~सविन सिंह ‘एकतारे’~
बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक शिष्टता भनेको चाकरी हो भन्ने ऊसको मान्यता हो ।
तर, यी हाकिम कार्यालयका लागि नयाँ हुन् । हिजो भर्खर आएका । आउनेबित्तिकै वैठक बोलाएर सबै कर्मचारीलाई निर्देशन दिइसकेका थिए । कार्यालयमा अनुशासन नभएमा नसहने र हदैसम्मको कारबाही गरिने कुराले अनिलको पाइला ढोकाअघि रोकेका थिए । ढोका नढक्ढकाई भित्र पस्दा अनुशासन भंग भएको पो सोच्ने हुन् कि ?
सोचमा डुब्दै अनिलले ढोका खोल्यो र हाकिमलाई नमस्ते गर्यो । आफ्नै कुराकै तानाबानामा रहेका हाकिमले पुलुक्क हेरे र मुखले नमस्ते फर्काए । कार्यालयका अरू कर्मचारीहरू पहिले नै निर्देशकको कार्यकक्षमा पुगिसकेका रहेछन् । हाकिम साहेब हिजो भर्खर प्रधानमन्त्रीले बोलेको विषयमा हाउभाउ दिँदै भाषण छाँट्दै थिए । कोठाभित्र सबैजना मुखमा ताल्चा लगाएर नयाँ हाकिमको कुरा सुन्दै थिए । अनिल भित्र पस्यो र सरासर हाकिमको टेबलमा निवेदन तेर्सायो र एउटा कुर्सी तानेर बस्यो । हाकिमले निवेदन उठाए र एक नजर लगाए । निवेदन हेर्दाहेर्दै पुलुक्क अनिललाई सोधे, “बाबु, जागिर खाएको कति भो ? “
“सर ११ वर्ष भयो । अनि अधिकृत भएको ५ वर्ष ।” सहज रूपमा अनिलले जवाफ दियो ।
आँखा ठूलाठूला पार्दै एक्कासि हाकिमले हातमा भएको निवेदन टेबलमा फुत्त फालिदिए ।
“यत्रो भयो जागिर खाएको, निवेदन लेख्न आउन्न ?”
अचानकको यो रिसले सबै कर्मचारी अक्क न बक्क भए । अनिलले बुझ्नै सकेन, के गल्ती भएछ !
मलिनो स्वरमा बोल्यो, “के भयो र सर ? केही गलती भएको भने भन्नुस् । सच्याएर फेरि लेख्छु ।”
हाकिम झन् कड्किए, “यही हो निवेदन लेख्ने पारा ? मैले महानिर्देशकलाई लेख्दा त श्रीमान् महानिर्देशकज्यू भनेर लेख्छु । तिमी ठाडो श्री निर्देशक् लेख्ने ? आदर गर्न आउन्न आफूभन्दा माथिको पदकालाई ?”
बल्ल स्पष्ट भयो, कुरा के रहेछ भनेर ।
“हैन सर, हामीले सेवाप्रवेश तालिममा सिकेको कुरा हो । सम्बोधन गर्ने तरिका यही नै हो र यसरी नै लेख्ने गरेको छु ।”
रिस उठे पनि संयमित हुँदै अनिलले स्पष्टीकरण दिन खोज्यो, “र, यसरी लेख्दा अहिलेसम्म कसैले आपत्ति जनाउनुभएको पनि छैन र थर्काएको पनि छैन । “
हाकिम झनै रिसाए । गाला रातोरातो पार्दै भने, “ल मैले थर्काएँ आज !”
