लोक कथा : बोँगेरानी

~सुन्दर मानन्धर~Sundar Manandhar

स्याङ्जा जिल्लाको क्याक्मी गाविसमा धेरै पहिले भूमिराज नाम गरेका राजा थिए । उनी बडा प्रतापी राजा थिए । त्यहाँको मौलाथर भन्ने ठाउँमा उनको दरबार थियो । उनी आफ्ना प्रजाका हरेक सुखदुःखमा साथ दिने गर्थे । चारैतिर उनको यश फैलिएको थियो ।
भूमिराज राजाका बोँगेरानी नाम गरेकी परम रुपवती छोरी थिइन् । राजाले आफ्नी छोरीका हरेक आवश्यकताहरु पूरा गरिदिन्थे । दरबारमा छोरीका लागि सखीहरु, नोकरचाकरहरु सारा कुराको बन्दोबस्त गरिएको थियो ।

राजा बेला–बेलामा फुर्सद हुनासाथ सिकार खेल्न जाने गर्थे । उनी कहिले उत्तरतिरको हरिनाशको जङ्गलमा सिकार खेल्न जान्थे भने कहिले पश्चिमतिरको आडको वनमा त कहिले दक्षिणमा रहेको पुर्कोटको अग्लो लेकमा सिकार गर्न जान्थे । सिकार गरेर ल्याएका विभिन्न किसिमका चरा र मृगका मासु बडो मीठोसँग पकाउन लगाई छोरी बोँगेरानी र रानीका साथ बसेर खाने गर्थे । सुत्ने बेलामा आफू ले जङ्गलमा सिकार गर्दाका घटनाहरु बेलीबिस्तार लगाउँथे ।

दिन बित्दै गयो । बोंगेरानीलाई यौवनले ढपक्क छोप्यो । यसै त राम्री बोंगेरानी झन् सोर्ह श्रृङ्गार गरेर हिड्दा त उनको रुपको बयान गर्नै सकिदैनथ्यो । मानिसहरु बोंगेरानीको रुपको अति प्रशंसा गर्दथे ।

एकदिनको कुरा हो, बोंगेरानी आफ्ना सखीहरुका साथ नुहाउनका निम्ति दग्दीमा झरेकी थिइन् । दग्दीमा सानो ताल थियो । बोंगेरानी र उनकी सखीहरुले उक्त तालको किनारामा रहेको पीपलको रुखको फेदमा कपडा खोलेर राखिन् र आफ्ना सखीहरुका साथ तालमा पौडी खेल्न थालिन् ।

वैसाखको महिना थियो । टण्टलापुर घाम लागेको थियो । ताल किनारमा कमलका फूलहरु फुलेका थिए । पारि भित्तामा पहेंलै प्याउलीका फूलहरुले स्वागत गरेका थिए । वरिपरि आँप, समी, खल्लुक (तिजू), कटुस, चिलाउने आदिका रुखका हाँगाहरुमा नयाँ–नयाँ पालुवाहरु पलाएका थिए, ती पालुवाहरुले छरेको सिरसिर चिसो बतास तालको पानीमा ठक्कर खाएर बोंगेरानीको केशराशी फर्फराउँथ्यो, अग्लो खल्लुकको रुखमा बसेर ‘को हो ? को हो ?’ भनी कोइली चरी कराउँथ्यो, अर्कै भाका हालेर लाहाचे, चिबे, ढुक्कुर, जस्ता चराहरु मीठो लयमा गीत गाउँथे । प्रकृतिको यस्तो सौन्दर्यले बोंगेरानीलाई लठ्याएको थियो । पोखरीमा भएका विभिन्न रङका माछाहरुले बोंगेरानीको शरीरमा स्पर्श गर्दा उनी रोमाञ्चित भइरहेकी थिइन् ।

यत्तिकै पोखरीको पूर्वतिरबाट दुईजना मानिसहरु आए । उनीहरु तालको किनारमा रहेको वर, पीपल र समीको चौतारोमा बसे । ती दुई जनामध्ये एउटाले भारी बोकेको थियो भने अर्काले चाहिँ झोला र कम्मरमा खुकुरी भिरेको थियो । भारी बोक्नेको उमेर पैतीस चालीस वर्षजत्तिको थियो भने झोला बोक्ने भर्खरको लक्का जवान थियो । ऊ निकै खाइलाग्दो र असाध्यै सुन्दर देखिन्थ्यो ।

