~लेख कार्की~
हेल्लो नमस्ते !
अर्को दिन मात्र रिप्लाई आयो नमस्ते ।
– आराम हुनुहुन्छ ?
– बिरामी भए त हस्पिटल गैन्थ्यो नि ! लोल
– अचेल त सामाजिक संजालमा पनि डाक्टर थुप्रै भेटिन्छन् नि ।
– सामाजिक संजालमा भेटिएका डाक्टर, चित्रमा भेटिएको अङ्गुर के गर्नु त ? लोल
– मैले रिक्वेस्ट पठाएको ठ्याक्कै सात महिना एघार दिन भएछ तर स्विकार भएन कृपया मिल्छ भने कन्फर्म भन्ने जिनिसमा थिचिदिनु भए आभारी हुने थिएँ ।
– ओह ! दिनै गनेर पो ? फेक जस्तो लागेर नि । न फोटोछ न नाम पूराछ। जे होस् स्टाटस राम्रा लागे ।
– फोटो नराख्ने सबै फेक हुँदैनन् हजुर । कुरा आयो नामको शेक्सपियरले भने झैँ नाममा के छ र ? त्यसै पनि मेरोत नाम छ नि नलेखेको थरहो, थरमा के छ र ? हा हा
हस् एक्सेप्ट भयो । अहिले ढिला भयो मलाई, पछि कुरा गर्छु सी यु ।
बाई लेख्न लाग्या थियो सोच्यो महिनौ देखि फलो गरेको मान्छे आज पहिलोपटक कुरा हुँदैछ । बाई लेख्न हुन्न यत्तिकै छोड्यो र लेख्यो हस् सी यु टेक केयर ।
अग्निलाई ठूलै प्यास मेटिएझैँ भयो । जस्का तस्विरहरु र तस्विरको सिरानमा लमतन्न पर्ने क्याप्सन भनौं हरेक स्टाटसहरु खुव मन पर्थ्यो । अझ भनौं सम्पूर्ण मन पर्थ्यो । एक छिन टोलायो फेरि इनबक्स हेर्यो “गौरी एक्टिभ नाइन् मिनेट अगो” देखेपछी अब गएकै हो भन्ने लाग्यो र फेरि घुम्न थाल्यो ड्युटीतिर । घरीघरी इन्बक्स तिर आँखा दौडाईरह्यो अन्लाईन देखिन्छ कि भनेर । दिनभरी दौडाईरह्यो एक्टिभ टायम लम्बिदै गयो वन हाओर, टु हाओर, हुँदै साँझ पर्यो एक्टिभ नाउ देखिएन । ड्युटी सकेर कोठा फर्क्यो खाना बनायो र फ्रेश हुन बाथरुम छिर्यो । नुहाईसकेर फेरि मोबाईल अन गर्यो । देख्यो हरियो बत्ती बलेको हतार हतार लेख्यो हाई ।
निकै बेर कुर्यो सीन देखाएन उ खाना खान लाग्यो । खाना खाँदा खाँदै घन्टी बज्यो म्यासेन्जरको । हत्तपत्त हेर्यो गौरीको रहेछ खुशी हुँदै हात चुठ्यो र चम्चाले खाँदै च्याट गर्न थाल्यो ।
खाना खानु भयो ?
अघिनै अनि तपाईंले ?
मैले भर्खर
किन ढिला ?
यहाँ भर्खर त सात बज्यो ।
कहाँ होर ?
दुबई
ओह कति भयो ?
भयो एक दुई साल । यत्तिकैमा फेरि अग्निले सोध्यो हजुर के गर्नु हुन्छ ? भन्न मिल्छ ?
रात धेरै भयो म सुतेको है गुडनाईट ।
आफ्नो प्रश्नको जवाफ गुडनाईट आयो । सोच्यो साला कस्तो काम हो यो गुडनाईट ? थोरै खिन्न र थोरै मुस्कान मिसाएर फेरि खाना खान थाल्यो ।
गौरीले सोची ह्या नाम न ठेगानाको मान्छे संग नि के कुरा गर्या होला मैले ! के के सोच्दा सोच्दै निदाई ।
यता अग्नि कोल्टे फर्की फर्की गौरीलाई आँखाभरी नचाई रह्यो । मनभरी फुलाईरह्यो सुनाखरी र मखमलीहरु । कतिबेला उज्यालो होला । फेरि कुरा गरम्ला भनेर सोचिरह्यो । मनमा कुराहरुलाई चि मुसि चि खेलाउदा खेलाउदै निदायो ।
बिहान उठेर ओछ्यान बाटै आँखा मिच्दै डाटा अन् गर्यो । गौरीलाई अन्लाईनमै देख्यो र लेख्यो
“हाई ! जि.एम.
