~सञ्जु शिल्पकार~
साल्मी, च्यातिएको तिम्रो पछ्यौरीको निम्ति
न्यायको सट्टा
उनीहरू,
पानीका फोहरा,
अश्रुग्यास बर्साइरहेछन्।
तिम्रो पछ्यौरीसँग
धेरैधेरै
तिम्रा संगीहरूको मुटु
जलिरहेको छ।
तिम्रो पछ्यौरीको लाजको निम्ति
तिम्रा संगीहरू घाइते बनिरहेको
यो बेला,
आगोका लप्काहरूबीच बिलाएको
हाम्री शिवाको आर्तनादले
हाम्रा मनहरू पनि घाइते छन्
साल्मी,
भूगोलझैं
सिमानाझैं
लाज खण्डित हुँदोरहेनछ।
दिल्लीको सडकमा
तिम्रो सडकमा
तिम्रो पछ्यौरी च्यातिइँदा
काठमाडांंैका सडकमा
हाम्रा आत्माहरू
चोइटिएका छन्।
दिल्ली भए पनि,
काठमाडौं भए पनि,
हाम्रा आँशुहरू एउटै छन्,
बेदनाहरू उही छन्,
चित्कारहरू उस्तै छन्।
उनीहरू भन्छन्,
‘तिमीहरू आफ्नो पछ्यौरी सम्हालेर हिंड्नु,
मात्र आफ्नो बाटो लाग्नु,
समस्या कहाँबाट आउँछ?’
बुर्का र घुम्टोहरूलाई
उघार्ने र नउघार्ने खेलका
युगौंका कुशल खेलाडीहरू
हाम्रा पछ्यौरीहरूको लाज जोगाउन
असमर्थ छन्
न्याय गर्न हातहरू काप्छन्
र, त
पानीका फोहराले आफू चोखिने चेष्टा गर्छन्
अश्रुग्यास र लाठी आफ्नो बचाउमा उठाउँछन्
(दिल्लीमा गएको आइतबार भएको निन्दनीय सामूहिक बलात्कार र बर्दियाको गुलरियामा आफ्नो आमा र दाजुबाट जलाइएर मृत्यु भएकी शिवा हासमीप्रति समर्पित)
(स्रोत : मजदुर दैनिक)