कविता : जात

~लेखनाथ छेत्री~lekhnath-chhetri

सोधिदिनु
पुच्छर हराएर
भर्खरै मान्छेजस्ता भएका
मेरा सप्पैभन्दा पुराना पुर्वजलाई-
कि कसले घोल्यो उसको रगतमा
यो श्राप?
जसले मसम्म आएर
-मलाई बाटोतल्तिर धकेल्छ,
-पानीमूनि श्वास फेर्न अह्राउँछ ।

सोधिदिनु
हज्जार बर्षदेखि निदाइरहेको
तिम्रो इश्वरलाई
कि जुन दिन त्यसले मलाई
त्यसको घरको
सँघार नटेक्ने आदेश दियो-
त्यसको आँखाले
-मेरो छालाको रंग कस्तो देख्यो?
-कस्तो देख्यो मेरो रगतको रंग?

भनिदिनु
तल्लोघरे बाहुनजेठालाई
कि उसको छोरीले
मसँग साटेको अभागी पिरथीको
कुनै जात थिएन ।

भनिदिनु
पँधेरानिर मेरो बाटो छेक्ने
छेत्रीनी माइलीलाई
कि हामी दुवैको तिर्खा मेट्ने
थोपा थोपा पानीको
-न त कुनै जात हुन्छ
-न कुनै रंग ।

सोधिदिनु
जन्मने बित्तिकै मेरो निधारमा
जात रोपिराख्ने बाउलाई
-कि किन मेरा छोराछोरीलाई
म जातविहिन घोषित गर्न सकिरहेको छुइन?

नसोध्नु
माथि आकाशमा उडिरहेको
त्यो चरालाई
कि के हो उसको जात?
कहाँसम्म हो उसको सिमाना?
नसोध्नु उसलाई
कि के हुन्छ उ मरेपछि
-माटो?
-की खरानी?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.