सीन देखायो तर रिप्लाई आएन । फेरि लेख्यो
आर यु दिअर ?
रिप्लाई आएन । कुर्दा कुर्दै देखायो “गौरी एक्टिभ सिक्स मीनट अगो ।”
मनमा खल्लो भो एक्कासी फेरि किन होला बोल्नै छोड्या ? कम्सेकम सीन नदेखाको भए पनित हुन्थ्यो रिप्लाई नगर्ने भए । कतै अरुले पनि चलाउँछ कि यो आई डि । मनमा अनेक छालहरु आए । ड्युटी जान ढिला भैसकेछ । उ हतार हतार युनिफम लगायो र लाग्यो ड्युटी तिर । सेक्युरिटी सुपरभाईजरको जागिर । फुर्सदिलो मान्छे बारम्बार अन्लाईन चेक गर्यो । दिनभर देखेन अन्लाईन । ड्युटी सकियो कोठामा आउनासाथ अन्लाईन देखेर फेरि बोलायो ।
हेल्लो किन नबोल्नु भएको ? केही नराम्रो भने जस्तो लाग्दैन ।
धेरै बेर पछि रिप्लाई आयो ।
– बिजि थिएँ । फेरि बोलिरहनु पर्ने काम पनि के छ र ?
– काम हुनै पर्छ र साथी संग कुरा गर्नलाई ?
– हुन पर्दैन भनेर फेसबुकमा हुने सबै संग कुरा गरेर साध्य पनि त हुँदैन ।
– हामी क्लोज फ्रेण्ड बन्न सक्छौँ ? क्लोज फ्रेण्ड र नर्मल फ्रेण्ड त अलिक फरक होला अनि त साध्य होला नि । हा हा
गौरी रिसाउँदै भनी तपाईंलाई चाहिँ किन क्लोज फ्रेण्ड बनाउनु नि ? त्यो पनि तपाईं जस्तो परिचय लुकाएर कुरा गर्ने संग । सबै केटा यस्तै हुन्छन् उभिने ठाउँ दियो भने बस्ने ठाउँ खोज्छन् । बस्ने ठाउँ दियो भने सुत्ने ठाउँ खोज्छन् । अस्ति फ्रेण्ड, आज क्लोज फ्रेण्ड अब पर्सि तिर रोमियो बन्ने होला हैन ?
– एस !
– ह्वाट ?
– हो तपाइँको लागि रोमियो पनि बन्न सक्छु ।
– मलाई थाहा थियो यहि भन्नुहुन्छ भनेर । आखिर तपाईं पनि एउटा केटा न हो । स्वार्थ पूरा नहुन्जेल प्राय यसै भन्छन् । अस्ति मात्र मेरि साथी दीपा लाई डेड बर्ष हल्लाएर एउटा यस्तै भन्ने साथी भूमिगत भयो । तपाईंलाई थाहाछ म कस्ती मान्छे हो ? मेरो वास्तविकता सुन्नुभयो भने सायद आफैं ब्लक गर्नुहुन्छ । अब भयो । मेसेज नपठाउनु होला । सरि म अन्फ्रेण्ड गर्दैछु । बाई ….!
