कविता : आँगन गुमाउनेहरूलाई

~त्रिभुवनचन्द्र वाग्ले~

आँखामा धुलो पर्नसक्छ
भो बन्द गरे पनि हुने सडकमा ब्याडमिन्टन खेल
सडक हो कसले भन्छ दुर्घटना हुँदैन
दुर्घटना हो कसले भन्छ यो विनाश होइन
आँखामा धुलो पर्नसक्छ
म्याराथन गन्तब्य रोकिए पनि
सडकमा खेल्ने ए नानीहरू
म तिमीहरू विरुद्ध फिराद कोर्दिन, रिट दर्ता गर्दिन
तिम्रा सडक अतिक्रमण विरुद्ध
शान्ति सुरक्षाका डण्डा ठड्याउन्न
आऊ साझा अतिक्रमण विरुद्ध करार गरौं
साझा अतिक्रमण : मैले आँगन अतिक्रमण गरें
प्रतिकारमा तिमीले सडक,
अँ, मेरो यो याचनापत्र पढ ल
खेल्ने आँगन म कहाँ दिन सक्छु र तिमीहरूलाई
खै कहाँ छ र ब्याडमिन्टन खेल्ने आँगन
भो, यो सडक–
आँगन गुमाउने भुरालाई भो ।
बाटो छेकेर खेल ल ब्याडमिन्टन
शहर हो नगर–खसमहरू आउन सक्छन्
नगर बधू आउन सक्छन्
उनीहरूसँग पनि खेलिदेऊ
ल्याम्पपोष्टको छेल परेर
ताप टायर बालेर रातभर
ओच्छ्याऊ सडक र ओढ हुस्सु टिम्बा सिरक
यी चिसाले थुर्ने रातहरूमा
नगर–खसमहरूलाई तताइदिनु पर्छ ।
ए पेपरवाला
छापिदिनु एउटा प्रायोजित सूचना
समवेदना तिनीहरूलाई
जसले आधुनिकतामा सडक पाए सट्टामा आँगन गुमाएर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.