युवक झोला बिसाएर पानी पिउन भनेर नजिकै रहेको धारातिर जान के अगाडि बढेका थिए– तालमा त चारपाँच जना अर्धनग्न अवस्थामा षोडषीहरु एकआपसमा पानी छ्यापाछ्याप गर्दै छिल्लिरहेका ! युवक दङ्ग परे ।

बोंगेरानीकी सखीहरुले युवकतिर आँखा सन्काए । बोंगेरानीले के रहेछ भन्दै यसो पछाडि फर्केर हेर्छिन् त करिब बीस गज परबाट एउटा युवक धारातिर अगाडि बढिरहेको ! बोंगेरानीले युवकतिर हेर्नासाथ युवकको पनि दृष्टि बोंगेरानीतिर पर्यो । दुवैका नयन एक भए । एकछिन हेराहेर गरेपछि बोंगेरानी तालमा डुबुल्की लगाइन् । युवक पानी पिएर चौतारोमा गएर बस्यो ।

चौतारोमा बसिरहेका युवकका मनमा अनेक कुराहरु खेल्न थाले । युवकले “ती सुन्दरी को होलिन् ? कहाँकी होलिन् ? यति राम्री सुन्दरीसँग जीवन बिताउन पाए धन्य हुन्थ्यो होला !” भनी नानाथरीका कल्पनाहरु मनमा खेलाउन थाल्यो ।

“जाऔँ मालिक !” भरियाको आवाजले युवकलाई निद्राबाट ब्युँताए झैं बनायो । युवकले झोला बोक्यो र भरियाको पछिपछि उत्तरतिरको ढुङ्गाले छापिएको सिँढी नै सिँढी भएको उकालो चढे ।

अर्कातिर बोँगेरानीका मनमा पनि अनेक कुराहरु खेल्न थाले । त्यति सुन्दर र आकर्षक उनले आजसम्म देखेकी थिइनन् । युवकको रुपरङबाट उनी अति मोहित भइसकेकी थिइन् । “कहाँका परदेशी होलान् ? कसका छोरा होलान् ? यति सुन्दर युवकलाई आफ्नो बनाउन पाए म कति भाग्यमानी हुन्थे होला !” भन्दै मनमा अनेक कुराहरु खेलाउन थालिन् ।

जलविहार गरेपछि बोँगेरानी र उनका सखीहरु पश्चिमतिर लागे । आडको वनको टापूमा बसेर उनीहरु सूर्यास्तको मजा लिन थाले । साँझ पर्न थालेपछि बोँगेरानी आफ्ना सखीहरुका साथ दरबारमा फर्किइन् ।

बोँगेरानी दरबारको प्राङ्गणमा के पुगेकी थिइन्, केही समयअघि आँखा जुधेको उक्त युवक र उनका साथमा भारीसहित अधवैँसे मानिस दरबारको गेटको दायाँतिरको सानो पिँढीमा बसिरहेको देखिन् । युवकलाई देख्नासाथ बोँगेरानी रातोपिरो भइन्, एकपटक केही परैबाट युवकलाई हेरेर मुस्कुराइदिइन् अनि सरासर युवककै अगाडिबाट हेर्दै आफ्ना सखीहरुका साथ दरबारभित्र प्रवेश गरिन् ।

यो सबै दृष्य हेरिरहेका युवकलाई भने सपना जस्तै लाग्यो । तर सबै घटना र दृष्यहरु यथार्थ थिए, युवक मनमनै खुशी भयो ।

उता दरबार छिरेकी बोँगेरानीको मनमा भने अनेक कौतूहल जाग्दै गयो । उनले “त्यो युवक को हो ?” भनेर बुझ्नका लागि आफ्नी सखी कन्यालाई अहृाइन् । एकछिनपछि कन्या फर्केर आइन्, उनले भनिन्– “मैयारानी ! त्यो युवक त परदेशी पो रहेछ त, व्यापारको सिलसिलामा यहाँ आएका रहेछन् ।”

बोँगेरानीले गम्भीर भएर भनिन्– “कुन देशका रहेछन् त ?”