क्या रोमियो सोमियोको लफडामा फस्यो यार फेरि । ठिकै त चल्दै थियो । के थियो हतार र मैले यो क्लोज फ्रेण्ड, रोमियो अहिले बन्न पर्ने ? आफैंलाई प्रश्न गर्दा गर्दै फेरि मेसेज पठायो ।
गौरी जी सरि ।
म तपाइँको डाईहर्ट फ्यान पनि हो । मेरो कुराले मन नदुखाउनु । म फेक हैन । मेरो बारेमा बताउँला । मिल्छ भने एकपटक फेरि एड गर्नुहोला ।
दिनभरी ब्यस्त गौरी । साँझ परेपछि फेसबुक खोली । म्यासेज पढी । अनौठो लाग्यो । किन यो मान्छे यति धेरै पछिलाग्या होला ? एक दुई ओटा कविता र झारेझुरे स्टाटस पढेरै फ्यान भएको हो त ? एक्लै मुस्कुराई र एक्सेप्ट गरि तर जवाफ नफर्काई सुति ।
अग्नि बिहानै उठेर हेर्यो दुई मेसेज,सात नोटिफिकेसन रहेछन् । मेसेज खोल्यो दुबै ग्रुप च्याटका रहेछन् । नोटिफिकेसन खोल्यो चौथोमा थियो “गौरी एक्सेप्टेड योर फ्रेण्ड रिक्वेस्ट” । खुशी हुँदै भन्यो कम्सेकम मेसेज त रिप्लाई गर्नुपर्छ ।
शनिबारको दिन गौरी अलिक ढिला उठि । कपडा धोई नुहाई धुवाई गरि र फेसबुक खोली अग्निले फेरि मेसेज पठाएछ –
गौरी जी म तपाईं संग नजिक हुन चाहान्छु । हरेक कुरा हरु शेयर गर्न चाहान्छु । किन किन मनले धेरैनै बिश्वास गर्छ तपाईं लाई । पाथीभराको कसम म फेक हैन । मिल्छ भने मेसेन्जरमा कल गर्नु ल ।
गौरिले सोची हुनत अचेल धेरै झुट बोल्नेलेनै छिटो कसम खान्छन् । जे सुकै होस् मलाई के मतलब । एक पटक आफ्नो वास्तबिकता बताईदिन्छु कम्सेकम पछि लाग्न त छोड्छ ।
अग्नि अन्लाईन् मै थियो सिधै कल हानी ।
अग्निले काट्यो । र मेसेज लेख्यो सरि अलिक बिजिछु आधा घण्टा पछि कलब्याक गर्छु ल ।
गौरिले हेरि तर केही लेखिन ।
यता ड्युटिको अनुकुल मिलायो । बिरामी भएको बहाना गरेर आजलाई बिदा मिलाएर कोठा फर्क्यो र कल गर्यो अग्निले ।
फोन उठेन फेरि गर्यो ।
फोन उठाएर भनी गौरीले हल्लो !
– हेल्लो नमस्ते । सन्चै हुनुहुन्छ ?
– ठिकछु ।
– के गर्दै हुनुहुन्छ ?
– बसिराछु । किन कल गर्न भन्नू भको ? हिजो अस्ति भेटेको मान्छे संग किन यसरी पछि लगिराख्नु भको ?
– किनकी तपाईं मन पर्छ
– ह्वाट ? फेरि त्यही कुरा । प्लिज तपाईंले मलाई बुझ्नुभएको छैन । बेकारमा यो हावाको तालमा यस्ता कुरा नगर्नु ।
– पाथीभरा माताको कसम
– सुन्न सक्नुहुन्छ ? म मेरो कहानी भन्छु । तर एउटा शर्तमा
– शर्त मञ्जुर
– चुपचाप सुन्नुपर्छ । भनिसकेर म फोन काट्नेछु । त्यहाँ पछी तपाईंले सिधा ब्लक गर्नु पर्नेछ ।
– मञ्जुर
