~नवराज शिवाकोटी ‘अनाम’~
शरीर निक्कै थाकेको छ । श्रीमान पनि एक हप्ताकोलागि काठमाडौं छोरा बुहारीकोमा गएकोले फूर्सदिलो छु । छोरा बुहारी त काठमाडौंतिरै बस्छन् । कहिलेकाहीँ फोन गर्छन् । सायद सञ्चै होला । मानिसलाई जब जीवननैं बोझिलो लाग्छ तव कसैको वास्ता नलाग्ने रहेछ । मलाई कसैलाई फोन गर्न पनि मनलाग्दैन । साथीहरु मलाई साह्रै निष्ठूरी र सन्की भन्छन् । सायद म यस्तै हुँला पनि । कोही भन्छन पोइले बेस्करी कमाएकै छ अनि धनले सन्किएकी । हो मेरो श्रीमानले कमाएको पनि छ तर मैले होइन । खाना पकाउन पनि खासै छैन । तर खान मन नभएपनि खान चाहिँ खानैं पर्ने रे ! जति बढी पिडा भए पनि मानिसलाई सबै भन्दा बढी आफ्नैं शरीरको मोह चाहिँ पक्कै लाग्ने रहेछ नत्र त बोझिलो जीवनमा पिडै पिडा भोगेर बाँच्न चहिँ सक्ने अनि भोक भोकै मर्न चाहिँ किन नसक्ने ? भोकै बसी रहे त बोझिलो जीवनबाट चाँडै मुक्ति मिल्थ्यो नि ! खै रातदिन चिन्तै चिन्ताको चितामा जलेर भएपनि मानिस यो शरीरबाट आफै सास ननिस्केसम्म बाँच्नै चाहँदो रहेछ । कतिपय मानिसले विष पिएर आत्महत्या गर्छन तर मर्नु आगाडि अनि मरेपछि पनि उनीहरुको अनुहार हेर्दा लाग्छ मरेकोमा उनीहरुलाई पछुतो लागिरहेछ । त्यसैले पछुतो मानेर मर्न मलाई पटक्कै मन छैन । जीउँदै जलेर बस्ननैं अभ्यस्त भइसकेकी छु । हाँस्छु कृतिम , रुन्छु कृतिम, मायागर्छु श्रीमान भन्ने अनी छोरा भन्ने मान्छे लाई कृतिम अनि आफै खुशी भएर बाँचेको अभिनय गरिरहेकी छु त्यो पनि कृतिम !
साँझ परेको छ । घरमा साँझको बत्ति बाल्नु पर्ने, अरुबेला त बाल्छु तर आज त्यो साँझको बत्ति बाल्न पनि मन छैन । भन्छन् साँझमा बत्ति नबाले अलच्छिन लाग्छ रे ! सम्झन्छु हाँसो उठ्छ । मेरा लागि अहिलेसम्म के लच्छिन भएको छ र ? जब आफू जीवनभर अन्धकारमा डुवी रहेको छु भने क्षणिक रुपमा साँझमा बत्ति झुल्क्याएर अदृष्य शक्तिको आराधना गर्दैमा के हुुने हो र ? पूजाकोठामा टेक्न पनि मन लागेन त्यसैले भान्सामा गएँ र एककप पानी बसालें । पानी विस्तारै तात्न लाग्यो अनि उम्लियो । पानी बाफ बनेर हावामा विलाउन लाग्यो….। पानीको मात्रा घट्दै गयो । पानीमा चिनी हाले एकै छिनमा विलायो, कफि हालें पानीको रङ्ग बदलियो ।
कफि खाएर कोठामा आएँ आजको अखबार हेर्न लागें विहान श्रीमानले ल्याएको रहेछन। अघिल्लो पृष्ठमा खासै केही थिएन । भित्री पृष्ठ हेर्न लागें । लेखिएको थियो सत्तरी बर्षीय बृद्धद्वारा अठार बर्षीय युवती बलात्कार ! बलात्कारी प्रहरी हिरासतमा । अर्को थियो बलात्कारीलाई पाँच वर्ष जेल सजाय….।
