कविता : पृथ्वी / अपृथ्वी

~मनप्रसाद सुब्बा~

उनीहरूले एक दिन मलाई
विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर
यौटा यस्तो ठाउँमा पुर्‍याए
जहाँ ‘देवीदेवताहरू’ र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र थिए
अनि ती प्रत्येकसित मेरो परिचय गराइयो l

उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए l

उनीहरूका शरीरबाट निस्किरहेको अत्तर-बास्नाबिच
मेरो पसिनाको गन्ध बेपत्ता होला जस्तो भइरहेको थियो
अनि जब त्यो भव्य भवनको खिड्कीबाट बाहिर हेरिपठाएँ
पृथ्वी त कता हो कता टाढा लाग्यो … ।

म उकुसमुकुसिएँ
भित्रभित्रै छटपटिएँ
र त्यहाँबाट उम्कने उपाय सोच्न थालेँ …।

केही छिनपछि
माझको मन्चबाट
एक जना देवताले वक्तव्य दियो-
‘हामी पृथ्वी परिवर्तन गर्ने परिकल्पनामा लागिपरेका छौं …’
अनि उसले दिव्य पावर-पोइन्ट माध्यमद्वारा
परिकल्पनाको प्रारूप प्रदर्शन गरिरहेको थियो l

आफ्नो प्रस्तुति टुङ्ग्याउँदै उसले भन्यो-
‘आज हामीबिच हाम्रा अतिथि
पृथ्वीको पल्लो पाखामा बस्नेहरूका एक प्रतिनिधि छन्
(मतर्फ दाहिने हात तेर्स्याउँदै)
उनले हाम्रो परिकल्पनामाथि मन्तव्य राख्नेछन् l’

अकमक्क पर्दै उठें म l
तर अचम्म
हठात् मेरो वाक्य कड्केर फुट्यो-
‘पृथ्वीलाई यसरी टाढा पार्ने यो अपृथ्वी
जहाँ पसिनाको गन्धले निर्धक्क सास फेर्न पाउँदैन,
कसको सृष्टि हो यो ?
अपृथ्वीका अदृश्य अक्कलहरू
किन पृथ्वीलाई पिर्ने परिकल्पनाहरू गरिबस्छन् ?

ए पृथ्वीवासी हो !
उठ, अनि त्यो अपृथ्वीको अ-लाई
च्वाट्ट छिन्ने गरी काट
त्यै अ-ले सिर्जेको हो
यो दूरत्वको अँध्यारो भ्वाङ !’

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.