~उदय निरौला~
कहिलेकाहीँ त लाग्छ
यात्रा अविरल नबगेर कहीँ कतै टुङ्गियोस्
साक्षी बनेको छु यद्यपि
यात्रामा पात झर्छ
यात्रामा पात मर्छ
र पुनः पुनः पलाउँछ
पुनः झर्छ मर्छ
र पुनः पलाउँछ ।
लाग्छ ! घाम उदाएपछि पुनः नअस्ताओस्
फूल फुलेपछि पुनः नमुर्झाओस्
तर
अर्काे बिहानै पुनः त्यो फूल फ्यात्त खस्छ
कुन भाषाले पुकारुँ म !
कि संसारमा जबकि त्यो अभिव्यक्तिको भाषै छैन
फेरि नआइदिओस् त्यो घाम
फेरि नफुलिदिओस् त्यो फूल
चाहुरी रङ्गिएका गालाहरु छाम्दै गरेकी
त्यो विगत युवती
कुनै गोरेटो भेट्दिन पुनः फर्कन यौवनमा
कुनै पफ्र्युम भेट्दिन पुनः फर्काउन युवा बासना
तै पनि ब्युटिपार्लर छिर्छे
र ऐनामा पटकपटक
आफूलाई लिप्छे, पोत्छे
तर फर्कन्न वसन्त
फर्कन्न बैँस
लखतरान फर्कन्छे त्यहाँबाट – चाहुरी बोकेरै ।
गएपछि गयो ! गयो !
हिँडेपछि हिँड्यो ! हिँड्यो !
अविराम यात्रामा
बदल्नै सक्तैन विज्ञान
त्यो इतिहास
त्यो भूगोल
तै पनि विज्ञान–
अन्तरिक्षमा भ¥याङ हालिरहेकै छ
थाक्दै नथाकेझैँ लाग्ने यो यात्रा
म
यद्यपि विश्वामित्रलाई सम्झिरहेछु
आइन्सटाइनलाई नियालिरहेछु
नियाल्दानियाल्दै यस्तो लाग्छ
मध्याह्नको बँैसालु घाम
त्यहीँ अड्किरहोस्
यात्रा–स्थगित भएर त्यहीँ कतै
अड्किरहोस् ।
(स्रोत : अङ्क ३, २०६७ फागुन, गरिमा)