~बाबुराम लामिछाने~
एक्लै एक्लै हिँड्दैछ आफ्नै माया लागेर अाईरा छ
झुत्रो भनेको जिन्दगी पनि प्यारो लागेर अाईरा छ
जिन्दगीलाई कहिल्यै धन्यवाद दिन पनि जानिएन
अनायास आज मलाई किन गुनगुनाउन अैइरा छ ।
कोही टाढा, नजिक छैन कोही आफ्नो, पराइ छैन
जे हुँ जम्मै यही हुँ तर लम्बाई, चौदाइ थाहा छैन
जिन्दगीको आयतन नाप्जोख गर्न आउँदैन मलाई
अग्लो, होचो जे जे भन्नोस् मलाई कुनै पर्वाहा छैन
जे बन्छबन्छ बनाऊ न कुरामात्र गरेर के हुन्छ कहाँ
पाइलाहरु उचाली हेर न जे हुन्छ, हुन्छ पुगिन्छ जहाँ ।
तिम्रो त्यो पिंजडामा झुम्राको पुतली पनि अटाउँदैन
खुलमखुला छाडिदेऊ न जिन्दगी त कहाँ पुग्छ कहाँ ।।
जे पनि चुहेर जाने यो कस्तो भाँडो भन्दै हिडिन्छ कहिले
केही काट्दैन खिया लागेको ठाँडोले भन्दै फालिन्छ कहिले ।
मान्छेको प्यार गर्ने तरिकासँग नआत्तिनु ए जिन्दगी तैंले
के यस्तो घाँडो आइलागेको भन्दै, अँगाल्दै जिइन्छ जहिले ।।
जसले मान्छेलाई एउटा श्रमिकभन्दा बढी देखेनन्
जजसले मान्छेलाई भेँडाच्याङ्ग्राभन्दा बढी सोचेनन्
तिनकै पूजामा अर्पित गरेकाछन् जीवन कतिले यहाँ
जसले मान्छेको ब्रिहत् आयामको सुगन्ध कुनै भेटेनन्
नवलपरासी,
हाल : बलम्बु, काठमाडौँ
(स्रोत : रचना साहित्यिक प्रकाशन वर्ष ५४, अंक ५, पूर्णांक १३४, पुस-माघ २०७१)