~अनुप मगर~
म साहिली दमिनी
ठूला बा’को दलान बाहिरै थिएँ,
नचोखिने गरी
जुठो माझेकै थिएँ,
कलम भिरेका’ सुकिला
मेरो घरमा एक हुल मान्छे आए
ठूला बा’को घर न जान अ-हाए
बाबै मलाई त मटराँ हालेर
शाहराँ पु-याए !!
तिम्लाई था’छ ?
त्यो शाहराँ
मेरो पानी चल्दो रै’छ
तारे होटलको गोश्ठिहरुमा
क्या मज्जाले बिक्दो रै’छ
डलर सँग सरावरि
आइ एन जि ओ को झोलाभरि
त्यो शाहरको मन्चमा झन्
भाशण भएर शब्दै पिच्छे
मेरो पानी चल्दो रै’छ
उसको चुल्होमा पनि
मेरै पानी बल्दो रै’छ
म अछुत साहिली दमिनिको पानी
चलाउने जतिलाई दिदै गएँ
भाँडो रित्तियो,
मा आफै प्यासी भएँ
बाबै त्यो शाहराँ’
मेरो थोत्रो चोलो
झन महँगो बिक्दो रै’छ
टेलिभिजनले बेच्यो
रेडियोले बेच्यो
पत्रीकाले झन्
पहिलो पानामै राखेर बेच्यो!!
खै के जाती रे,
मानव अधिकार रे
महिला अधिकार रे
खै के के
कार माथी चढ्ने थुप्रै कारबादिहरु रे
तीनले त बेची दिए नै
भोका कविले सुद्ध मेरो चोली बेची दिए
मा नाङ्गै भएँ
मा प्यासी भएँ
नचल्नेलाई चलाएर
गैरीको दमै टोल्मै
फर्की आएँ
अझै पनि घाम
ठूला’बा कै आगनमा मात्र उदाउछ
गैरीको दमै टोल ओझेल मै छ
म परिवर्तन सँगै नाङ्गिएकी
युग सङ्गै तिर्खाएकि
आफ्नै सँग बेचिएकि
थाङ्नो ओढेर लुकेकी छु
सुकिला मान्छेहरु देखेर
कलम भिरेका मान्छेहरु देखेर
आफ्नो भन्नेहरु देखेर
म साहिली दमिनी !!!