~अतित मुखिया~
धेरै देखे मैले
सभ्यताको पोखरीमा पौडिरहेका
असभ्य अनुहारहरु ।
शिष्टाचारको पासो थापेर
दुरव्यवहारका लोप्पा खुवाउने,
अशिष्ट भलाज्मीहरु ।
यसैले आजकल मनोकांक्षाका झिरहरुमा
भावनाका शील उन्दै
मनको भुङगरोमा सेकुवा सेक्ने गर्छु
इक्षाका सितन चाट्दै
उमेरका बोत्तल रित्याउने गर्छु
तिमी मलाई मतवाली भन या जे भन
मलाई कोखामा दारा पाल्नु छैन ।
ईश्वरलाई पनि
तं सम्वोधन गर्ने मेरो मातृभाषा
अतिशिष्टाचार जान्दिनम
नौनी ओंठले चेपारो साटेर
छेपारो रंगफेर्न जान्दिन म
वरु मैले भेटेको छु
मर्यदा भङग गरेर निर्धाहरुलाई
मर्यदाकै पुराण सुनाउने पंडितहरु
हैसियतको च्यााखे थापेर निमुखाहरुलाई
औकातको मारहान्ने महामहिमहरु ।
यीनै पीडाका स्वरहरु बटुलेर
खोक्रो पेटको सारंगी रेट्दै
माटोको बेथा गाउने गर्छु
तिमी मलाई गाइने ठान वा जे ठान
मलाई भेदभावको जनै भिर्नु छैन
परपीडक भएर कहीं कतै
कसैलाई पनि पिरनु छैन ।
बैकल्पिक परिभषा बाधेर
मिथ्या अर्थ अर्थाउनु छैन मलाई
नरो वा कुञ्जरो… भन्दै
युदिष्ठिर सत्य बोल्नु छैन मलाई
बाङगोलाई बाङगै भन्छु
चाहे सरकारको आखा फुटोस…
वा
मेरै गर्दन चिलावोस
स्वघोशित ख्वामितहरु
सोझो मान्छेको चेप्टो कुरा ।