~प्रणिका कोयु~
“प्रणिका, उमेर भयो त!
डाँडा काट्दैछ है वैंशले
लौ तिमी पनि”
यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु
हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि
छैन हो बिहे गर्ने रहर मलाई,
अँ सोच्दैछु,
गरौंला नि, के छ र हतार
“एक्ली हुन्छौ है बुढेशकालमा
सहारा चाहिन्छ
साथ चाहिन्छ”
प्रत्युत्तरमा म उसलाई हेर्छु र भन्छु
अँ हुँदिन होला
उ छ त जसले सारा रंगहरूमा देखेको छ मलाई
जसले सारा भावमा भोगेको छ मलाई
मेरो माया अनि घृणा
मेरो विश्वास अनि छल
सबै सबै झेल्ने मान्छे छ त हो मेरो!
“तिमीहरू दुई छिटो विहा गर त!”
यो व्यक्तिले बुझ्दैन शायद कि कति डर छ मभित्र
कि कतै विहाले मेरो मान्छेलाई बनाईदेला मैले देखेका पत्निका पति
या कतै मलाईनै पो बनाईदेला मैले देखेका पतिका पत्नि
त्यसैले, त्यसैले केएएएएएए म
माया गरे नि उसलाई म उसकी पत्नि हुन चाहन्न
बिहा शब्दको तन्ना तन्काउने इच्छा हामी दुवैलाई छैन
“अनि आमा बन्नुपर्दैन?”
झस्कन्छु त म यस्ता प्रश्न सुन्दा
त्यत्तिखेर बढो गर्हुगों लाग्छ मलाई मातृत्वको आशा र त्यसमा गाँसिदिएको मेरो परिभाषा
तैपनि हाँस्छु र भन्छु नानीहरू मन परे पनि म आमा हुन चाहन्न
किन?
किन नि अब, मेरी नानी छोरी जन्मे
म डरैले, त्रासैले मर्थे होली
उ कहाँ छे, के गर्दैछे सोच्दैनै म यहीं वा कहीं जरा गार्थें होली
के गर्ने समय यस्तै छ, कति जुझ्नु?
अनि त्यही अनन्त समयका प्रश्नहरूसँग जुझाउनकै लागि मात्र किन अर्को जिन्दगी ल्याउँ?
त्यो जिन्दगी जसले प्रत्येक पाइलामा आफ्नो परिभाषा अरूसित सोध्नुपर्छ
छोरा?
अँ हो जन्मन त छोरा जन्मन सक्छ तर म नहोस् भन्छु
किन?
के किन?
सुनेका छैनौ कि के हो तिमीले
“तिम्रा छोरालाई असल मान्छे हुन सिकाउ” भन्ने आवाजहरू?
आज ति आवाज अरूका घरमा छन्
लावालश्कर लिएर ती भोली मेरो आँगनमा ठडिए भने
त्यो मेरो छोरो त मेरो घाँटीको गलपासो बन्छ नि हो
“तिमी हाम्रो समाजको लागि अलि नसुहाउने हो कि?”
सोर्ह श्रृंगार सबैमा राम्रो कहाँ देखिन्छ र हजूर
फेरी मलाई यो सबदेखी वितृष्णा छ
पोत्न सक्दिन है लालि कहीं कसैको नजरमा राम्री देखिन
“अनि यसरी नै बस्ने त?
के गर्छौ हो तिमी भोली-पर्सी चिन्तै लाग्छ”
हेर्दै जाउ न के गर्छु तर त्यही कुरा चाहीं गर्दिन शायद
तिम्रो अगाडी हात पसार्दिन
तिमीले सुझाएझै विहा गर्दिन
तिमीले भनेझैं आमा बन्दिन
तिमीले जस्तै अरूको लागि आफ्नो सोच मार्दिन!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)