~नवीन प्यासी~
तिमी निष्ठुरी बनेपछि
समय पनि निष्ठुर बनेको छ अचेल ।
भन त लालीगुराँस !
यसपालीको चैतमा किन नफुलेको तिमी ?
तिमी नफुलेपछि
पुतलीले जुनी फेर्न छोडेको छ
डालीले सुकेनासको सिकार हुनु परेको छ
र भमराले च्यात्नु परेको छ सपनाको पत्रहरु ।
खै, आसाको ताली पड्काइरहने उज्यालो पनि
बसाइँ सरिसक्यो यहाँबाट…
तिमीले आफ्नो जिन्दगीको मौनधारण सुरु गरेपछि-
सुर्यले सेक्न छोडेको छ आँसुले भिजेको हिमाल
आकाशले लगाउन छोडेको छ बादलको शिरफूल
र धरतीले रेट्न छोडेको छ हावाको सारङ्गी ।
माटोले पनि टिप्न छोडेको छ शीतको थोपाको
कनिका
बाटाहरुले पनि छाँट्न छोडेको छ झारहरु मिसिएको
अाँखीभौँ
केटाकेटीहरुले पनि भेटाउन छोडेको छ बाको
खल्तीमा
उनीहरु जस्तै मिठा चकलेटहरु
र देख्न छोडेको छ नौलानौला संसारहरु ।
तिमी नफुलेपछि यहाँ
झ्याउँकिरीले पनि हर रात गाउने गर्छ शोकगीत
जुनकीरीको अत्यास लाग्दो मौन संगीतमा ।
भन त लालीगुराँस !
यसपालीको चैतमा किन नफुलेको तिमी