~जयन्ती ‘स्पन्दन’~
सामञ्जस्यताको अभावमा
मेरा पुर्खाका आग्रहमा
अन्तरे,जन्तरे,लखन्तरे….र पानीमन्तरेपछि
मेरी आमा अझै पनि
छोरा,छोरा र छोराहरू नै
जन्माउन तम्सिरहिछन् हरबखत
खिया लागिसकेको गर्भाशयमा बोकेर
केवल एउटा अन्त्यपछिको अस्तित्वबोधका लागि।
मेरा बाबा अझै पनि
भोका र निवस्त्र आँखा लिएर
सुसमाचारका लागि
पिँढी कुरेर बसिरहेछन्
आमाको प्रसववेदनासँगै
छोरा,छोरा र छोराहरुकै
रहरका वर्षाहरूमा भिजेर।
केवल देखिरहेछु अतितदेखि
खोपीमा आमाका वेदनाले जन्माएका
बाबाका जीवन र जपनाले अन्माएका
हरबखत मेरा दाइ र भाइहरू नै
आमाकै लाम्टामा झुत्तिरहेछन् केवल
एक-अर्कामा ठुङ्दै र ढेस्सिदै
ऐतिहासिक शत्रुविरुद्ध उठ्ने निहुमा ।
देखिरहेछु,
ऐक्काइसौँ शताब्दीको सङ्घारमा पनि
जागृतिको छायाँ
पर भित्तामा मात्रै पदचिन्ह छोडिरहेछ
मात्र आजको मान्छेको परिवेश बन्दै
जीवनका क्रमहरू निरन्तर जोडेर बेस्सरी ।
भो,आमा ! धेरै जीवन बाँचिसक्यौ
औँसीजस्तै भ्रम पालेर
अब त आङभरि उज्यालो ढाक्ने
एउटै_एउटै सन्तान काफी छ ।
(स्रोत : Janaboli.com)