अनिलको रगत उम्लियो । यसरी त उसलाई उसको बुवाले समेत अहिलेसम्म गाली गरेका थिएनन् । रिसको आवेगमा जुरूक्क उठ्यो र टेबलबाट निवेदन उठायो ।
“हजुरलाई मान चाहिने रै’छ, सिधै भन्नुस् सर । म यो कागजको खोस्टोमा तपाईंको मान थपेर ल्याइदिउँला ।”
अनिलले जवाफ पनि कुरेन । ढोका खोलेर फटाफट बाहिर निस्क्यो ।
निर्देशकको कार्यकक्षको ढोकाको स्प्रिङ्ग बिग्रेको रहेछ शायद । बिस्तारै लाग्नुपर्ने ढोका ढ्याम्म गर्दै ठूलो आवाजका साथ लाग्यो ।
० ० ०
“सर, चिया सेलायो,” एकोहोरो कम्प्युटर स्क्रिनमा हेरी किबोर्डमा औंला खेलाइरहेको अनिलको ध्यान तिखो आवाजले भंग भयो । सीता चियाको कप लिन आएकी थिई तर उसले चिया पिउन भुसुक्कै बिर्सेको थियो ।
“यो सरलाई त चिया ल्याइदिनु नि बेकार छ । ल्यायो, सेलाएर राख्छन् अनि फेरि अर्को लिएर आउनू भन्छन् ।”
सीताको गनगनलाई बेवास्ता गर्दै अनिलले सेलाइसकेको चिया घुटुघुटु पियो ।
“ल दिदी, अर्को एक कप तातो चिया ल्याइदिनुस् न है !”
“ल ल, अब के भन्नु र ! पाएसि काम लाउने त हाकिमहरूको बानी नै हो…” सीता भुन्भुनाउँदै बाहिर निस्किई ।
अनिललाई सीताको बोली सुन्यो कि झिँझो लाग्थ्यो । लगभग १८ वर्ष जागिर अवधि भइसकेकी सीताले अनिल जस्ता अधिकृत कैयौं देखी-झेली सकेकी थिई । कार्यालयको सबैभन्दा सानो पद कार्यालय सहयोगी भए पनि सीताले गनगन सुनाउन कसैलाई बाँकी राख्दिनथी । रूखो र सीधा बोलीका कारण सीतालाई रूचाउने कमै थिए । तर, पनि कार्यालयको एकमात्र महिला कर्मचारी भएका कारण चिया खुवाउने जिम्मा उसैलाई थियो । स्थायी सरकारी जागिरबाट हटाउन सक्ने कुरै भएन, सबैले उसको रूखो व्यहोरा सहन्थे ।
सीताले चिया टेबलमा राखी । अनिलले कप उठाएर चियाको घुट्को लियो । चिया सीताजस्तै तीतो थियो । अनिलले कुनै प्रतिक्रिया दिइहाल्न सकेन किनकि सीता त्यही उभीरहेकी थिई । उसले सीता दिदीलाई हेर्यो । उसले केही भन्न खोजेको स्पष्ट देखिन्थ्यो ।
“केही कुरा थियो कि दिदी ?”
“अरू कुरा त के हुनु नि ! असार लागिसक्यो, एउटा टीओ त दिनुपर्यो नि सरले !”
असार मसान्तमा आर्थिक वर्षको समाप्तिसँगै बजेट सकाउने धून थियो । कार्यालममा सबै आ-आफ्नो काम सकाउने चटारोमा थिए । कार्यालय सहयोगीहरू भने कसलाई चाकरी गरियो भने बाहिर जान पाइन्थ्यो र अलिअलि पैसा कमाउन पाइन्थ्यो भन्ने ध्याउन्नमा थिए ।
“अब यो बर्खामा कहाँ जानुहुन्छ र दिदी ?”
“जानैपर्छ भन्ने छ र ? कैलेकाहीँ त यसै बनाइदिनू नि । वर्षभरि यत्रो काम गर्यो, अन्तमा यसो मुखमा माड लाउनुपर्दैन र हामीलाई गरिबलाई ?” सीताले सोझो कुरा राखी । उसले गणेश टीओको आशा गरेकी थिई । खटिएको ठाउँमा नगएर बसीबसी नक्कली कागजात पेस गरेर भ्रमण खर्च लिनेको अनिल भने सख्त विरोधी थियो ।
“नगई त हुन्न दिदी । भोलि रातो घर बोलाउँदा तपाईं र मलाई दुवैलाई अप्ठेरो पर्ने हो । फेरि यस्ता हाकिम छन्, म के भनेर हाकिमलाइ भनूँ तपाइँका लागि भनेर ?”
