~अरुणबहादुर खत्री “नदी”~
नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको सूत्रमाला नामक शास्त्रीय सूत्रसहित शास्त्रीय वहरकै गजल सङ्ग्रह २०६३ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँच्न इच्छा हुँदा, पढी सूत्रमाला, तेजिलो जिन्दगी, पियारो, नुवाकोटे जिन्दगीमा लगायत विभिन्न शीर्षकका ६५ वटा गजलहरु राखिएका छन् । यस कृतिभित्रको पहिलो गजल बाँच्न इच्छा हुँदा शीर्षकभित्र बाँच्न इच्छा हुँदा देशको शानमा ज्यान फ्याक्न तयारी छु सम्मानमा भनिएको छ । २०६१ सालमा गजलपथका यात्रीहरु -गजलसङ्ग्रह) संयुक्तलेखन पहिलो कृतिको रुपमा गोर्खे साइँलोले प्रकाशित गरेका थिए ।
उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् ।
गजलका सेरहरुमा मुक्तकीय प्रभाव दिन सक्नुपर्छ । लय, छन्द, यति, गतिमा धेरै अल्मलिनु, दौडिनु, कुद्नू र फाल हाल्नु अनि मात्र टाढासम्मको यात्रामा हिँड्न सकिने छ । कृतिगत रुपमा गोर्खे साइँलोको पहिलो प्रकाशन सम्मोहन नामको गजलसङ्ग्रह हो । जसको प्रकाशन २०६२ सालमा भएको थियो । त्यसपछि सूत्रसहित शास्त्रीय वहरमा आधारित मुस्कान गजलसङ्ग्रह २०६२ सालमा नै प्रकाशित भएको थियो । साहित्यिक यात्रामा उनले २०२२ सालमा शान्ति शिक्षा मन्दिर साउनेपाटी, काठमाडौंमा विद्यार्थीको दुःख भन्ने कवितामा प्रथम पुरस्कृत भएर प्रवेश गरेका हुन् । उनको वास्तविक नाम ऋषिप्रसाद लामिछाने हो । नजानी-नजानी बसाएँ गृहस्थी, दिवानी दिलैले चलाए गृहस्थी उनको गजलले बोलेको छ । कृतिकार गोर्खे साइँलोले आफूभन्दा पछाडिका गजलप्यासी अनुजहरुलाई गजल लेखन कार्यमा सजिलो होस् र सबैले वहरमा गजल रचना गर्न सकुन् भन्ने सहृयता राखी सूत्रमाला -वहरबद्ध गजलसङ्ग्रह) रचना गरेको देखिन्छ । गजल भनेको गायन विधा भएकोले वहरमा लेखिनु साह्रै राम्रो मानिन्छ । नुवाकोटे उकालीमा शीर्षकको गजलभित्र हराएझैं सुगन्धित् बासमा मनको खडेरीमा बिनाकामै तिमी हाँस्दा डराउँथ्यो अरे गोर्खे भनिएको छ ।
नुवाकोटे उकालीमा हराउँथ्यो अरे गोर्खे
जमानामा मलाई नै चराउँथ्यो अरे गोर्खे ।
आफूले भोगेको र देखेको समयलाई आफ्नो चेतना तथा अनुभवले महसुस गर्ने र त्यसको सजीव तस्बिर उतार्ने प्रयासको उपज हो यो सूत्रमाला गजलसङ्ग्रह । यसभित्रका गजलहरुले कही कतै कसैको मन छोयो भने त्यही नै पर्याप्त हुन्छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रति माया र ममता राख्ने साहित्यकार गोर्खे साइँलो वस्तुत मोतीराम भट्टकै अनुयायी हुन् । कवि, कृतिभरि शृङ्गाररसमै पोखिएका छन् । कृतित्वको अध्ययनले के देखाउँछ भने उनको सिर्जनामा आधारभूमि शृङ्गार नै हो । शृङ्गाररसको प्राचीनताको इतिहासलाई कोट्याउँदा उपनिषद्मा पुग्नुपर्दछ ।
