~कृष्णप्रसाद पराजुली~
बल्लतल्ल मादल बज्यो घरको आँगनीमा
जाने मन छैन परदेश अब मगनीमा
जीवन खेर जाँदो रै’ छ छैन भने आड
एक सर्को पिङ खेल्दा नाच्छ चाडबाड
असार-मङ्सिर धान रोपूँ, दाइँ हालूँजस्तो
लेकमा फुल्छ लालीगुराँस आफैँ फुलूँजस्तो
नयाँ खुसी डाकिदिऊँ मनको ढुकढुकीमा
बल्लतल्ल मादल बज्यो घरको आँगनीमा
सानो-सानो छाप्रो होओस् सजाउनै पर्छ
नानीलाई उज्यालोमा जगाउनै पर्छ
पसिना र रगतको मोल काहीँ हुन्न
मोती आफैँ टिप्नुपर्छ ल्याई कोही दिन्न
पानी सुक्न दिनु हुन्न कोसी-गण्डकीमा
बल्लतल्ल मादल बज्यो घरको आँगनीमा
(स्रोत : युवामञ्च २०६६ मंसिर)