– तपाईं को हो के हो म जान्दिन र जान्न पनि चाहन्न । हाम्रो पहाडघर ताप्लेजुङ थियो । त्यहाँको स्कुलमा आठ कक्षामा पढ्दानै एउटा नेवार केटा संग प्रेम भयो । हामीले संगै मर्ने संगै बाँच्ने कसम पनि खाएका थियाैँ । उसको नाम शारद शाक्य थियो । पछि स्कुलमा हेडसरले आफ्नै विद्यार्थी केटि माथी यौन दुर्व्यवहार गरेको थाहा भयो । स्कूलमा सबै मिलेर हेडसर प्रती आन्दोलन गरियो । तर हाम्रो केही लागेन बरु सरले भोलि पल्ट शारद लाई अफिसमा बोलाएर साफ पिट्नुभएछ । त्यही रिसले उ माओबादीमा गयो । गएपछी दुईओटा चिठी पठायो । त्यहाँ पछि कता भूमिगत भयो अत्तोपत्तो भएन । केही महिना पछि हामी काठमाण्डौ बसाइँ आयौं । यतै पढियो धेरै पछि सम्म बाटो हेरियो शारद आएन । पछि नागारिकता बनाउन बुबा संग पहाड जाँदा एक दुई जना लाई सोधेँ – कसैले थाहा छैन भने कसैले सोलुको दोहोरो भिडन्तमा मर्यो रे भने । हामी चार दिन बसेर काठमाण्डौ फर्कीयाैं ।
य
हीँ बिबिएस पढ्दा पढ्दै मलाई बिहे गर्ने प्रेसर आयो । दाईकै साथी इन्स्पेक्टर रितेश क्षेत्री सङ्ग बिहे भो । हामी भैरहवा बस्थ्यौ । बिहे गरेको दुई बर्ष भाथ्यो । एक दिन भैरहवा बाट काठमाण्डौ जाने क्रममा प्लेनक्राश भएर उहाँ बित्नु भयो । अहिले म संग उहाँको चिनो छोरी छिन् “गौरिशा” यो मैले नै राखेको नामहो गौरी, रितेश र मेरो फस्ट लभ शारदको नाममा । अहिले म र गौरिशा बुबा ममि संगै बस्छौँ धुम्बाराहीमा । र यहीँको एउटा बोर्डिङमा टिचिङ गर्छु ।….बुझ्नुभो ?
कृपया अब आईन्दा डिस्टर्ब नगर्नु होला ।
धन्यवाद । ……ट्वाँट् …….!
अग्निका आँखा बाट अघिनै आँसु झरिसकेछन् । उ आफैंलाई थाहा भएन । फोन काटी सकेपछी सातो हराएको मान्छे जस्तै भयो । एकछिन टोलायो र जुरुक्क उठेर बाथरुम गयो ।
फर्किएर आयो । आदेश त थियो फोन काटेपछी ब्लक गर्नुपर्ने तर उस्ले फेरि म्यासेज लेख्यो ।
गौरी !
धेरै कुरा थाहा थियो, सबै कुरा थाहा थिएन । सुनेर धेरै दु:ख लाग्यो । गर्नुपर्ने मैले ब्लक थियो तर मेसेज गर्दैछु । यो सुनेर तिमी प्रतीको चाह, माया झन् चुलियो सगरमाथा भन्दा धेरै अग्लो भएर ।
सेन्ड गर्यो ।
फेरि एल्बममा भएका दुई ओटा तस्विर मोबाइलको क्यामेराले कैद गर्यो । एउटा केटा र एउटि केटि गुराँस टिप्दै गरेको, एउटा सेतो शर्ट र निलो पाईन्ट लगाएर किताब बोकेर उभिएको सिंगल, खिच्यो एउटा सेल्फी अनि पठाईदियो तीनओटा तस्विर र लेख्यो फेरि मेसेज –
गौरी ! मैले पत्तोलगाएर, बुझेरनै पछि लागेको हुँ । म त अहिले पनि तिम्रै नाममा बाँचेकोछु । त्यही गौरी बस्नेतका नाममा । म त्यही तिम्रो शारद हुँ गौरी । अझै पनि यो छातीमा उहि “गौरीप्रेम” छ । यी आँखामा भनौं यो जीवनमा उही गौरीप्रेमछ । अग्नि त पार्टीले दिएको नामहो । झूटो हल्ला फैलिएछ म मरेको भनेर, म मरेको थिईन । भूमिगत जरुर भएको थिएँ । पछि गाउँ फर्किएर तिम्लाई खोज्न राजधानी नआएको हैन । तर कतै पत्तो नलागेर हैरान हुँदै बिदेश आएको थिएँ । नपत्याए हेर तिम्रा मेरा उ बेलाका तस्विरहरु ।
आई लव यु ।
एकैछिनमा उता मेसेज सीन देखायो, अग्नि दु:ख र खुशीको संयुक्त पोको बोकेर लाग्यो मार्केटतिर ।
विजयखर्क–१
खोटाङ, हाल कतार
@lekhkarki1
(स्रोत : लाइट नेपाल डट कम)