बलात्कार, शब्द सुन्दा पनि घृणा लाग्छ । जवरजस्ति कसैसँग बलपूर्वक यौन सम्पर्क गर्नु बलात्कार । मानिस यसै भन्छन् । मलाई एक्लै हाँस्न मनलाग्छ । यी त एकादुई घटना भए जो सबैका आगाडि आए । क्षणीक रुपमा यौनको आवेगमा आएर गरिने बलात्कार जसको बारेमा उजुर गरी प्रमाण पुयाए अपराध गर्नेलाई केही सजाय दिन सकिन्छ तर यस्ता बलात्कार जुन कानुनले पनि गर्न छुट दिएको छ । त्यसको सजाय कस्ले दिने । मैले मन मनै ति महिलाकालागि कामना गरें यो बलात्कारको घाउ त समयले निको पारी देला तर भविष्यमा उनीहरुका आफन्तले उनीहरुको इच्छा विपरित कसैलाई जवरजस्ती बलात्कार गर्ने अनुमति नदिउन ।
बलात्कारको समाचारले मेरा पुराना घाउहरु पूनः ताजा भएर आए । मानिसहरु एकान्तपारेर जवरजस्ति गरिने बलात्कारको मात्र चर्चा गर्छन् । तर पुरुष प्रधान समाजमा महिलाममाथि हुने बलात्कारको त्यो पाटो जस्को चर्चा पनि हुँदैन । म त्यही कुरा सम्झन्छु जुन मैंले भोगी रहेछु र भोगिरहने छु, जीवन रहेसम्म ।
……………………………………………………………
तिस बर्ष आगाडिको कुरा म कलेज पढ्दै थिएँ । साथी भाईसँग मिलनसार थिएँ । सबैले मलाई मन पराउँथे । हाँसिरहने मेरो बानी थियो । मेरा केटी भन्दा केटानैं साथी धेरै थिए । म भनेपछि हुरुक्कै हुने केटा पनि कलेजमा धेरै थिए । कसैले घरमा केटाहरुसँग यो धेरै जिस्कन्छे भनेर कुरा लगाई दिएछ क्यारे ! एक दिन म घर पुग्दा त बुवा ले रिसले आँखा तर्दै बेस्करी गाली गर्नु भयो । मैले बोल्दैमा हाँस्दैमा के हुन्छ र ? के गर्नु हुन्छ अनि के गर्न हुन्न भन्नेमा म सचेत छु भनेर बुवालाई सम्झाएँ । बुवाले यस्तै हो भने अब तेरो विहे गरिदिन्छु भनेर चेतावनी दिनु भयो । यसलाई मैले सामान्य रुपमा नैं लिएँ ।
त्यो चेतावनीले साकार रुपलिन्छ भन्ने मलाई के थाह ? त्यो दिनदेखि बुवा म सँग राम्रोसँग बोल्न पनि छोडनु भयो । बोल्दा पनि तपाइँ भन्नु हुन्थ्यो । यो क्रम धेरै दिन चलेपछि भने मलाई पनि दिक्क लाग्न लाग्यो । म परिवारकोलागि बोझ बने जस्तो लाग्यो । वास्तबमा म पनि जानी नजानी एक केटाको मायामा फसी सकेको थिएँ । ऊ हाम्रो जातिको थिएन । त्यसैले मेरो परिवार ऊ सँगको मेरो सम्बन्धलाई पटक्कै मन पराउँदैन थे । मेरो परिवार गरिव । बाबु धम्किको रोगले सँधै मरे मरे हुने । आमा सोझि । हजुरबा अनि हजुर आमा पनि पचासी वर्ष नाघेका । माया त मलाई उनीहरु मलाई खुब गर्थे तर उनीहरुलाई परम्पराको भुतले यति गाँजेको थियो कि त्यसबाट निस्कन पटक्कै नसक्नें खालका थिए ।