गोर्खे साइँलोका गजल भने अधिकांश कोमल भावका नै छन् । यिनका गजलमा जिन्दगीका विवशता, उमङ्ग-उत्साह, उपदेश पनि रहेका छन् । केही गजलले सूक्ष्य व्यङ्ग्य धारणा पनि गरेका छन् । गजलमा प्रशस्तै नीतिनियमहरु पालना गरेको हुनुपर्छ । कस्तै वरिष्ठ भनाउँदाका गजलमा पनि संरचनात्मक गल्तीहरु भेटिन्छन् । गजल संरचनाका सूक्ष्मभन्दा सूक्ष्म कुराहरुसँग परिचित हुँदै साधनारत भइरहेमा हामी गजलकार गोर्खेबाट सशक्त गजलहरु निश्चित रुपमा प्राप्त गर्नेछौं । उनका गजलमा प्रेमका लागि आफ्ना सारा कुरा बलिदान दिन सक्नु नै वास्तविक अर्थमा प्रेम हो भन्ने कुरा समेत बोलेको छ ।
चाहजस्तै साथ पाएँ लाज थोरै लागिरा’छ
प्यारभित्रै नाज दिने प्रेम माया ताकिरा’छ
नेपाली साहित्यमा गजल पचासको दशकदेखि निकै गरमा गरमको विषय बनेको छ । गजलका मञ्चहरु निकै सशक्त छन् । आज नयाँ पुस्ताका लेखकहरुको जन्म गजल विधाबाट हुन थालेको छ । गजलको सुरुवात श्रृङ्गारिकताबाट सुरु भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्दछ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिविम्वित हुनुपर्छ । जीवनका अनुभूतिहरु प्रेम विछोडका समसामयिक घटनाक्रमहरुलाई गजल लेखेर गोर्खे साइँलोले चित्रण गरेका छन् । गजल लेखनको मेल यतिखेर मेची-महाकालीसम्म मात्र नभएर विदेशिएका नेपालीहरुले समेत चुर्लुम्म डुबेर सन्तोषका सुस्केराहरु पस्किएर आनन्दको अनुभूति गरिरहेका छन् । गजलको प्रयोग फारसी, अरबी र उर्दू हुँदै हिन्दीमा आएर समृद्धितर्फउन्मुख भएको छ । फारसी वा उर्दूमा गजलले उच्च स्थान बनायो । हिन्दी जगत्मा पनि गजल निकै चम्कियो । गोर्खेका गजलहरुले समाज, देश, आफू, प्रेम, प्रणय, वियोग आदिलाई समेटेका भए पनि बढी मात्रामा मन नै छचल्किएको छ । हृदयपक्ष सवल भएर गजलमा गुनगुनाइरहेको देखिन्छ । तथापि उनका गजलहरुले जीवनका गहिरार्इ खोज्ने प्रयास गरेका छन् । जीवनको एउटा सपना, जीवनको एउटा कल्पना, जीवनको एउटा यात्रा प्रेमको अगाध गहिरो उपस्थितिमा रहोस् भन्ने आम मानवको चाहनाको गोर्खेले गजलद्वारा प्रस्तुत गरेका छन् –
नपाई दिलासा रुठेकी पियारी
अभावै नपारी जुटेकी पियारी ।
उनी गजलका विषयवस्तुमा व्यापकता छन् र आफूले प्रस्तुत गर्ने विषयमा स्पष्ट छन् । आफ्ना सोच बिचारमा स्पष्ट र दृढ देखिने यी गजलकारले आफ्नो भन्नुलाई सोझो बाङ्गो किसिमले व्यक्त गरेका छन् । उनको यो लेखाईले नयाँ पुस्ताका लेखकहरुलाई गजल लेख्ने ठूलो हौसला अवश्य मिल्न सक्दछ भन्ने अपेक्षा गरेको छु । यस सङ्ग्रहको साथमा गजलकार गोर्खे साइँलोको गजल भण्डारमा ठूलो फलदायक मिल्नेछ ।
प्रकाशकः पल्लव साहित्य प्रतिष्ठान, नारायणगढ, चितवन ।
प्रकाशन मितिः २०६३ साल सामाखुसी मार्ग, ९३५/५४,
पृष्ठः ६८ काठमाडौं
मूल्यः रु.७५।-
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )