा
धातुहरु गोलबद्द भएर
परिवर्तनको धक्का दिइरहेका
लाभाहरुले के भन्लान् ?
अनि च्यातिदिन्छु ती पत्रहरु
र फालिदिन्छु,
अस्तित्व बेचेर किनेको डस्टबिनमा
र निस्कन्छु खुसीसाथ यौवनको हिरासतबाट।