समय आफ्नैं गतिमा हिँडीरहयो । मैंले आफ्नो अध्ययनलाई जारीनैं राखें । जस्ले मलाई निक्कै मायाँ गथ्र्यो ऊ सँगको घनिष्टता पनि मेरो बढ्दै जान लाग्यो । हाम्रो हल्ला अझै चल्न लाग्यो । मलाई फसाउन खोज्ने केटाहरु मरिहत्ते गरेर अब हाम्रो सम्बन्धको बारेमा चर्चा गर्न लागे । यतिमात्र हैन बाबु आमालाई घरैमा पुगेर कुरा लगाउन सम्म पनि बाँकी राखनेनन् । बाबु आमाले पनि केही दिन त ढाकछोप गरे तर सँधै गरिरहन सकेनन् । केही समयपछि ऊ उच्च अध्ययनकालागि विदेश गयो । मलाई फर्किञ्जेल विहे नगर्ने बाचा बँधाएर । यसपछि केही समय त मेरो र उसको बारेको चर्चा हरायो ।
मेरा काकाहरु जागिर खाएका अलि रवाफ देखाउन खोज्ने । फौजिमा जागिर खाएका अलि कडा अनि जिद्दि स्वभावका पनि थिए । एक दिन साझ काकाले फोनमा मायालु स्वरमा भने,
“छोरी भोली म आउँदै छु है । मलाई लिन बस स्टेशनसम्म आउ ल ।”
“हुन्छ नि अंकल ।” मैले भनें ।
भोलिपल्ट म हतार हतार काकालाई लिन बसस्टेसन गएँ । केही क्षणपछि बस आइपुग्यो । काकाले गह्रौं खालको ब्याग बोकेका थिए । ओराल्न मद्दत गरें । तर काकासँग अरु दुईजना लगभग मेरै उमेरका केटाहरु पनि आएका रहेछन् । सँगै झरे अनि मलाई हेरेर मुखा मुख गरे । मेरो मन ढक्क फूल्यो । तै पनि कोही होलान भनिठानें । काकाले स्टेसनमैं मलाई उनीहरु मेरा साला हुन भनेर परिचय गराए । मैले पनि मामा ठानेर नमस्कार गरें । उनीहरुले पनि लजाएर नमस्कार फर्काए । मेरो मनमा संकाको तुवालो लागी रह्यो ।
आमा दीर्घ रोगी घरमा प्रायः म नै खाना पकाउने । त्यस दिन त झन पाहुना आएका पकाउने जिम्मेवारी मेरै भागमा आयो । म खाना पकाउन लागे । तर किन मन ढक्क फूली रह्यो । घरमा अर्को कोठामा परिवारका सदस्य गुन गुन गरिरहेका थिए । म के कुरा गर्छन सुन्न उत्सुक थिएँ तर म चिया लिएर जाँदा पनि उनीहरुको कुराको शिलसिला रोकियो । मलाई अझै शंकालाग्न थाल्योे । मुटुको धड्कन तेज भयो ।
खाना पाकेपछि सबै खाना खान लागे । सबैले खाना खाइसकेपछि पूनः उनीहरुको गुनगुन सुरुभयो । खाना खाएपछि सुतिहाल्ने मेरा हजुरबा हजुरआमा पनि नसुतेको देख्दा मेरो मन अझै सशंकित बन्यो । आमा र म खाना खान लाग्यौं । खाना खाँदै गर्दा आमाले कुरा कोट्याउनुु भयो ।
“छोरी काकासँग आएका मानिस कस्तोलाग्यो तँलाई ?”
मेरो शंकाले साकार रुप लियो र भनें,
“किन आमा ?”
“उनीहरु तँलाई हेर्न आएका रे क्या ! ” आमाले सुस्तरी भन्नु भयो ।
“हेरे भैगो नि ! आमा म अब दुई वर्ष विहे गर्दीन । तपाईहरुलाई कति भन्नु ? के म धेर भइसकें हगी तपाइँहरुको लागि ! बुवाको त्यो हालत छ । म पनि नभएपछि के गरौंला भन्ने छ तपाइँलाई ? कस्ले हेर्छ हँ ? सबै सम्हाल्न सक्नु हुन्छ यो घर ब्यावहार ?”
