~महेश भट्टराई~
हाम्रो जीवनका हरेक दिन कुनै न कुनै घटना घटिरहेकै हुन्छन् । यस्ता घटना कुनै रमाइला र कुनै नरमाइला हुन्छन् । घटना रमाइलो वा नरमाइलो जस्तो सुकै भए पनि हामीले चाहेमा त्यसबाट कुनै न कुनै शिक्षा लिन सकिने रहेछ भन्ने मेरो अनुभव छ । यस्तै घटना मध्ये एउटा सानो घटना यहाँ उल्लेख गर्न लागेको छु ।
त्यसबेला म भी.एस. निकेतनमा कक्षा ६ मा पढ्थें । मैले गठ्ठाघरबाट स्कूल बस चढ्नु पथ्र्यो । आजकल त भी.एस.निकेतनले गठ्ठाघरको रुटमा २ वटा स्कूल बस पठाउँछ । तर त्यसबेला एउटा मात्र बस पठाउँथ्यो र बसमा असाध्यै भीड हुन्थ्यो सीट पाउन हाम्रो उछिनापाछिन हुन्थ्यो । कसैले बस्न पाउथे, कसैले उभिएरै स्कुल पुग्नु पथ्र्यो ।
एकदिनको कुरो हो । सदा झैं बस आइपुगेपछि म ठेलमठेल गर्दै बस चढे । सन्जोगले सीट भेटेकोले बसें र बहिनी तनुजालाई पनि बसाएँ तर म भन्दा पछि चढेका अरु साथीहरुले सीट पाउन सकेका थिएनन् । मसँगै बस चढ्नेमा म भन्दा अलिक ठूलो कक्षामा पढ्ने एकजना दिदी र उहाँको सानो भाइ पनि थिए । दिदीले त जसोतसो गरेर सीट पाइहाल्नु भयो तर उहाँको सानो भाइले भने सीट पाएन । तव दिदीले मलाई भन्नुभयो “ए महेश तिम्रो सीट मेरो भाइलाई छाडिदेऊ त ।”
“बल्ल बल्ल पाएको सीट म किन छोड्ने ? म त छोड्दिन ।”
“छाड्देऊ न छाड्देऊ, ऊ तिमी भन्दा सानो छ नि ।”
“त्यो त हो, तपाइको भाइ सानै छ, तर तपाई आफैं उठेर उसलाई आफ्नो सीटमा बसाउनु न त ।”
“छाड्देऊ न छाड्देऊ के लामो कुरा गरेको त्यै जावो सीटमा पनि ।”
“म त छाड्दिन । आस नगरे हुन्छ, तपाईले काखमा बसाएर लगे पनि हुन्छ” मैले भनें ।
मैले सीट नछाड्ने पक्का भएपछि ती दिदीलाई के झोक चलेछ कुनि दिदीले अचानक मलाई बेस्सरी कराउँदै “बाँदर” भन्नुभयो । त्यो सुनेपछि बसभित्रका सबै केटाकेटीहरु गलल्ल हाँसे । मलाई चाहि आफू साह«ै अपमानित भएको महशुस भयो । अनि के गरुँ कसो गरुँ जस्तो छटपटी भयो । दिदीले फेरि दोहो¥याउँदै तेह¥याउँदै “बाँदर, बाँदर” भनिरहनु भयो । मलाई झनक्क रिस त उठ्यो तर तत्काल जवाफमा के भन्ने केही आएन, केही सेकेण्ड अल्मलिएँ ।
दिदी हेर्दा राम्री हुनुहुन्थ्यो । अनि त्यहाँ भएका हामी सबै मध्ये सबै भन्दा मोटी हुनुहुन्थ्यो । तत्कालै मलाई चाहेजस्तै शव्द फुरिहाल्यो । अनि मैले पनि बस थर्कने गरी “हिप्पो, थ्री इन् वान हिप्पो” भनेर कराएँ । मेरो शव्द चयन सायद आकर्षक भएर होला बसका सबजना बसै थर्कने गरी गलल्ल हाँसे । म अझै उत्साहित भएँ अनि झन् ठूलो स्वरमा कराएँ “हिप्पो, थ्री इन् वान हिप्पो” पनि आज स्कूलबसमा चढेछ । सीट भाँच्चेला है साथी हा,े होस् गर । टायर पन्चर हुन पनि के बेर”।
मेरो कुराले साथीहरुमात्र होइन ड्राइभर अंकल र गाडीको सहयोगी दाइ पनि पेट मिचीमिची हाँस्न थाले । ती दिदीलाई मेरो कुराले साह«ै मर्म परेछ क्यार केही नबोली निलीकाली हुँदै घोसे मुन्टो लगाउनु भयो । आफ्नो जीत भएको ठानी म दंग परें र आफूलाई त्यस दिनको हिरो सम्झें ।
ती दिदी मीनभवनको भी.एस. स्कूलमा ओर्लिनुभयो । म थापाथलीको भी.एस. स्कूल तर्फ लागें । क्लासमा पुगेपछि पनि त्यो घटनालाई मैले खुव फुर्कदैं सबै साथीहरुलाई सुनाएँ । साथीहरु पनि पेट मिचीमिची हाँसे । ठूलो पुरुषार्थ गरेछु. भन्ने ठानी मेरो भूँइमा खुट्टा थिएन । अब कतिबेला घर पुगेर बाबा आमालाई आफ्नो पुरुषार्थ सुनाउनु हो भन्दै म हतारिन थालें ।
बेलुका घर आएपछि मैले खित्खित् हाँस्दै बाबा आमालाई त्यो घटना सुनाएँ । मैले ठानेको थिएँ मेरो कुराले बाबा आमा पनि खुव हाँस्नु हुनेछ तर अँहँ, यहाँ त नतिजा उल्टो पो निस्कियो । हाँस्नको साटो उहाँहरु स्तव्ध र गम्भीर पो हुनुभयो । अनि मैले सोधें “मेरो कुराले हजुरहरुलाई हाँस उठेन ?”
