आज शहरमा
हल्लीखल्ली छ चारैतिर
भेला छ बैठक छ
तालिम छ र गोष्ठी पनि छ
सदियौं पुराना अवशेषहरु मेटाउन
आत्मसम्मान र स्वाभिमानको जग बसाल्न
गाउँ–गाउँमा अन्तक्र्रिया छ
ठाउँ–ठाउँमा सभा पनि छ ।
कतै बहस छ नयाँ विचारको
कतै पैरवी छ नयाँ व्यवहारको
कतै खबरदारी छ आफ्नो पहिचानको
अनि फेरि
कतै हातेमालो छ नयाँ सहकार्यको ।
आज शहरमा
जोश छ, जाँगर छ
आधा आकाश उन्मुक्तिको परिकल्पनामा छ
आधा धर्ती स्वतन्त्रताको बहारमा छ
ओहो अचम्मै छ !
आधा संसार समानताको अभियानमा छ ।
किन पाउँदैनौं हामी
समान कामको समान ज्याला
किन भोग्नु परिरहेछ
हुँदै नभएका झुट्ठा आरोपहरु
किन सहनुपर्छ हँ
स्वाभिमानमाथिका अपमानहरु
किन व्यहोर्नुपर्छ सधैं
असंख्य पीडाका घाउहरु ।
किन हाँस्नुपर्छ
अन्तरमन दुखाएर
किन बाँच्नुपर्छ हामीले
सिंगो मानिस हुनुको अस्तित्व लुकाएर ।
हो, यिनै र यस्तै–यस्तै
अनगिन्ती यक्ष प्रश्नहरुको
जवाफ खोजिरहेछौं हामी
खोजिरह््यौं–खोजिरह््यौं
र, खोजिरहेछौं आज पनि
तर, भेटिएको छैन जवाफ
यी अनुत्तरित प्रश्नहरुको ।
यता शहरमा हामी खोजिरहेछौं जवाफ
हामी खोजिरहेछौं अस्तित्वको पहिचान
हामी गरिरहेछौं
उपलब्धि र चुनौतीको समग्र लेखाजोखा ।
यतै कतै सहरमा
ज्यालामा ठगिएकै छन् फूलमतिहरु
घरमा कुटिएकै छन् फातिमाहरु
रोइरहेछन् निर्दोष आत्माहरु
सहरका चोक, गल्ली र कोठीहरुमा निसास्सिदै
अनमोल जीवनका एक–एक पलहरु
विवशतामा गुजार्दैछन् फूलमायाहरु ।
सधैंजसो नै शहरमा
हलचल छ समानता र स्वाधीनताको लागि
बहस छ विचारको,
सभा छ र भइरहेछन् गोष्ठीहरु
रमाइलो छ… र लाग्छ अब
छिट्टै केही हुनेवाला छ ।
तर, सहरको बीच सडकबाट
टाढा–टाढा हुँदै गइरहेको
मान्छेहरुको विशाल जुलुस
निर्मिमेष नियालिरहिछे
हातमा इँट्टा समातेकी मजदूर फूलमाया
र… दङ्दास छे फूलमाया
ओहो किन यतिबिघ्न चिच्याइरहेछन् उनीहरु
के–के जाती मागिरहेछन्… कोसँग
बुझ्न खोजेर पनि केही बुझ्न नसकेर
अलमल्ल छे फूलमाया ।
–२०६८ फागुन २४, दाङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)