कथा : सुन्दर परियारको नयाँ थर

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन ।

अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही दिनमै ०७२ साल वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो । त्यसको विनाशलीला देखेर उसको मन भताभुंग भयो । भूकम्पपीडितको उद्धारमा उसले ज्यूज्यान लगाएर सघायो ।

युनिभर्सिटी अफ इडाहोको आडैमा रहेको ग्रोसरीबाट श्रीमती बारम्बार ताकेता गरिरहन्थी । उसले एक महिना, अर्को महिना गर्दागर्दै यत्रो समय बितायो । एकपल्ट त उसले श्रीमतीलाई पनि पसल बेचबिखन गरेर नेपाल फर्कन भनेको थियो । श्रीमतीले सातो लिने गरी हकारी ।

श्रीमती थिई क्षत्रानी कुलकी । बेलाबेला जातको घमण्ड उसको बोलीमा प्रदर्शन हुन्थ्यो । हिजैमात्र त्यसले स्काइपमा उसलाई बेसरी हकारेकी थिई ।

‘अँ, तिमी आउने कि नआउने भन त ?’

‘आउने नि, किन नआउनु ?’

‘अनि किन नमुन्ट्या त ?’

‘गाउँमा यहाँ बेहाल छ । मान्छेलाई बस्ने बास छैन, खानलाई गाँस छैन । यस्तो बेला हाम्ले नसघाए कसले सघाउँछ भन त ? बरु तिमी पनि केही समय यतै आऊ । दुवै जना मिलेर घरबार नभएकालाई सानोतिनो कटेरो बनाइदिउँला ।’

‘अँ..अरू केही भन्नु छ ?’

‘तिमी बाँस समाइदेऊ, म खाल्डो खनुँला । तिमी जस्तापाता समाइदेउ, म किलाकाँटा ठोकौँला । अनि लास्टाँ सँगै फर्कौँला । पसल त्यही इलामे बाहुनलाई जिम्मा लाएर आए हुन्छ । शंका गर्नु पर्दैन, त्यो मान्छे भरपर्दो छ, क्या ! बेइमानी गर्दैन ।’

‘हेर हेर, दमाई, कामीका बुद्धि घुच्चुकाँ हुन्छ भन्थे, हो रहेछ । यहाँ यत्रो बिजनेस कामदारलाई जिम्मा लाएर आऊ भन्छ । त्यहाँ तिमी नै मुन्टिराख । तिमी नै किलाकाँटा ठोकिराख । ककसलाई सघाउनुपर्ने हो, ककसका घर बनाउनुपर्ने हो, ककसलाई मासु काटेर दिनुपर्ने हो दिइराख । मलाई त्याँ आउनु छैन, बुझ्यौ ?’

‘बुझेँ । यति राम्ररी बुझाएपछि ढुंगामुडाले त बुझ्छन् । मैले किन नबुझ्नु ?’

‘तिम्रो बुद्धि त कुकुरबिरालाको जति पनि छैन, के फुर्ती गर्छौ !’

‘ल बाबा मानेँ । तर, तिमी ह्याँ आउन किन नमानेकी भन त ? दमिनी हुनुपर्ला भनेर हो ? हा…हा..हा !’

‘केको ह्या…ह्या..ह्या ! दमाईसँग पोइला गकी केटीलाई क्षत्रानी मैसाप भनेर वेलकम गर्दैनन् के रे, अनि किन आउनु ?’

‘त्यहाँ चाहिँ तिमी उपाध्याय बाउनी हुन्छ्यौ र ?’

‘…………….।’

‘साँच्चै भनेको, केही समय तिमी पनि आऊ न त !’

