~अरुणा बैद्य~
घाम तापेर
भर्खरै भित्र पसिन् माछापुच्छ्रे
आजभोलिको कडा घामले
सौन्दर्य बिगार्छ भनेर
कपाल दुखाउंछ भनेर
उनी हिमालसुन्दरी
धेरैवेर वाहिर वस्नु पनि हुँदैन ।
तर मेरो पर्यटक मित्र टाढाटाढाको देशवाट
एकाविहानै तिमी उकालै उकालो आएको जानेर,
उनले सुन्दरीहरुले जस्तै दर्शन दिइन्,
घाममा उडेका किरणहरुका दामी पोशाक पहिरेर
झुलुक्क झुलुक्क ।
उनको गरिमायम सौन्दर्यमा तिमी विमुग्ध भयौ
ताली पिट्यौ सम्मानमा या खुशीमा या बेहोशीमा ?
तिमी रमायौ, विभोर तिम्रो आंखाभरि आंसु मुस्कायो
र उनी पनि मुस्कुराइन्,
शालीन् मुस्कान, प्राकृतिक मुस्कान
अनि हेर्दै हर्देमा अदेख भइन्
तिमी अवाक् भयौ ।
अव उनी ननुहाई बाहिर नआउने रे
कि त घाम ओझेल नभई देखा नपर्ने रे
कि अर्को कलिलो घाम ताप्न मात्र आउने रे
बादलको कोठाभित्र सुरक्षित सुस्ताइरहेकी
उनी यतिवेला
साँझको सौम्य घामको बाटो हेर्दै छिन्,
बर्षातको प्रतीक्षामा छिन् नुहाएर सिनित पर्नलाई
मेरो पर्यटक मित्र ।
हिमालसुन्दरी माछापुच्छ्रेले तिमीलाइृ श्रद्धा गर्छिन्
सम्मान गर्छिन्
र अतिथि देवो भवः उनी पनि जान्दछिन्,
उनी फेरि तिमीलाई भेट्न चाहन्छिन्
तिमीसितै रमाउन चाहन्छिन्
फेरिफेरि आऊ भन्छिन् ।