“जसरी पनि सम्हालीन्छ यो घर । कस्का छोरीले सँधै घर सम्हालेर बसेका छन् र माइतिको । त्यही बजियासँग विहे गरौला भनेर होला ? कि धम्किले खानलागेका तरा बाउ बाजे सबैलाई अनि मलाई पनि मार नत्र खुरुक्क काकाले खोजेर ल्याएको मानिससँग विहे गर । बुझिस ? ”
अरुबेला करुणाकी खानी जस्ती देखिने मेरी आमाका आज तिखा बाण जस्ता घोच्ने बचनको वर्षा ममाथि भयो । म मर्माहत भएँ । लाग्यो आज बहस गर्नु बेकार छ । मलाई भक्कानिएर रुन मनलाग्यो तर पाहुना नामका मानिसहरु मेरो घरमा छन् । मैले रुन हुन्न ।
अब इनिहरु नसुतिञ्जेल भाँडा माझेर बस्छु भन्ने ठानी म भाँडा माझ्न जान लागें तर आमाले रोक्नु भयो । मलाई लाग्यो बधिकहरुले मलाई बाँध्न लागेका छन् । अब केही क्षणमा मेरो गर्दनमा खुँडा प्रहार गर्ने छन् ।
कोठामा सबै बसेका छन् । म पुगेपछि सबै मेरो मुखमा हेर्न लागे । नारी स्वभावको कारणले होला म केही लजाएँ । मेरो यो लजाई लाई के ठान्यो कुन्नी काकाले लिएर आएको एक पात्र पनि केही लजायो । मैंले सोचें मेरा लागि ल्याएको मान्छे यही हुनु पर्छ ।
केही क्षणको निस्तब्धतापछि काकाले आफ्नो सालाको बखान झिके । विदेश गएर आएको, टन्न पैशा कमाएको शहरमा घर भएको आदि आदि । मलाई भने मेरो विदेश गएको साथीको मात्र सम्झना आइ रहेको थियो । बयान गरेर थाके छन् क्यारे मेरा काका । त्यस पछि उनले भने, “ छोरी तिम्रो विचार के छ ? ”
मैले दुई वर्ष अब विहे गर्दीन पढाइ नसकी भनें । काकाले क्रोधित अनुहार लगाए । आफूलाई जन्म दिने आमाको अनुहार हेरे उनको अनुहारमा पनि क्रोध मिश्रीत पिडा थियो । बाजे बज्यै पनि नमिठो अनुहार लगाई रहेका थिए । रोगी मेरा बाबु पनि मलाई क्रोधित भएर हेर्दै थिए । मलाई पनि रिसउठ्यो तर केही बोलिन । निक्कै बेरको सन्नाटा पछि हजूरबाले भने,
“नानी तेरै भविष्यकोलागि हो । उमेर गएपछि केटा पाइन्न राम्रोसँग सोच नत्र पछुताउलीस ।”
हजूरबाका आँखामा हेरें आँखामा पानी मरिसकेका मेरा हजूर बा को पनि चाहना त्यही केटासँग विहे गरोस भन्ने थियो । आँखिरमा सोचौंला भन्दै म त्यो जमातबाट बाहिरिएँ । उनीहरु निक्केै बेर कुरा गरी रहे । म कोठामा गएर रुँदै उस्लाई फोन गर्न लागें । ऊ पनि फोनमानैं रुन लाग्यो । बल्ल बल्ल स्कलरसिप मिलाएर विदेश गएको ऊ पनि फर्कन सक्ने अवस्था थिएन ।
म उसलाई फोन गरेपछि निक्कैे बेर रोएँ । भोलि विहान मलाई फेरि कचकच हुने छ । यो भन्दा बरु यो रातनै कहिल्यै नसकिए हुन्थ्यो जस्तो लाग्यो । तर मैले भन्दैमा के रात नसकिएला त ?
