~कात्यायन~
– “म तरंगको खोजी गर्दैछु |” – ऊ चिच्याउँदै हिंडिरहेको थियो | निर्जीव मानिसहरू अट्टहास गरिरहेका थिए |
– निर्झरलाई गएर छुन्छ | तरंग विद्यमान नै थियो |
– शान्त तलाउमा जान्छ र सानो पतिंगर बिस्तारै खसाल्छ | ज्वारभाटा झैँ तरंग पैदा हुन्छ र चारै किनारामा स्पन्दन गर्दै समाहित हुन्छ | स-साना कमिलाहरू त्यही पतिंगरलाई नाउ बनाउँदै तलाउ पार गर्छन् |
– ऊ सोच्छ – ‘ तरङ्ग त जीवन हुनु पर्ने हो |’
– उसले अनुभव गरेको थियो – सानोभन्दा सानो सुख-दु:खले पनि जीवनमा ठूलो तरंग उत्पन्न गराउने गर्छ |
– पीडाले घोच्नु नै पर्ने हो | खुसीले उन्माद ल्याउनु नै पर्ने हो | अभावले पोल्नु नै पर्ने हो | परिपूर्णताले उल्लास जगाउनु नै पर्ने हो | घृणाले नत:मस्तिष्क पार्नु नै पर्ने हो | प्रेमले जीवनलाई उत्सर्ग-उन्मुख गराउनु नै पर्ने हो |…
– तर खै: किन उसको देश तरंग-विहीन छ ? समस्याले पोल्ने गर्दैन देशलाई ? उत्साह-उमंग-वियोग आदिले मनभित्र तरंग पैदा गराउन छाडिरहेछ मानिसहरुलाई ?…
– उसलाई देख्न छाडेको धेरै भएको थियो | एक्कासि प्रकट भयो | सायद उसले केही कोरेर आएको छ | केही कुँदेर ल्याएको छ | केही निर्माण गरेर ल्याएको छ | सम्भवत: शान्त र जड वातावरणमा विस्फोट गराउने तयारीमा छ र परिवर्तनका तरंग उत्पन्न गराउने छ |
– उसले सूचना टाँस्यो – “ कृपया तरंगले नकाँप्नु होला !”
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)