~विनोदविक्रम केसी~
डेन्जर जोनमा हुनुहुन्छ तपाईं
र, खेलिरहनुभएको छ क्यान्डी क्रस
यो असाध्यै खतरनाक कुरो हो
चौतर्फी घेराबन्दीमा हुनुहुन्छ
समुद्रपारिको डोनाल्ड ट्रम्प र टोलको गुन्डा
राष्ट्रवादको प्रेत र मुकुटको पिशाच
माफियाजस्तो सरकार र सरकारजस्तो माफिया
कर्पाेरेट कल्चर र आदिम लुटशास्त्र
चड्का आइटम डान्स र हल्काफुल्का कमेडी
विषाक्त तरकारी र जीवनद्वेषी विचार
सबै सबैले घेरेका छन् तपाईंलाई
एउटै जुनीमा तपाईंलाई सयौ“ चोटि मार्न
उद्यत छन् तिनका अस्त्रहरू
यस्तो भयानक डेन्जर जोनमा हुनुहुन्छ र पनि
तपाईं क्यान्डी क्रस खेलिरहनुभएको छ
यो असाध्यै खतरनाक कुरो हो
जीवनमा के–के गर्नुभो तपाईंले ?
अध्ययन गर्नुभो
प्रेम गर्नुभो
घुमफिर गर्नुभो
मोजमस्ती गर्नुभो
सबै कुरा गर्नुभो
तर, आफ्नो हिस्साको राजनीति गर्नुभएन
यो असाध्यै खतरनाक कुरो हो
तपाईंको हातबाट खसेको स्वस्तिक चिन्ह
र तपाईंको पेरुंगोजस्तो पेट बोकेर
तपाईंको हिस्साको राजनीति गर्न
संसद् छिरेको मान्छे
भर्खरै
या“ मानको भु“डी ढल्काउ“दै
ब्रिफकेस बोकेर बाहिरिएको छ
त्यसको बाटो छेक्न छोडेर
तपाईं क्यान्डी क्रस खेलिरहनुभएको छ
यो असाध्यै खतरनाक कुरो हो
आफ्नो भागको सोच्ने जिम्मा
जुन विद्वान्लाई सुम्पिनुभएको थियो
ऊ अहिले तपाईंको मगजमा प्रदूषण भर्न व्यस्त छ
यता टाउको डम्पिङ साइट भइसक्यो
उता मग्न हुनुहुन्छ तपाईं क्यान्डी क्रसमा
यो असाध्यै खतरनाक कुरो हो
आफ्ना तर्फबाट गर्नुपर्ने सवालहरू पनि
बुझाइदिनुभयो अरूलाई नै
अखबार, टीभी र रेडियो
कसैले उठाउनेवाला छैन तपाईंको जीवन–मरणको प्रश्न
त्यो लट्किरहेछ शून्यमा
र, तपाईं झुन्डिरहनुभएको छ क्यान्डी क्रसमा
यो असाध्यै खतरनाक कुरो हो
हुनुहुन्छ तपाईं यस्तो घातक डेन्जर जोनमा
तर, कुनै सुरक्षित इलाकामा भएजसरी
खेलिरहनुभएको छ क्यान्डी क्रस
यो असाध्यै खतरनाक कुरो हो ।