~सुन्दर मानन्धर~
१. लोककथा नेपाली जीवनको अभिन्न अङ्ग हो । यसलाई दन्त्यकथा पनि भनिन्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा परम्परा बनेर कथ्य रुपमा सुरक्षित हुँदै आएको पाइन्छ । भौगोलिक विविधता अनुसार लोककथामा त्यहाँको जीवनलाई प्रभावित पार्ने खालको लोकजीवनयुक्त लोककथाहरु कथ्ने गरेको देखिन्छ । गाउँघरका निरक्षर मान्छेहरुमाँझ यो दन्त्यकथा निकै लोकप्रिय भएको पाइन्छ । लोककथाहरु समाजशास्त्रीय, मानवशास्त्रीय र ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । मानिसहरुरुलाई मनोरञ्जन प्रदान गर्नु यसको मूल धेय देखिन्छ । धेरै जसो लोककथाहरुमा भूतप्रेत, राक्षस, परी–अप्सरा, पशुपंक्षी, अलौकिक शक्ति भएका पुरुष आदिलाई मूल पात्र बनाइएको पाइन्छ । ऐयारी लाग्ने यस्ता कथाहरुले मानिसका मनलाई कल्पनाशील तुल्याइदिन्छ । एकादेशमा वा धेरैं–धेरै वर्ष अघिको कुराबाट आरम्भ गरेर “सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तात्तातै मुखमा आइजाला” भनेर समापन गर्ने प्रचलन छ । यसरी दन्त्यकथामा कथावाचकलाई भन्दा श्रोतावर्गलाई बढी महत्व दिई यसको निरन्तरतालाई विशेष ध्यान पुर्याएको पाइन्छ ।
२. हिजोआज विज्ञान र प्रविधिका नयाँ–नयाँ आविष्कारले मानिसका लागि मनोरञ्जनका साधनहरु बढे, कथाको सट्टामा रेडियो, पत्रपत्रिका, टेलिभिजन, साइबर संस्कृति भित्रियो । लोककथाहरु वृद्ध व्यक्तिहरुको मनभित्रै सीमित रहे । यद्यपि लोकवार्तालाई नेपाली संस्कृतिको धरोहर मान्ने जुझारु लोकभिरुहरुले भने यसको सङ्कलनलाई आफ्नो कर्तव्य ठाने र ठान्दैछन् । यही हुलमा एकजना पोखरेली निस्किए– राम बहादुर बानियाँ ।
३. राम बहादुर बानियाँ ( वि.स.२०२२ ) पोखरेली साहित्यकारहरु माँझ चर्चित नाम हो । यसअघि नै उनले यो जित कसको, लघुकथा (२०५०), लघुकथा सङ्ग्रह (२०६७) गरी दुई वटा लघुकथासङ्ग्रहहरु प्रकाशित गरिसकेका छन् । पोखरा– १६, बाटुलेचौर स्थित शुक्ला साहित्य समिति का पूर्व अध्यक्ष र सल्लाहाकार रहेका बानियाँको तेस्रो नवीनतम कृति हो– “गण्डकी क्षेत्रका लोक कथाहरु ।”
आपूm विज्ञानको विद्यार्थी भएपनि साहित्यको धङ्धङीले उनलाई छाडेन । यही धङधङी मेटाउन उनी निरन्तर साहित्यमा क्रियाशील छन् । यस लोककथा सङ्कलनसम्बन्धी यिनको धारणा यस्तो छ– “समाजको बदलिदो परिवेशसँगै लोककथाहरु विलुप्त हुँदै जाँदैछ, भावी पुस्तालाई आफ्नो समाज, संस्कृति र संस्कारबारे चिन्ने, जान्ने, बुझ्ने अवसर मिल्नेछ ।” (भूमिकाबाट)
लोककथा रचना गरिदैन, एउटा कोठाभित्र बसेर कल्पनाको आकासमा स्वच्छन्द कावा खाँदै कलम दगुराइँदैन । यसलाई हरतरहले सङ्कलन गरिन्छ । त्यसैले त बानियाँ आफ्नो भूमिका लेख्छन् –“चाहे क्रियापुत्रीलाई भात खुवाउन थलामा जाँदा होस् वा रातको समयमा कुर्न जाँदा होस्, खेतमा उभ्याइएका धानका कुन्यूहरु रुघ्न जाँदा होस् जा चाँहे पिँढीमा बसेर मकै छोडाउदा होस्, पुष माघको जाडोमा अँगेनाको वरिपरि आगो ताप्दा होस्…………..” जुनसुकै अवसरमा सुनेका कथाहरु उनले सङकलन गरेका छन् । जनजिब्रोमा झुण्डिएका शब्दहरुलाई उनले यथासक्दो माला गाँसेर उन्ने प्रयास गरेका छन् ।