‘इस….आउँला ।’

श्रीमती रिसाएर स्काइपमा अफलाइन भइदिई । त्यसको कर्कश स्वर उसको कानमा यसरी ठोकियो मानौँ कसैले दर्फराउँदो हातले लोप्पा खुवाएको थियो । तैपनि ऊ श्रीमतीको जिद्दी स्वभाव सम्झेर मुसुक्क हाँस्यो ।

इडाहो युनिभर्सिटी पढ्दा एउटा नेपाली सांस्कृतिक कार्यक्रममा यो गोरखाली क्षत्राणीसँग उसको परिचय भएको थियो । पछि ऊ बसेकै घरको तल्लो फ्लाटमा बस्न आइपुगी । आईटी पढ्न भनेर अमेरिका छिरेकी त्यो केटी पढाइ रोकेर एउटा रेस्टुराँमा काम गरिरहेकी थिई । बिस्तारै ऊ सुन्दर परियारसँग आकर्षित भई र जातपातको फन्डा छाडेर उसैसँग बिहे गर्न तयार भई । बिहेपछि नै उसले ग्रोसरी सुरु गरेको थियो । चाँडै नै त्यसबाट राम्रो कमाइ हुन थाल्यो । त्यसलाई उसले क्षत्राणी सुन्दरीको ‘लच्छिन’ मानेको थियो ।

तर, यता नेपालमा गएको भूकम्पको विनाशलीलाले उसलाई सताउन छाडेको थिएन । उसको गाउँभरिमा १७ जना भुइँचालोले थिचिएर मरेका थिए । साराजसोको घर ढलेर सडकमा सुत्न पुगेको थियो । देशका १४ जिल्लामा त्यसले महाविपत्तिको बाढी ल्यायो । पछि वैशाख २९ सम्म त्यसले ३१ जिल्लामा आफ्नो नंग्रा फिँजायो । उद्धार गर्दागर्दै भत्केको भित्ता र दलिनले चेपिएकी एउटी वृद्धाले उसकै आँखाअगाडि प्राण छाडेकी थिई । पारि ज्यापु बस्तीमा खेतबाट आलु खनेर घर पु¥याउन गएका एकै परिवारका आठ जनाको चोला उठेको थियो । यस्तै बेला फोनबाट बहिनीले सोधेकी थिई, ‘दाइ, हाम्रो त घर भत्कियो । तर, कसैलाई केही भएन । त्यहाँ सबैलाई ठीक छ ?’ किलकिले थिचिएझैँ उसकोे वक बन्द भएको थियो । उसको आफ्नै घर पनि भत्केको थियो । उसलाई आँखा थामिनसक्नु भयो । जिन्दगीमा पहिलोपल्ट ऊ गाउँलेको मृत्युमा आफन्तकै मृत्युमा झैँ रन्थनिएको थियो ।

गाउँ छाडेर राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर ऊ सिन्धुपाल्चोक र दोलखा पुग्यो । घाइतेको घाउमा आफैँले मलम लगायो । राहत सामग्री अपर्याप्त भएपछि त्यो मात्र सब कुरा होइन भन्ने महसुस गरेर आफैँ भत्केका घरहरू पन्छाउन जुट्यो । गाउँ फर्केपछि देख्यो, राहत वितरणमा राजनीतिक दलहरूले धेरैलाई अन्याय गरेका थिए । जोजो अन्यायमा परेका थिए, तिनलाई आफ्नै खर्चमा जस्ताको टहरा बनाइदिन उसले कम्मर कस्यो । पैसा नपुग्नासाथ ऊ श्रीमतीलाई गुहाथ्र्यो । पहिला श्रीमतीले पनि नाइनास्ती गरिन । पछि हकार्न थाली । तैपनि उसले आफ्नै खर्चमा र एकल पहलमा गाउँका विपन्न ४० परिवारलाई टहरा बनाइदियो । अन्न पुरिएर खान नपाएकालाई चामल र नुनतेल किनिदियो ।

उसको यस्तो उदारता देखेर विभिन्न संघसंस्था ऊसँग हातेमालो गर्न आइपुगे । भत्केका सार्वजनिक विद्यालय बनाउनदेखि गरिब विद्यार्थीको छात्रवृत्ति बेहोर्नसमेत तिनले उसको अभियानमा सघाए । अमेरिका बस्ने साथीहरूले पनि पैसा पठाउन थाले । ती सबैको एकएक हिसाब राखेर उसले काम ग¥यो ।

पहिले राम्रो पढाइ भए पनि दमाई भएकाले सधैँ हेला, उपेक्षा र तिरस्कार भोगिरहेको सुन्दर अमेरिका जाने भएपछि चर्चाको पात्र बनेको थियो । भूकम्पपीडितको उद्धारमा समर्पित भएपछि अहिले गाउँभरिको हिरो भयो ।

