~त्रिभुवनचन्द्र वाग्ले~
जताततै पानीपानी पिउने थोपा छैन पानी ।
पूर्णकलश दाहिने पारी
आफ्नो समुद्री यात्रा सुरुगरें
मैले बिर्सिएको छैन काँधमा पानीको तुम्लेट बोक्न
अँ, यो जल–यात्रा हो
र त पिउने पानी लैजान बिर्सन हुन्न
हामी पानीमा बग्छौं
यद्यपि प्यासले सुक्छौं
मैले तुम्लेटमा पानी बोकेको छु
र त त्यसमा कहिलेकहिं समुद्रको गर्व छचल्कन्छ
(ममा तुम्लेट बोक्दा समुद्र उचाल्दाको अनुभूति छ)
टोलछेउका छिमेकी गृहिणीहरू
पँधेरामा प्यासका कुरा गर्छन्
रित्ता गाग्राका लाइनबाट उठेर थोत्रा ट्रान्जिस्टर झैं
प्यारीहरू मैले तिम्रा आँखीडिलबाट
बहेको गङ्गा पिउन हुन्न
जताततै पानीपानी पिउने थोपा छैन पानी
स्वयं त्यो गङ्गा अतृप्त प्यासी छ
र त म समुद्री यात्रामा निस्कँदा
काँधमा पानीको तुम्लेट बोक्छु
प्यारीहरूको हार्दिक आँसु
नुनिलो समुद्रको विशाल जलराशी
दुबैलाई म आत्मीय प्यार गर्छु
आस्वादन होइन
सङ्क्षेपमा–
यी मेरा तुम्लेट बन्न सक्दैनन्
जसलाई खोलेर प्यास मेटाउँ ।
“हाम्रो देश पानीको देश”–
निबन्ध प्रतियोगितामा छिमेकी ठिटो प्रथम हुन्छ
म उसलाई हार्दिक बधाई दिनुअघि
एउटा जुलुस स्मरण गर्न सप्रेम आग्रह गर्छु
जुन गाग्राको रिक्तताबाट निस्कन्छ र
गृहिणीबीच मडारिन्छ,
आखिर अभाव बाँड्नु नै छ
आऊ हामी एउटा मिलापत्र कोरौं
कि,
तिमीले एक अञ्जुली आँसु दिँदा
मैले समुद्रको एक अञ्जुली नुनिलो पानी दिउँ
ता कि यसबाट हामी
आपस्तमा प्यास मेटाउने प्रयास गरौं
जस्तो कि, छिमेकी ठिटो
पानीको निबन्ध प्रतियोगितामा प्रथम भएर
प्यास बिर्सने प्रयत्न गर्दैछ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )