~मनु ब्राजाकी~
गुन गरी फर्किजाने तिम्रो हात रै’छ,
फुलेपछि झरिजाने पारिजात रै’छ ।
हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो,
काँढामाथि सजिएको फूलपात रै’छ ।
सूर्य रिसाएर हिँड्नेहरूलाई,
माया गरी फकाउने कालो रात रै’छ ।
छुटे इष्टमित्र सबै छुटे साथी-सङ्गी,
एक्लो छैन किनभने बाटो साथ रै’छ ।
बेनामी नै लेखिएछ यति धेरै चिठी,
मेचमाथि जिन्दगीको खातैखात रै’छ ।
तिर्थव्रत गर्दागर्दा बिर्सिएछौं ‘मनु’,
मदिराझैं पञ्चामृतको कडा मात रै’छ ।
-सैँबु, भैँसेपाटी, ललितपुर
वेस्टमिन्सटर, कोलोराडो, अमेरिका
(स्रोत : मधुपर्क)