कथा यतिकैमा टुंगिएको भए त गजब हुन्थ्यो । तर, उसको जीवनमा एउटा दुर्घटना आउन बाँकी नै थियो । त्यसको अनुमान कसैले गर्न सकेको थिएन । हुँदो हो त यस्तो दुर्घटना कदापि हुने थिएन । गाविसले अभिनन्दन कार्यक्रम नराखेको भए यस्तो हुने थिएन । अभिनन्दन गरे पनि बेलुकीको पार्टीमा ऊ संलग्न नभएको भए यस्तो हुने थिएन । पार्टीमा संलग्न भए पनि अन्य दमाई, कामीले झैँ चुपचाप सहिदिएको भए सायद यस्तो हुन्थेन ।

सुन्दर परियार अमेरिका फर्कने दिन नजिकियो । गाउँका विभिन्न क्लबले उसलाई अभिनन्दन गरे । आनाकानी गर्दागर्दै उसको जस्ताको टहरामा अनिनन्दनपत्र राख्न ठाउँ नपुग्लाजस्तो भयो । पछि गाविसले समेत गाउँबाट राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रबाट योगदान गर्ने अन्य व्यक्तिसँगै उसको अभिनन्दन गर्ने भयो ।

अभिनन्दित हुने अन्य व्यक्ति थिए, शुभयात्रा राष्ट्रिय दैनिकका स्थानीय संवाददाता सुकमान किलम्बु, अनुष्टुप छन्दका कवि हरिओम त्रिपाठी, गुन्द्रुकको पौष्टिक महत्वमाथि पीचडी सीताराम कार्की, गाउँको पहिलो एमबीबीएस डाक्टर सोमप्रसाद नेपाल, दोहोरी गायिका तथा मोडल जुनु मगर, नाटक निर्देशक सुमेन्द्र घिमिरे, व्यापारी कमलप्रसाद सापकोटा र ब्लडप्रेसरको औषधि खाएर थान्को लागेको बुढो पत्रकार सुईबहादुर थापा ।

अभिनन्दनका दिन गाविसको आह्वानमा हरेक वडाबाट विभिन्न सांस्कृतिक झाँकीसहित विशाल ¥याली निस्कियो । अभिनन्दित हुने जोजो व्यक्ति जुनजुन वडाका थिए, त्यहाँबाट बाजागाजा र नाचगानसहित तिनलाई अघि लगाइयो । सुन्दर परियारको वडाबाट त अझ विशेष प्रस्तुति थियो । उसको प्रशंसामा पुरुष र महिला समूहले दोहोरी गीतको अन्ताक्षरी नै चलाएका थिए । ज्यापु नेवारहरूले टुमटुम छ्याँ, पाकु पाकु छ्याँ गर्दै बजाएको ठुम्काको तालमा, कहिल्यै ननाच्ने पूर्वप्रधानपञ्च शुभबहादुर कार्कीसमेत फुनुक्क फुनुक्क घुम्दै, डँडालो भाँच्दै नाचेको थियो ।

सबै वडाको जुलुस गाविसको विशाल प्रांगणमा जम्मा हुँदा मञ्चबाट टाउकाहरूको विशाल सागर नै देखिन्थ्यो । वायाँबाट अलि छड्के परेर उक्लन मिल्ने मञ्चमा आसीन व्यक्तिलाई हरेक ठाउँबाट प्रस्टै देख्न सकिन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि पनि चानचुने थिएनन्, प्रधानमन्त्री कार्यालयका सचिव । तोकिएको समयभन्दा एक घण्टा ढिलो गरी प्रमुख अतिथि आएपछि उद्घोषक कुमार वाग्लेले कार्यक्रम सुरु ग¥यो जो स्थानीय एफएमको लोकप्रिय आरजे थियो ।