भोली पल्ट विहानअवेर सम्म निदाएछु । आमाले विहान चिया खान झक्कझकाउँदा पो विउँझिएँ । मैंले चिया खाँदै गर्दा आमाले खाना बनाइसक्नु भएछ । म तल्लो तलामा आउँदा त उनीहरु खाना खान लागेका थिएँ । खाना खाइ सकेपछि उनीहरु जानलागे । जाने बेलामा काकाले केही रिस मिसिएको आवाजमा भने,
“छोरी राम्रोसँग सोच है । हामी अब एक महिना पछि आउँछौं मंशिरमा विहे गर्नु पर्छ ।” म केही बोलिन ।
उनीहरु गएपछि मलाई लाग्यो अब भने म बधिकहरुको हातबाट बाचेँ । तर नियतिलाई कहाँ मञ्जुर थियो र ? अब घरको शान्ति भंग भयो । जतिखेर पनि घरका मानिसहरु मलाई त्यही पात्रसँग विहे गर्न कर गर्नलागे । म अश्विकार गर्दै गएँ । यो क्रम निक्कै दिनसम्म नरोकिए पछि सबै मलाई धम्किदिनलागे । म सहनैं नसक्ने अवस्थामा पुगें । म के गरौं ? कहाँ जाउँ ? मेरो मान्छे त विदेशमा छ । मेरो कुरा सुन्न र भावन बुझ्न परिवारका मानिस तयारनैं छैनन् । म निरास भएँ । काका फोनबाट धम्क्याउँदै छन् । उनी आउने दिन नजिकिन लाग्यो । मेरो भनेको मानिस पनि कुनै हालतमा पढाइ नसकि नआउने भयो । आवस पनि कसरी । म उसलाई पनि दोष दिन्न ।
म जीवन देखिनैं निरास हुन लागें । खाने बस्ने सुत्ने उठ्ने मेरा दिन चर्यामा परिवर्तन आउन लाग्यो । अब त आमा बाबु पनि मलाई शत्रु जस्तै लाग्न लाग्यो । उनीहरु आफूले जन्माएको अधिकार स्वरुप यो शरीर कसैलाई भोग गर्न दिन उद्धत थिए ।
एक रात खाना खाएपछि सबै निदाए । जुन लागेको थियो । म एक्लै बाहिर निष्कें । जड्याहाको विगविगी छ । तै पनि मलाई डर लागेन । म मुल बाटोमा निष्के । किन निष्के थाह छैन । एक पटक झसंग भएँ । कतै कुनै जड्याहाले केही गर्यो भने…..? फेरि तत्क्षण लाग्यो आँखिर मैले जीवनम अनिच्छित मान्छेकी स्वास्नी बनेर बाँच्नु पर्ने नैं भयो । अब एकछिन कुनै जँड्याहाले अंगालोमा बाँध्यो भने पनि के होला र ? म सरासर आगाडि बढें खोला तर्फ । बाटोमा कोही भेटीएन । रातको १२ बजेछ । तर किन आज डर पटक्कै लाग्दैन ।
खोलाको कल कल बग्ने पानीलाई हेरें । अविरल बगिरहेछ । पानी छोएँ चिसो छ । हेरें मानिसको जीवन र यो पानीमा कति समानता छ । पानि कहिले झरना कहिले खोला अनि कहिले नदी र कहिले समुद्र । कहिले सफा अनि कहिले लेदो । उ सँगको सामिप्यता हुँदा मेरो जीवन मलाई संलो पानी जस्तो लाग्थ्यो । लाग्छ अब मेरो जीवन पनि धमिलो बन्दै छ । मेरो जीवन ढलजस्तै बन्दा मेरा परिवारका सदस्य खुशी हुने छन् ।
निक्कै बेर पछि म फर्कनलागें मेरा बाबुको घर तफर्, जुन घरमा म जन्मिएँ हुर्किएँ, माया पाएँ अहिले त्यहीँबाट फालिन लागि रहेको छु । बाटो नजिक जंगल थियो । अचानाक एक आकृति देखियो । म चिच्याएँ । त्यो आकृति पनि केही हच्कियो र लरबरीएको स्वरमा भन्यो किन कराएकी म पनि तमान्छे नैं हो । अलिकति पिएको त हो नि । स्वर चिने चिने जस्तो लाग्यो तर ठम्याउन सकिन । मलाई के गरौं गरौं लाग्यो तर जे त होलाभन्दै अगाडि बढें । लाग्यो त्यो आकृति मलाई पर्खेर बसेको थियो ।
