कथा : लालसेना  

~घनेन्द्र ओझा~

यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर।

‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला।’

‘दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थियो, ‘पछि सन्तानका लागि जोहो गर्नुपरेन?’
त्यसो त सुनमायालाई पनि आफ्नो नामजस्तै पहेँलपुर गहना लगाएर सुनपरी हुने इच्छा नभएको कहाँ हो र!
– – –

समय हो, बित्छ, जोवनजस्तै। कलकलाउँदो बैँसले कोल्टे फेर्दै गएको छ। सुनमायाका गालामा धर्सा देखिन थालेका छन्, बुढ्यौलीका होइन, उमेरका। त्यसो त उति बूढी भएकी होइन ऊ, भर्खरै पूरा गरेकी हो चालीसौँ बसन्त।

२२ वर्षकी हुँदा परदेसिएको हो लोग्ने। ओहो, १८ वर्ष भइसकेछ। छोरो १८ वर्षको भइसक्यो, छोरीको विहे गर्ने बेला भइसक्यो। लोग्नेको अत्तोपत्तो छैन।
– – –

खबरका नाउँमा चिठी आउँथ्यो ४ वर्षजति। ‘कतारमा छु, राम्रै छ, काम पनि कमाइ पनि’ भन्ने लेख्थ्यो चिठीमा। तर लोग्नेको कमाइ देख्न पाएकी छैन सुनमायाले। त्यसपछि न त चिठी आएको छ, न कुनै खबर।
– – –

एक्लैले हुर्काई दुई छोराछोरी। कमाइ गर्ने ३ रोपनी पाखो, कोदो र आलु मात्र फल्ने। त्यसो त दिउँसो मेला जान्थी गाउँलेकहाँ, मकै पिठो आउँथ्यो, त्यही खुवाउँथी सन्तानलाई।

सुनमायाले लोग्नेको खोजी गरिदिन कतारमा रहेका गाउँछिमेक र चिनजानका सबैलाई अनुरोध गरी। कसैले पनि पत्ता लगाउन सकेनन्। कसैले पनि भेटेको कुरा गरेनन्।
– – –

अलिक जिद्धी हो कि मुडी थियो धनबहादुर। नामअनुसारको सम्पत्तिको धनीचाहिँ थिएन (धन भए किन विदेश जानुपर्थ्यो?)। मनको चाहिँ धनी नै हो भन्नुपर्छ। जिद्धी र मुडी भए पनि सहयोगी र भावुक थियो ऊ।
– – –

देशमा द्वन्द्व अन्त्य भएको छ, छिटपुटबाहेक। सशस्त्र द्वन्द्वरत माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको छ, आइसकेको मात्र होइन, सत्ताको मह चाटिसकेको छ। भर्खरै सरकारले बेपत्ता आयोग बनाएको छ। आयोगले प्रथम चरणमा बेपत्ताको सूची प्रकाशन गरेको छ। सुनमायाले सुनी, धनबहादुरको नाम पनि त्यस सूचीमा समावेश छ।

पत्याइन, विदेश गएको लोग्ने कसरी स्वदेशमै बेपत्ता हुन्छ?
– – –

नपत्याएर के गर्नु? भएछ यस्तै। हिन्दी सिनेमा झैँ लागिरहेछ उसलाई।

विदेश जान हिँडेको धनबहादुरले, काठमाडौँ जाँदा गाडीमा सँगै एकजना साथी भेट्टाएछ। परिचयपछि केही हार्दिकता र आत्मीयता गाँसिएछ। आफ्ना समस्या र विदेश जानुपर्नाका कारणबारे भलाकुसारी भएछ। साथीले यस्ता लक्का जवानहरु विदेसिनु नहुने, स्वदेशमै केही गर्नुपर्ने अर्ति सुझाएछ।

कतारमा पुगेर केही वर्ष सङ्घर्ष गरेछ। राम्रो कम्पनी, काम पनि राम्रो र तलब सुविधा पनि राम्रो भनेर दलालले फसाएको कुरा कतार पुगेपछि मात्र चाल पाएछ उसले। केही समयसम्म सुकुटी बनाउने गर्मीमा मरीमरी काम गरेछ। पैसा खान र बस्न पनि धौधौ पर्ने गरी मात्र कमाइ हुने। सोचेछ, आखिर यत्ति दुःख गरेर यहाँ बस्नु भन्दा त स्वदेश फर्कनु बेस। सन्तानका लागि केही जोहो होला भनेर अर्काको देशमा आएको, खै त के कमाएँ?

अचानक सम्झेछ, घरबाट काठमाडौँ आउँदा भेटिएको साथी। मुडी मान्छे छिट्टै हौसिन्छ, छिट्टै रिसाउँछ। त्यो साथीको कुरा ठीकै लागेछ धनबहादुरलाई र स्वदेश फर्किने निधो गरेछ, रित्तो हात।

एक दिन दिनभर धनबहादुर काठमाडौँमा त्यही साथीसँग बसेछ। साथीले राजनीतिमा लाग्न सल्लाह दिएछ। आफ्नो र परिवारको भविष्यको जिम्मा पार्टीले लिने बताएछ। क्रान्ति सफल भएमा देश र जनताको पनि हित हुने, आफूलाई पनि फाइदा हुने (राजनीतिक योगदानका आधारमा) बताएपछि धनबहादुर भर्खरै सुरु भएको माओवादी जनयुद्धमा होमिएछ।
– – –

भूमिगत रूपमा रहेको राजनीतिक दल, जसले सशस्त्र जनयुद्धको घोषणा गरेको छ, थाहा पायो भने सरकारले सिध्याइदिन्छ। अरू त अरू, आफ्नै परिवार, भनूँ न, श्रीमतीलाई पनि जानकारी दिएनछ। विदेश गएको कुरामै विश्वस्त पारेछ।
– – –

पार्टीमा लागेपछि पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु कर्तव्य हो। केही समय पार्टीका औपचारिक अनौपचारिक कार्यहरूमा सहयोगीका रूपमा काम गरेपछि सेनामा प्रवेश पाएछ, लालसेना। आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आएपछि कमाण्डरसम्म बनाएछ पार्टीले।
– – –

पार्टीले दिएको जिम्मेवारी बहन गर्दागर्दै एउटा चौकी आक्रमणका क्रममा भएको भीडन्तपछि बेपत्ता भएछ धनबहादुर।

सरकारले सार्वजनिक गरेको बेपत्ता नागरिकको सूचीमा उसको फोटोसहित छापिएको नाम देखेपछि कसरी नपत्याउनु?

सुनमाया मास्तिरको बाटो देखाउँदै भन्दै छे, ‘यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर।’

(ओझाको प्रकाशोन्मुख कथासङ्ग्रह ‘बिसङ्त’बाट।)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.