“अँ सर ! तपाईं पनि पिउन भनेर हेप्नुहुन्छ, हाम्रो अधिकार छैन भनेर कमारोझैं पेल्न पनि पाउनु हुन्न ।” अनिलमाथि अप्रत्याशित आरोप आइलाग्यो । सीता बोल्दै थिई, “तलबले कसरी पुग्छ यो जमानामा ? याँ मान्छेलाइ फिटीफिटी भइसक्यो । काममा भने अलिकति पनि छाड्ने हैन । १० देखि ५ सम्म बस्नै परेको छ, गोरू जोतिया झैं जोतिएकै छ । सुविधा दिने बेलामा चैं मुठ्ठी कसेर हुन्छ ? यो पालि जसरी नि टीओ दिनैपर्छ । नत्र म एक हप्ता बिदा लेखेर हिँडें ।”
सीता ठूलो स्वर पार्दै कराउँदै थिई ।
अनिल मनमनै हिसाब गर्दै थियो । कति छ उसको कमाइ ? सरकारले दिने उही लगभग २५ हजार हो । अनि यी सीता दिदीको तलब कति त ? पाँचौं तहको का.स.को तलब पनि त लगभग २० हजारमाथि नै छ । फरक जम्मा ५–६ हजार त हो ।
के फरक भो र एउटा का.स. र एउटा अधिकृतबीचमा ? सीताको खर्च र अनिलको खर्चमा खासै फरक पनि छैन । अझै अधिकृत भएपछि समाजमा देखाउन भए पनि तामझाम मिलाउन खर्च अलि बढी नै गर्नुपर्छ । यी सीता दिदीलाई चै तलब नपुगेको, उसलाइ चैं किन पुगेको होला ?
अनिलले यो हिसाब पार लाउन सकेन । अनि अलि आवाज ठूलो पार्दै बोल्यो, “यस्ता कुरा मसँग नगरम् त दिदी । टीओ तपाईंको हक अधिकार हैन । कार्यालयको काम गर्न दिइने खर्च हो । तपाईंलाइ खर्च पुगेन भनेर मैले सरकारको पैसा बाँड्न मिल्दैन । कुनै काम लिएर बाहिर जानुपर्ने भए म भनुँला नत्र यस्ता गणेश टीओका कुरा मसँग नगर्नुस् ।”
सीता त ठूलै स्वरमा बोल्ने गर्थिन् तर अनिल पनि चर्किएको सुनेर कार्यालयका अरू कर्मचारी पनि अनिलको कोठामा उत्सुकतापूर्वक तमासा हेर्न आइपुगे ।
अनिल झनै उग्र हुँदै बोल्यो ।
“सबै साथीहरूले सुन्नुस् । यो पालि एउटै पनि गणेश टीओ बन्दैन । कसैलाई काँध थापेर रातोघर जानु छैन मलाई । जसलाई टीओ चाहिया छ, उसले काम लिएर बाहिर जानैपर्छ, नत्र हुन्न । अरू कुरा मलाई सुन्नु छैन । जसलाइ गुनासो छ, उसले मभन्दा माथि गएर कुरा लाउन सक्छन् ।”
अनिलको कुरा टुंगियो । सीताले केही जवाफ दिइन । कप उठाई र अनिलको कोठा बाहिर गई ।
ढोकाको स्प्रिङ बिग्रिएको थिएन । च्याइँय्य… गर्दै बिस्तारै ढोका लाग्यो ।
(स्रोत : बाह्रखरी डट कम)