उद्घोषकले प्रमुख अतिथिपछि अभिनन्दन गरिने व्यक्तिलाई मञ्चमा बोलायो । तर, किन हो सुन्दर परियारलाई बोलाएन । त्यसपछि जिल्ला विकास अधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि, प्रहरी कार्यालय र वन कार्यालयका प्रतिनिधिलाई बोलायो । अन्त्यमा, भूलवस छुटेकोमा माफी माग्दै उसले सुन्दर परियारलाई पनि मञ्चमा आसन ग्रहण गरायो । दुई जना नवयुवतीले अतिथिहरूलाई फूलमाला लगाइदिएर स्वागत गरे । अर्का दुई जनाले ब्याच लगाइदिए । स्थानीय विद्यालयका विद्यार्थीले राष्ट्रिय गान, स्वागत गान र नृत्य प्रस्तुत गरे । त्यसपछि प्रमुख अतिथिले टीका, फूलमाला र सम्मानपत्र दिएर ती विशिष्ट पात्रहरूलाई अभिनन्दन गरे । अभिनन्दनका क्रममा पनि अन्तिममा राखिएपछि सुन्दर परियारलाई मनमा झस्का पस्यो । किनभने पहिला त यो अभिनन्दन कार्यक्रम उसकै लागि मात्र राख्ने कुरा भएको थियो । पछि राजनीतिक दलहरूको प्रतिनिधिको दबाबमा अन्य व्यक्ति पनि यस सूचीमा परे ।

उद्घोषकले बेइमानी गरे पनि कार्यक्रममा सुरुका दुई वक्ताले सबैभन्दा बढी चर्चा र प्रशंसा सुन्दर परियारकै गरिदिए । त्यसपछि उद्घोषकले अर्का वक्तालाई पालो दिने क्रममा सुन्दर परियारको प्रशंसामा समुदै्र बगाइदियो । उसले सुन्दरलाई थर फेर्न पनि सुझाव दियो जस्तो कि सम्भ्रान्त हुँदै गएपछि कतिपय दलित गैरदलितको थर ग्रहण गर्छन् ।

कुरा यतिमै टुंगिएको भए केही थिएन । सुन्दर परियारलाई दशाले घेर्न बाँकी नै थियो । सारा गडबडी अभिनन्दित व्यापारी कमलप्रसाद सापकोटाले बेलुकी शुभकामना पार्टी प्यालेसमा अभिनन्दित व्यक्ति र गन्यमान्यहरूलाई दिएको ककटेल डिनर पार्टीमा भयो । रक्सीले उन्मत्त भद्रभलाद्मीले यहाँ पनि सुन्दर परियारको उधुमै प्रशंसा गरिदिए । कुमार वाग्लेले यहाँ पनि सुन्दरलाई थर फेर्न सुझाव दियो । तर, उसको तरिका निकै भद्दा थियो ।

‘यता सुन् म्याटोक्ने सुन्दरे, हामी तँलाई दमाई नै मान्दैनौँ, यति राम्रो काम गर्ने मान्छे दमाई हुनै सक्दैन’, वाग्लेले एक हातमा गिलाँस समाउँदै र अर्को हातले सुन्दरको पिठ्यु थपथपाउँदै र चोर आँखाले अरूतिर आँखा झिम्क्याउँदै भन्यो, ‘तैँले थर फेर्नै पर्छ बुझिस् ?’

स्थानीय एफएमको स्टेसन म्यानेजर रविन्द्र घिमिरेले वाग्लेलाई रोक्दै साउतीको स्वरमा भन्यो, ‘सुन्दरजी, वास्तवमै तपाईँले महान् काम गर्नुभएको छ । हुन त अब एकेडेमीकल्ली मिल्दैन, तर दिलैले भन्छु, तपाईँले थर फेर्दा राम्रो हुन्छ । जन्मले क्षत्रीय भए पनि विश्वामित्र साधनाले ब्राह्मण ऋषि भए । कुनै पनि व्यक्ति कर्मले ब्राह्मण र कर्मैले दमाई, कामी हुने कुरा हाम्रो धर्मशास्त्रैले भनेको छ । हेर्नुस्, यही गाउँका कति ब्राह्मण दिउँसै धोकेर, लाजभाड बोलेर दमाई, कामीको जुनी बिताइरहेका छन् । तिनलाई तपाईँको अगाडि कसरी ब्राह्मण भन्ने ? साँच्चै भन्छु, कर्मले तपार्इँ ब्राह्मण हुनुभयो । दमाईहरूले नेपाली थर राख्छन् । तपाईँले चाहिँ ‘नेपाल’ थर राख्दा राम्रो हुन्छ ।’