“त्यो त थाहा भएन मैयारानी । म त्यो कुरा पनि भोलिसम्म पत्ता लगाइहाल्छु नि ।” बोँगेरानीकी सबैभन्दा नजिककी सखी कन्याले भनिन् ।

बोँगेरानीले कन्यासँग आफू    ले उक्त युवकलाई मन पराएको कुरा गरिन् । उनले युवकलाई प्राप्त गर्न आफू     जे गर्न पनि तयार रहेको बताइन् । कन्याले पनि भोलिसम्म त्यो युवक कुन देशको रहेछ भनेर पत्ता लगाइछाड्ने अठोट गरिन् ।

भोलिपल्ट–
कन्या– “मैयारानी ! त्यो युवक त ऊ त्यो पारिडाँडाको हुक्का भन्ने ठाउँको मुसलमानको छोरो व्यापारी पो रहेछ । पोहोर–पोहोर एउटा बूढो लामो दार्ही भएको आउँथ्यो नि ! हो उसैको छोरो रहेछ । आफ्ना बाबु बिरामी भएर हिँड्डुल गर्न नसक्ने भएपछि बाबुको सट्टा ऊ आएको रहेछ । मुसलमानसँग हामीले माया प्रेम गर्नु हुँदैन भन्छन्, हामी प्रकृतिका पुजारी हौँ, हामीले अरु जात, धर्मकासँग विवाह गर्नु हुँदैन नि !”

बोँगेरानी– “मैले त हिजो उसलाई देख्नेबित्तिकै मन पराइहालेँ, त्यतिबेला उसको धर्म, जात थिएन । हे सखी ! अब म अरु केही सोच्दिनँ, जसरी हुन्छ, मलाई त्यो युवकसँग भेट गर्ने अवसर मिलाऊ ।”

कन्या– “हुन्छ मैयारानी !”

कन्याले युवकलाई गएर भेटिन्, बोँगेरानीले पठाएको कागज दिइन् र “एकछिनपछि आउँछु” भनी दरबारभित्र प्रव्श गरिन् ।

युवक केही पर गए र उक्त कागजमा के लेखिएको रहेछ भन्दै पढ्न थाले । कागजमा बोँगेरानीले आफूलाई अति मन पराएको र आफू मुसलमान भए पनि विवाह गर्ने भनेर उल्लेख गरेको पाए । युवक अत्यन्त खुशी भए, उनले पनि बोँगेरानीलाई त्यस्तै पाराले चिठी लेखे र कन्यालाई दिए ।

युवक एक साताको लागि त्यहाँ आएका थिए । उनलाई दरबारभित्र जाने अनुमति थिएन । बोँगेरानी आफै दरबारबाहिर आउँथिन् । वनविहार, जलविहारको निहुँ पारेर युवकलाई भेट्थिन् ।

बोँगेरानी र मुसलमान युवकबीच अत्यन्त गाढा प्रेम बस्यो । अब उनीहरुको प्रेमलाई कसैले पनि अलग्याउँन नसक्ने जस्तै बन्यो ।

“एक कान दुई कान मैदान” भनेझैँ आफ्नी छोरी र व्यापारी युवक मुसलमानबीच मायाप्रेम बसेको कुरा राजा भूमिराजाले थाहा पाए । राजा अत्यन्त चिन्तित भए । आफ्नी छोरीको मुसलमानसँग मायाप्रेम बसेको आफ्ना प्रजाहरुले थाहा पाए के भन्लान् ? भनी बडो फरादमा परे ।

एकसाता बितेपछि मुसलमान युवक आफ्नो देश हुक्का फक्र्यो । राजाले छोरीको चियोचर्चा गर्न चार जना गुप्तचरहरुलाई विभिन्न ठाउँहरुमा खटाएका थिए ।

युवक आफ्नो मुलुक गएको खबर सुनेपछि बोँगेरानी मूच्र्छित भइन् । उनलाई आफ्नी आमा र सखीहरुले कति सम्झाउँदा पनि केही लागेन । बोँगेरानी निद्रामा युवकलाई सम्झेर बर्बराउने, खाँदै नखाने गर्न थालिन्, युवकप्रतिको वियोग र खाना नखाएको हुँदा उनी दिन प्रतिदिन दुब्लाउँदै जान थालिन् ।