“छोरा तैंले आज राम्रो काम गरिनस्” आमाले भन्नुभयो ।
“किन र ? ति दिदीले मलाई बाँदर भनेपछि मैले हिप्पो भनेर के विराएँ ? इटाको जवाफ ढुंगाले दिने त हो नि” मैले भनें ।
“अर्कालाई “हिप्पो, थ्री इन् वान हिप्पो” भनेर गाली बेइजती गर्नु पनि राम्रो कुरो हो त ?” बाबाले भन्नु भयो ।
“ती दिदीले मलाई बाँदर भनेको कहाँ जाओस् त” मैले भनें ।
“कसैले आफूलाई अप्रिय कुरो भन्यो भने आफूले पनि त्यही स्तरमा झर्ने होइन । मर्यादित र शीष्ट भाषामा पो त्यसको प्रतिकार गर्नुपर्छ त, कुकुरले आफ्नो खुट्टामा टोक्यो भने त्यो कुकुरलाई आफूले पनि टोक्ने हो र ?” बाबाले भन्नुभयो । “हजुरहरुले जे भने पनि मैले त जस्तालाई तस्तै जवाफ दिएको मात्रै हो । त्यसो गर्दा मेरो के गल्ती भयो र ?”
“ठूलो गल्ती भयो छोरा, हामीले जोसँग पनि मर्यादित ढंगमा प्रस्तुत हुन सिक्नु पर्छ । तँलाई ती दिदीले भनेको भन्दा उनलाई तैंले धेरै कठोर शव्द प्रयोग गरेर उनको चित्त दुखाइस् । यो राम्रो भएन” बाबाले भन्नुभयो ।
“कसरी ?” मैले सोधें ।
“कुनै पनि मानिसको शारीरिक बनावटको बारेमा नकारात्मक कुरा भन्यो भने उसलाई साह«ै चित्त दुख्छ । संसारमा कोही मानिस पनि एकनासको हुँदैन सबै मानिस फरक फरक हुन्छन् र हरेकमा शारीरिकरुपमा कुनै न कुनै खोट रहेकै हुन्छ । कोही दुव्ला, कोही मोटा, कोही होचा, कोही अग्ला, कोही राम्रा, कोही नराम्रा, कोही रोगी, कोही स्वस्थ, कोही सद्धे, कोही अपांग, कोही बाठा, कोही सोझा हुन्छन् । यो उनीहरुको बसको कुरो होइन । प्रकृतिले नै त्यस्तो बनाइदिएको हो । यस्ता कुरामा अरुले खिल्ली उडाउँदा साह«ै चित्त दुख्छ । अरुको चित्त दखाउनु राम्रो होइन, त्यो अमानवीय व्यवहार हो । त्यसैले अबदेखि यस्ता कुरामा खुब विचार पु¥याउनु ।” बाबाले भन्नुभयो ।
कुरो सुनेपछि मलाई पनि भित्रै देखि पछुतो लाग्यो । ती दिदीको चित्त दुखाएकोमा ग्लानि पनि भयो । मैले भनें “अब के गर्नु त नभन्नु भनिहालियो ”
“भोलि ती दिदीलाई भेटेपछि दिदी हिजोको कुरामा माइण्ड नगर्नु ल भनेर माफ माग् ।” बाबाले भन्नुभयो ।
भोलिपल्ट सदाझैं म बस स्टपमा पुग्दा ती दिदी पनि त्यहीं हुनुहुन्थ्यो । उहाँले मलाई देखेको नदेख्यै गर्नुभयो । मेरो बिचारमा वहाँको साँच्चै चित्त दुखेको थियो । बाबाले भनेजस्तो माफ माग्न मैले प्रयास गरी हेरें तर मुखै लागेन । माफ माग्ने काम साँच्चै गाह«ो हुनेरहेछ । मेरो मनले त माफ मागिरहेको थियो तर मुखले पटक्कै माफ माग्न सकेन । त्यो कुराले मेरो मन भारी भयो । जे भए पनि अबदेखि कसैको चित्त दुख्ने. बोली बचन गर्नेछुइन भनी मैले मनमनै प्रतीज्ञा गरें । मैले ती दिदीसँग बचनले त माफ माग्न सकिन, अहिले यसै कथाबाट माफ माग्दछु ।
– महेश भट्टराई कक्षा ८ भीएस् निकेतन, थापाथली
(सत्य घटनामा आधारित कथा)
(स्रोत : केटाकेटीअनलाईन डट कम)