‘यो कुरा मलाई पनि उहिल्यैदेखि लागेको होे, मुख फोड्न मात्र नसकेको !’ आतिथेय सापकोटाले नरम स्वरमा भन्यो, ‘सुन्दरजीलाई परियार भनिरहनु दमाई भनेर होच्याउनुजस्तो लाग्छ । यो मलाई पनि ठीक लाग्दैन ।’

नेपाली काँग्रेस गाउँ सभापति टंकभक्त खत्रीले थप्यो, ‘हुन त यो तिम्रै इच्छामा भर पर्छ । अचेल के जाति, त्यो पहिचान सहिचानको कुरा गर्छन् तर, दमाई–कामीको भुत्रा पहिचान ! व्यावहारिक हुने हो भने तिमीले पुरानै थर झुन्ड्याइरहनु जरुरी छैन । अरू हाँडेगाँडे दमाई र सुन्दर परियारलाई एउटै ड्याङमा राख्न मिल्दैन । कहाँको हरिद्वार, कहाँको मलद्वार ! त्यसैले तिमीले थर फेर्नैपर्छ बाबु !’

‘मनासिब कुरा हो सुन्दर दाइ !’ सानै उमेरमा पण्डित्याइँ गर्न थालेको राममणि रिसालले भन्यो, ‘नत्र हामी तपाईँसँग यसरी एउटै भोजमा सँगै बसेर खाने स्थिति नै हुने थिएन ।’

‘पासा सुन्दर, कुुरा ठीकै हो,’ करातेमा ब्लाकबेल्ट प्रवेश श्रेष्ठले मीठो स्वरमा भन्यो, ‘परियार भन्नासाथ मलाई पनि कसोकसो दिगमिग लागेजस्तो हुन्छ है !’ यता, बगलमै उभिएर मिरिन्डाको चुस्की लिइरहेका प्रवेशकी श्रीमती र जुम्बा प्रशिक्षक बहिनी सुन्दर परियारलाई प्रशंसात्मक भावले हेरिरहेका थिए ।

वाग्लेले चारपाँच जनालाई तानेर एकातिर लग्यो र केर्न थाल्यो । उसको कुरा सुनेर सबै जना हाँस्न थाले । ‘जल्ले जे भने नि, कुराचाहिँ खसोखास त्यही हो, तर अचेल सार्वजनिक ठाउँमा त्यस्तो बोल्यो भने खुट्टा भाँच्छन्, के गर्नू !’ आतिथेय सापकोटाको कुरामा फेरि अर्को खेप हाँसोको लहर चल्यो ।

‘यो उहाँको व्यक्टिगट कुरा हो, यसमा कसैले डख्खल डिनु हुन्डैन’, संवाददाता शुकमान किलम्बुले वाग्लेको समूहलाई सुनाउँदै पूर्ण नेवारी लवजमा भन्यो, ‘यो कुरा एकेडेमीकल्ली पनि मिल्डैन । उहाँका छोराछोरीको हकमा भने मिल्ला । ट्याँमाठि आफू ट पहिचान पक्षढर मान्छे हेर पासा, कसैलाई ठरै फेर चाहिँ भन्न सक्डिनँ का !’

‘लौ उठ् मूला, के यो जातैपिच्छे राज्य चाहिन्छ भनेर अठ्याँ र मठ्याँ गर्ने ठुटे पत्रकारको पछि लाग्छस् !’ सुन्दरको पाखुरा तान्दै वाग्लेले भन्यो, ‘आजदेखि तँ खुइले दमाईको छाउराले पनि बाहुनको थर पाइस् । ख्याल ख्याल होइन, यो एउटा पपुलर आरजेले घाषणा गरेको कुरा हो, बुझिस् ? लौ आइज, डानस गरौँ !’

‘सुन्दर नेपाल !’

