~शोभा न्यौपाने~
वन-पाखामा दाउरा-सोत्तर गर्दै
चुलो-चम्को पानी-पँधेरोसँगै
जीन्दगीका उतारचढाप हेरेर
आधा जीवन गुजारेकी मेरी आमा
सानी छोरी – मलाई काखमा सुताएर
हरेक रात दन्त्य कथा सुनाउने गर्थिन्
त्यस्ता कहानीहरु जसले मलाई
एक रँगिलो संसारमा पुर्याउँथ्यो
जहाँ सुनकेशरी मैयाँको केश बगाउँथ्यो
अनि उनकै दाजुले भेट्दा
विवाहको प्रस्ताव आउँथ्यो
अनि सानो भाइ बाहेक कुलकै नष्ट हुन्थ्यो
फेरि सुनकेशरी चोरिन्थीन्………………।
आमा भन्दै जानुहुन्थ्यो र म सोचिरहन्थें
के साँच्चै यस्तै होला त ?
मेरो जिज्ञासा बढ्दै जान्छ
र साथसाथै उमेर पनी
खेतमा डल्ला फोर्दा फोर्दै
खोरियामा पत्कर सोर्दा सोर्दै
म आफुभित्र एकमुठी उत्सुकता संगाल्छु
अनि हण्डर र सास्तीसँगै बाँचेकी
आफ्नी आमाको अनुहार नियाल्छु
मुजैमुजा परेको उनको मुहारमा
उनले भोगेका पीडाहरु गाँठो परेका छन्
दाँतसँगै हाँस्ने उनका प्रयत्नहरु त झरिसके
तर भित्र पसेका आँखाहरुमा भने
अझै पनि आँसुका बलिन्द्र धारा छन्
सायद उमेरमा संगालेकी होलिन्
अहिले फुस्रदमा रुनलाई
तर राख्दा राख्दै सायद
आँसु पनि सुटुक्क साटिएछ
त्यसैले उनी अतितका लागी रोएकी छैनन्
रुन्छिन् त सिर्फ वर्तमानका लािग
अथवा मेरो भविष्यको खातिर
आफ्ना व्यथा त खोकिलामा हालेर
पोल्टाको खाजासँगै मर्याँग मर्याँग चपाईसकिन्
त्यसैले उनी अरुका लागी व्यथित् छिन्
उनको मुटुमा सधैं देश चस्किरहन्छ
र उनी सुनकेशरी मैयाँका लागि रुन्छिन्
उही सुनकेशरी जो आफ्नैबाट पिडित थिईन्
सम्भवतः यसैले
उनका आँशुमा यर्थाथ झल्किन्छ
जुन यर्थाथमा सुनकेशरी मैयाँ भिजेकी छ
र जो स्वयं मेरी आमा झैं सत्य छ
त्यसैले आजकल मलाई लागिरहन्छ
एउटा यर्थाथ हो सुनकेशरी
र सुनकेशरी एउटा यर्थाथ !
(स्रोत : रचनाकारको कविता संग्रह “सुनकेशरी मैयाँ” बाट सभार)