जब म त्यसको नजिक पुगें उसले मेरो हात च्याप्प समात्यो । म भस्किएँ । उस्ले सोध्यो किन अघि चिच्याएको ? मैंले जवाफ दिइन हात छुटाउन बल गर्नलागें । उस्ले छोडेन । मैले चिनेकै मानिस रहेछ । आँखिरमा मैंले उस्को हात नराम्रोसँग टोकिदिए । उस्ले छोड्यो म दौडिएँ । उस्ले लखेट्न लाग्यो तर भेट्न सकेन । म दौडदै घर पुगें । स्वास बढेर आयो । कसो नसिध्याएको ? म झण्डैं बलत्कृत भएँ । भक्कानिएर रुन मन लाग्यो तर रुन पनि सकिन । किन कि यसले त मलाई एकै छिन सास्ति दियो तर मलाई जीवनभर सास्ति दिने तयारी हुँदैछ । यसले यति गर्न खोज्दैमा मैले रुन ठिक होला र ? बलात्कारै गरेको भए पनि उस्ले त एकै छिन कष्ट दिने न थियो तर यहाँ त बाँचुञ्जेल मलाई बलात्कार गराइरहन मेरा परिवार नैं लागेका छन् ।
अब काका आउन एक दिन मात्र बाँकिछ । बेलुका फोन गरेर भने,
“ हेर छोरी मैले भनेको केटासँग विहे गरिनस भने तेरो र मेरो कुनै सम्बन्ध रहने छैन । अरुसँग विहे गरिस भने म तँलाई पनि बाँकी राख्दिन र तेरो त्यो केटालाई पनि जिउँदो राख्दिन ।”
कति सजिलै भनेका मेरा काकाले । जीवन त मैंले भोग्ने हो नि । मेरो जीवनको कसरी उपयोग गर्ने के मलाई अधिकार छैन ? अन्तिम पटक उसलाई फोन गरें ऊ बोल्न सकेन । मैंले पनि के के भनें हेक्का रहेन । मैंले ठानें ऊ सँगको सम्बन्धको अब अन्त्य हुँदै छ ।
भोली पल्ट बेलुका काका आइपुगे । उनीसँग थियो मलाई बलात्कार गराउनकोलागि ठिक पारिएको पात्र । मलाई अब थाह भयो कि अब म केही गर्न सक्दिन । लाग्यो म अब कोमामा पुगेको विरामी जस्तै बनेको छु । अस्तित्व विहिन जीउँदो लाश । बेलुका परिवारका सबै सदस्य मिलेर मलाई फेरि केटा मन प¥यो हैन भनेर सोधे । म केही बोलिन । साह्रै कर गरेपछि मैंले रुँदै भने जे मनलाग्छ त्यही गर्नुं भनें । मलाई लाग्यो मेरा बाबु आमा तथा मेरा परिवार मेरो विवाह गर्न होइन मलाई कुनै पुरुषलाई जवरजस्ती बलात्कार गर्ने अनुमति दिँदै छन् । बाबु आमा देख्दा पनि घृणा लाग्न लाग्यो । आफूूले जन्माएको छोरीलाई विहेको नाममा कुनै पुरुषलाई निर्वाध रुपमा बलात्कार गर्ने अनुमति दिनलागेकोमा ।
विहेको दिन समेत उनीहरुले निधो गरिसके छन् । विहे गर्ने भनेको केटाले भोली पल्ट मलाई गहना लुगा के के चाहिन्छ भनेर सोध्दै थियो । मैले केही चाहिन्न भनें उस्ले अलि नमिठो मुख लगायो ।