‘जिन्दावाद ! जिन्दावाद !’

‘सुन्दर नेपाल !’

‘जिन्दावाद ! जिन्दावाद !’

‘सुन्दरे दमाई !’

‘बाइबाई !’

‘सुन्दर नेपाल !’

‘हाइहाई !’

सुन्दर परियारले टाउको समायो । कहिल्यै रक्सी नखाने सुन्दरले आज आतिथेयको करमा एकएक पेग वाइन र एक गिलास बियर खाएको थियो । त्यतिले उसलाई लागिसकेको थियो ।

एक्कासि उठेर ऊ बहुलाझैँ चिच्यायो । उसले टेबुलमा रहेका गिलासहरू भताभुंग पारिदियो । त्यसपछि आफैँ बसेको मेच भुइँमा बजार्न थाल्यो । भाँचिएको मेचको खुट्टा टिपेर उसले आरजे वाग्लेको नलीखुट्टामा एक दनक दियो । वाग्ले ‘मा¥यो बाबा’ भन्दै खुट्टा समाएर भुक्लुक्क ढल्यो । ढलेकै अवस्थामा त्यसको ढाडमा अर्को एक दनक दियो । दुई जना वेटर निरीहतापूर्वक हेरेको हे¥यै भए । त्यसपछि उसले जजसलाई भेट्यो, त्यत्यसलाई दनक दियो । आतिथेय व्यापारी सापकोटा, पत्रकार किलम्बु र रेस्टुराँका एकदुई कर्मचारीको समेत पिठयुँमा दनक बर्सियो । तीन जना बुढाहरू भुइँमा पछारिए । तिनीहरूको ढाडमा कुल्चेर मानिसहरू भागाभाग गर्न थाले । ती ऐया ऐया भनेर चिच्याउन थाले । दुई जना वेटर युवती थरथर काम्दै भित्तामा अडेस लागेर बसे । मञ्चमा गीत गाइरहेको टोली थुरथुर काँप्दै भ¥याङमुनि गुचमुच्च उभिए ।

मेचको खुट्टा घुमाएर भित्तामा झुन्ड्याइएको मोनालिसाको स्केच उसले झार्लामझुर्लुम पारिदियो । त्यसपछि पश्चिमतिर रहेको मञ्चमा चढ्यो । माइक फु ग¥यो । हेलो भन्यो । ‘मलाई बाहुन हुनु छैन । तपाईँहरूले सुन्नभो, मलाई बाहुन भएको नाटक गर्नु छैन । म जे छु, ठीकै छु । म सुन्दर परियार नै हुँ । दमाई भएर मैले कसैलाई हानि गरेको छैन, गर्ने पनि छैन, दमाई हुनुमा मलाई कुनै पछुतो छैन ।’ यति भन्दाभन्दै क्वाँ क्वाँ रुन थाल्यो । चार जना गार्डले उसलाई समाएर झ्याइँकुटी पार्दै तल ओराले । दौडँदै आएर दुई जना केटाले उसलाई लात र मुक्का हाने । एकैछिनमा उसको नाकमुखबाट ह्वालह्वाल्ती रगत बग्न थाल्यो । गार्डहरूले उसलाई सक्दो बचाए र बाहिर पु¥याए । एकैछिनमा प्रहरी भ्यान आइपुग्यो ।

भोलिपल्ट गाउँभरि हल्लीखल्ली भयो । कसैले सोध्नासाथ गाउँलेहरूको मुखमा जवाफ हाजिर थियो, ‘सुन्दरे दमाई बहुलायो !’

हिजोसम्म गाउँभरिको हिरो सुन्दर परियार आज एकाएक खलनायक भयो । एकपल्टलाई माफ गर्ने पक्षमा जोजो थिए, तिनले पनि बोल्ने आँट गरेनन् । सुन्दरको बाबुले गाउँलेसामु करजोरी बिन्ती गर्दा पनि केही लागेन । गाउँलेहरूको ठूलो टोली उसलाई कडा कारबाही गर्न माग राख्दै दिउँसो महानगरीय प्रहरी प्रभाग, कटुन्जेमा डेलिगेसन गए ।

avaya.writes@gmail.com

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.