लघुकथा : नयाँ जीबन

~सजना गुरुङ~Sajana Gurung

चारैतिर क्रिश्मसको रमझम ! सलोम मण्डलीको गेटबाट भित्र प्रवेश गर्नासाथ मेरा नयन चारैतिर घुम्न सुरु हुन्छ ! सबै आ आफ्नो जीवनसाथी सँग कति हाँसीखुशी देख्दै थिएँ तर म लोग्ने भएरै पनि लोग्नेको मायाबाट सधै वञ्चित ! निसन्देह ; यो भीडमा कसैको अनुहारमा दुख वेदनाको रंग देखिन्छ भने त्यो मात्र मेरै मुहारमा होला चाहे म जतिपनि मुलाहिजी खुशी देखाउनको प्रयत्नमा लागीपडुं ! खराब जीवनसाथीको साथमा जीन्दगी कति पीडामयी बन्न पुग्ने रहेछ यही दर्दनाक आभाससँग म बाँचिरहेकी छु तर पनि मैले मेरो आशाहरूलाई रित्तिन दिईन एकपललाई पनि चाहे त्यो पल जतिसुकै सास्तीपूर्ण किन नबनोस् लोग्नेको काराणले !

प्रभुसामु गरिएको मेरो हरेकपलको प्रार्थना र बाइबलको वचन अनुसारको व्यवहारले वहाँलाई अवश्य सुधार्न सक्नेछु भन्ने बिश्वास थियो मलाई तर तीन , चार वर्ष बित्दापनि दुर्भाग्य कुनै परिवर्तन देख्न सकिन फेरि पनि म निराश बनिन लोग्नेप्रतिको पवित्र प्रेमले म भित्र आशा, भरोशा , सहनशीलता जन्माउथ्यो र प्रेरित गरिरहन्थ्यो उसको हरेक खराबीलाई आफ्नो असल व्यवहारद्वारा विजय प्राप्त गर्नलाई ! म आफ्नै आन्तरिक वेदनामा यती गहिरिएछु कि कार्यक्रम कतिबेला सुरु भएर मध्य भागमा आइपुगेछ बोध नै भएन, अचानक विजयले मेरो नाम लिई सम्बोधन गर्दा म वास्तविकतामा आएँ यताउति झस्किएर हेर्न लागे तर विजय कुलपीठमा उभिएर केही भनिरहेको थियो ! आश्चर्य र कौतुहलताका साथ म विजयको कुरा सुन्न थाल्छु !

” सुनीता ! तिम्रै अथक पवित्र प्रेमको काराणले आज म सबैको सामु यो कुलपीठमा उभिएर केही भन्ने हिम्मत गर्दैछु ! मैले तिमीसँग यती खराब व्यावहार गरिरहें, तिम्रो भावनामा यती ठेस पु-याएँ ! यसको बाबजुद तिम्रो आँखामा मेरो निम्ति घृणाको बदला माया नै देखिरहें !तिम्रो हरेक प्रयास मलाई सुधार्नको निम्ति हुन्थ्यो ! म भित्रको दुष्ट आत्मा त्यो दिनदेखि निष्क्रिय हुन थाल्यो जुन दिनदेखी तिमीले केही विकल्प नभेटी २००० रुपियाँ को लोभ देखाएर संगतिमा जानलाई आग्रह गरयौ ! संगतिमा गएपछी पाष्टरको वचन सुन्दै गएँ , संगतिमा देखिएका प्रत्यक्ष उदाहरणहरुद्वारा धेरै कुरा सिक्दै गएँ ! त्यही दिन मैले जाने , सुध्रिनको निम्ति सबैभन्दा पहिले आफैसंग इमान्दार हुनु पर्दछ , जसले आफैसंग छल गर्दछ त्यसले हरकोईसँग छल गर्न सक्छ ! कर्म विनाको वचन , शिक्षा अधुरो अनि अपुरो हुन्छ ! मानिस जुनसुकै उमेर ,अवस्थामा किन नहोस् उसलाई धार्मिक र नैतिक शिक्षाको , संगतिको अत्यन्तै आवश्यकता पर्दछ ! दुष्ट र खराब मान्छे होइन मान्छेको स्वाभाव हुन्छ त्यसकारण खराब मान्छेसँग होइन मान्छेको खराब स्वाभाव सँग घृणा गरी प्रेमले खराबीको अन्त्य गर्ने प्रयास गरौ ! योसब ज्ञान म संगतिबाट र तिम्रो हरेक व्यवहार बाट पाउँथे ! मेरो खराब व्यवहारसँग दिक्क भै मसँग सम्बन्ध बिच्छेद गर्नुको सट्टा मेरो साथ निभाउदै एक असल जीवनसाथीको कर्तव्य निभाई रह्यौ ! आजसम्म सत्य प्रेम सत्य कर्म गर्ने कोहि पराजित भएको थियो र जो तिमी हुनेछौ ? तिम्रो प्रेम , विश्वास र कोशीसले मलाई नयाँ जीवन दिएको छ ! आज यो क्रिसमस कार्यक्रममा सबैको सामु म मेरो सारा गल्तीहरु स्वीकारी तिमीसँग माफी माग्दछु र सारा खराब कर्मको प्रायश्चित गर्ने वाचा गर्दछु ! धन्यवाद ! परमेश्वर पितालाई जो वहाँले आफ्नो एकमात्र पुत्र यशुलाई आजको दिनमा यस धर्तीमा ल्याई हामी मानिसका सारा गल्तीहरुलाई माफी दिई मानिसमा रहेको पाप स्वाभावको अन्त्य गर्ने सुरुवात गर्नु भयो र हामीलाई बाइबलको माध्यमद्वारा यही शिक्षा दिनु भयो ! धन्यवाद मेरी जीवनसाथी सुनितालाई किनकी उनले जिन्दगीमा हासिल गरेको शिक्षालाई व्यवहारमा लागु गरिन् ! धन्यबाद ती सारा असल मानिसहरुलाई जसले मलाई सुमार्गमा हिड्नलाई सहयोग र प्रेरित गरिरहनुभयो ! “

तालीले सारा मण्डली भवन नै गुन्जियो , हर्षले मेरो आँखामा आँसु छचल्किरहेको थियो ! साँच्चै भन्नु पर्दा विजयले मात्र होइन पाँच वर्ष पश्चात हाम्रो दाम्पत्य जीवनले नयाँ जीबन पाएको थियो ! धन्यबाद परमेश्वर पितालाई जो वहाँले मलाई पवित्र प्रेम गर्ने धैर्यशील मन दिनुभयो र असलकर्म गरेर नथाक्ने शिक्षा संगति दिनुभयो ! जमाना चाहे जतिसुकै आधुनिक बनोस तर हरेकको मनमा धार्मिक भय हुनु जरुरी छ किनकी धार्मिक भय मानिसमा भयो भने खराब कर्म गर्नदेखि डराउँछ र असल कर्म गर्नमा अग्रसर बन्दछ !

कुश्मा , पर्वत
हाल इजरयल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.