विहेको दिन नजिकिन लाग्यो मैले सबैसँग बोल्न छाडे । आमा कहिले काहीँ रुँदै सम्झाउनु हुन्थ्यो । म केही जवाफ दिन्नथें । मलाई आफ्नै जन्म दिने आमा प्रति पनि अथाह घृणा लाग्न लाग्यो । मैंले मनमनैं प्रतिज्ञा गरें विहे भएपछि म पूनः यस घरमा फर्किएर आउने छैन ।
विहेको दिन आयो सबै दंग थिए, धनि ज्वाइँ पाएकोमा । मलाई भने दुलहाको अनुहार हेर्न मन थिएन । ऊ घरी घरी मलाई पुलुक्क हेथ्र्यो । मलाई लाग्थ्यो ऊ मलाई असाध्यै मन पराउँछ । तर उसले मात्र मन पराएर के गर्नु । मैंले उसलाई मन पराउन सक्ने अवस्था थिएन । विहे सकियो मलाई आमा बाबुले अन्माएर पठाउन लागे उनीहर आँखाबाट आँशु झार्दै थिए । तर मेरो आँखाबाट भने एक थोपा आँशु पनि खसिरहेको थिएन । सायद म अब जड मुर्ति बनिसकेकी थिएँ । आँशुहरु सबै सुकि सकेका थिए । केवल मनमा आमाबाबु अनि काका प्रति तिब्र घृणा मात्र थियो । म केही बोलिन । काका पनि अँध्यारो मुख लगाउँदै थिए । तर मलाई लाग्यो छोरीलाई बलात्कार गराउन सकेकोमा उनी मख्ख छन् । बलत्कारिका मतियारहरु !
विहे माइतिघरबाट अन्मियो । बाजा पनि बजाइँदै थियो । म बलत्कृत हुन लागेकोमा खुशी मनाइरहेका थिए सबै जना । मलाई बाटो भरी यस्तै लागि रह्यो । म बलत्कृत बन्न लागेको खुशीयालीमा दुलहाको घरमा निक्कै ठूलो भोजको आयोजना गरिएको रहेछ ।
म मेरो भनिएको घरमा भित्रिएको दिन देखि बलत्कृत हुन सुरु गरें । जो मेरो श्रीमान हो, ऊ मलाई माया पनि गर्छ । म पनि माया गरेको अभिनय गर्छु तर मेरो मनले उस्लाई आज यति धेरै वर्ष वित्दा पनि श्रीमान स्वीकार गर्न सकेको छैन र जीवन भर गर्ने पनि छैन । मैले आफूलाइँ सँधै यौन दाशी मानिरहेको छु । विहेपछि म कहिल्यै माइत गइन । श्रीमानले निक्कै कर गर्दा पनि म जाँदै गइन । काका उनको सालाको घर भएकोले एक दुई पटक आए तर म बोलिन । त्यसपछि उनी पनि आउन छाडे । उसलाई पनि सायद अचम्म लाग्यो होला मेरो यस्तो ब्यावहार ले । तर जे सोचोस उस्ले, मेरा बाबु आमा मर्दा समेत पनि म माइत गइन । गाउँले र घरतिरकाले पनि मेरो निक्कै कुरा काटे रे !
छोरो जन्मियो मलाई खुशी लागेन बलात्कारको चिन्ह जस्तै लाग्यो । तर मानवीय नाताले उप्रतिको कर्तब्य निभाइ रहें । उसको विहे गर्ने बेलामा भने म अली सतर्क भएँ । केट केटी दुववैको इच्छा खुलस्त बताउन लगाएर दुवै सन्तुष्ट भएको बुझेपछि मात्र विहे गराइ दिएँ । लाग्यो एक छोरी मान्छेलाई बलत्कृत हुनबाट बचाएँ ।
अहिले जब बलात्कारको समाचार सुन्छु अनि मन एक तमासको भएर आउँछ । लाग्छ कम्तिमा यसको त चर्चा सम्म हुन्छ । कानुनले पनि थोर बहुत सजाय दिन्छ । तर म अनि म जस्ता नारी जाति जो जीवन भर बलत्कृत भएर बस्न बाध्य छन्
यसको चर्चा कहिँ हुदैन । भोग्नैं पर्दछ बलात्कारका अनन्त श्रृंखला जीवन रहेसम्म।
nrs2028@gmail.com
(स्रोत : Egaurishankar.com)