“गण्डकी क्षेत्रका लोककथाहरु” भित्र “लाजको बचावट” देखि “भाग्यमानीको भूतै कमारो” शीर्षकका लामा छोटा गरी जम्मा ३६ वटा कथाहरु सङ्कलित छन् । यसमा ६४ वटा शब्दको कथा “फलाम र सुन” देखि १५०० शब्दसम्को कथा “बूढाको धाक र बूढीको रहर” शीर्षकका कथाहरु रहेका छन् । कतिपय कथाहरु लघुकथाको सैद्घान्तिक परिधिभित्र बाँधिएका छन् । त्यसैले छोटा छन्, यद्यपि रोचक छन् । कथाहरु छोटा र रोचक हुनु बानियाँको अर्को उत्कृष्ट पक्ष हो । बानियाँद्घारा सङ्कलित यस सङ्ग्रहभित्र मुख्यतः मानवीय पात्रहरुकै बाहुल्यता देखिन्छ । यद्यपि यसमा सङ्कलित केही कथाहरुमा भने मानवेर पात्रहरु पनि रहेका छन् । हाम्रै समाजमा पाईने विभिन्न स्वभाव र प्रवृत्ति भएका मानिसहरुको कथालाई यिनले सङ्कलनको मूख्य परिधि बनाएको देखिन्छ । कथाहरु पढ्दै जाँदा “अब के हुन्छ ?” को चरमोत्कर्षमा सकिन्छ । यसमा परम्परित लोककथामा झैँ अन्त्यमा “सुन्नेलाई सुनको माला…….” द्वारा कथान्त गरिएको छैन, पात्र र घट्नाको स्पष्टतासँगै कथा सकिएको छ र हरेक कथाहरुले हामीलाई छुट्टै स्वाद तथा सन्देश दिन सफल देखिन्छ ।
यस कृतिमा आफ्नै स्थानीय परिवेशदेखि गण्डकी तथा देशीय स्थानहरुमा सुनिएका लोककथाहरु सङ्कलन गरिएका छन् । आफ्नै स्थानीय परिवेशमा लेखिएको ढिँकीडाँडा शब्दको उत्पत्ति “धानचोर” कथामा सङ्कलित छ । सामाजिक न्याय दिने पुरानो पद्घतिलाई लिएर सङ्कलित कथा हो– “फैसला” यस्तै कास्कीकोटको किरु कुँवरको साहसको कथाले पनि हामीलाई छुट्टै प्रेरणा दिन्छ । उनले भूतलाई जितेर कज्याएको प्रसङ्ग बडो रोचक छ । “भाग्यमा भए खटिया उपर” कथाले मानिसको अल्छे प्रवृत्ति र भाग्यवादी कुरालाई व्याख्या गरेको छ । कृतिभित्रका दुष्ट ज्योतिषी, कपडा चोर्ने कला, केटाको बहादुरी, अन्धो र कुप्रो, लच्छिनको ससुरो सोमतकी बुहारी जस्ता कथाहरुले नेपाली समाजभित्रको स्वाभिमान, सज्जनता, धुत्याइँ, मुख्याइँ र सुक्र्याइँ जस्ता प्रवृत्तिहरुलाई चित्रण गर्न सफल देखिन्छ । यसैगरी घमण्डी भ्यागुतो, लोभी बिरालो, बाघभन्दा तक्यान बलियो, खरायोको रुघा, बूढो गोरु र बहरे गोरु जस्ता कथाभित्र पशुपक्षीलाई मानवीकरण गरी ती पात्रहरुमार्पmत मानिसभित्र रहेका विभिन्न मनोदशालाई प्रतीकात्मक प्रस्तुति गरिएको छ ।
४. अन्त्यमा, “गण्डकी क्षेत्रका लोककथाहरु” भित्रका लोककथाहरु अत्यन्त रोचक छन् । लघुआकारको भएपनि भावार्थ स्पष्ट बोध भएकाले पाठकलाई कथाहरु पढ्दा एक प्रकारको छुट्टै मनोरञ्जन प्राप्त भएको आभाष हुन्छ । लोककथा नै भएपनि यस कृतिबाट विभिन्न किसिमका नीति र आदर्शका कुराहरु सिक्न सकिन्छ । यसको अर्काे महत्वपूर्ण पक्ष भनेको यसमा वर्णित पात्रहरु अत्यन्त सजीव हुनु र कथाभित्र जीवनवादी दृष्टिकोण पाइनु हो । कृतिमा मानवीय पात्रहरुलाई विशेष जोड दिइएकाले मानवभित्रको आन्तरिक प्रवृत्तिलाई कथामार्पmत केलाउने प्रयास गरिएको पाइन्छ । यसको भाषाशैली एकदमै सरल र सरस छ, सामान्यदेखि बौद्धिक पाठकसम्म सबैका लागि यो कृति बोधगम्य छ । यो दुर्लभ लोककथाहरुको सङ्कलन हो, त्यसैले यो कृति अत्यन्त पठनीय, सङ्ग्रनीय र शिक्षाप्रद छ ।
लेखक– रामबहादुर बानियाँ क्षेत्री
कृति– गण्डकी क्षेत्रका लोककथाहरु
विधा– कथा (लोककथा)
प्रकाशक– बानियाँ प्रकाशन, पोखरा
मूल्य– रु. १००।–
बाटुलेचौर–१६,पोखरा
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)