आफ्नी छोरीको त्यो हालत् देखेपछि राजाले व्यापारीको निहुँ पारेर उक्त मुसलमान युवकलाई दरबारमा बोलाउँन पठाए । युवक पनि व्यापारका सामानहरु लिएर दरबारमा हाजिर भए ।

राजा– “हे युवक ! तिमीले के कस्तो तन्त्रमन्त्र गर्यौ र मेरी छोरीलाई मोहनी लगाइदियौ ? अब त्यो मोहनी उल्टाइदेऊ ।”

युवक– “महाराज ! मसँग के को तन्त्रमन्त्र छ र मोहनी लगाउनु ! मैले कसरी उल्टाइदिनु ? बरु मलाई हजुरकी छोरीले मोहनी लगाएकी छिन्, त्यो उल्टाइदिनु भए म धन्य हुने थिएँ ।”

राजाले आफ्ना भारदारहरुसँग केही सल्लाह गरे र आफ्नी छोरीको विवाह उक्त मुसलमान युवकसँग एउटा सर्त राखेर गरिदिए । सर्तअनुसार मुसलमान युवक आफ्नो देश हुक्का कहिल्यै पनि जान नपाउने भए ।

राजाले आफ्नो दरबारभन्दा केही तलको समथर ठाउँमा सानो दरबार बनाउँन लगाए र आफ्नी छोरी र ज्वाइँलाई उक्त दरबारमा राखे । उता मुसलमान युवक र बोँगेरानी आनन्दपूर्वक दिनहरु बिताउन थाले ।

दिनहरु बित्न कति दिन लाग्छ र ! क्याक्मी गाउँ वरिपरिका प्रजाहरुले भित्रभित्रै अनेक कुराहरु काट्न थाले । त्यस ठाउँका प्रजाहरु राजाको यस कार्यले अत्यन्त क्षुब्ध बनेका थिए । उनीहरु प्रत्यक्ष रुपमा राजालाई केही भन्न सक्दैनथे तर आफू आफूमा भने धारा, मेलापात जताततै कानेखुसी गर्न थाले । यो कुरा राजाका गुप्तचरहरुले थाहा पाए र राजालाई सुनाए–

गुप्तचर– “महाराज ! हाम्री मैयारानीलाई मुसलमान युवकसँग विवाह गरिदिनु भएको कुरा प्रजाहरुले आत्मैदेखि स्वीकारेका रहेनछन् ।”

राजाले शिर नत गरे ।

राजा बडा प्रतापी, उदार र प्रजाको इच्छा विपरीत काम नगर्ने स्वाभावका थिए । उनलाई आफूले गरेको कार्यप्रति पश्चाताप लाग्यो । आफ्नो कारणले आफ्ना प्रजाहरुको चित्त दुखेको सुन्दा उनी भित्रभित्रै आत्मग्लानीले जल्न थाले । उनलाई के गरौँ, कसो गरौँ जस्तै भयो ।

एकदिन राजाले आफ्ना भारदारहरुसँग सल्लाह गरे र गोप्य योजना बनाए । योजनाअनुसार केही भारदार र सिपाही तथा मुसलमान युवकलाई समेत लिएर पूर्कोटको जङ्गलमा शिकार खेल्न जाने र युवकलाई त्यही मारिदिने निर्णय गरे ।

+ + + +

बोँगेरानी– “मैले आज राति सार्है नराम्रो सपना देखेँ स्वामी ।”

युवक– “कस्तो सपना हो र भन न ?”

बोँगेरानी– “मैले त तपाईँलाई अरुले लखट्दै–लखट्दै कहाँ हो कहाँ लगेको देखेँ ।”

युवक– “सपनाको कुरामा विश्वास नगर न प्रिय ! केही हुँदैन, सपना सपनै हो ।”

बोँगेरानी– “खै मलाई त डर लागिरहेछ ।”

मध्याह्न भयो । राजा घोडामा चढेर केही भारदार र सिपाहीका साथ छोरीको दरबारमा आइपुगे । छोरीज्वाइँले पनि आफ्ना बाबुलाई स्वागत गरे ।

राजाले भने– “लौ ज्वाइँसाहेब ! आज हामी पूर्कोटको वनतिर शिकार खेल्न हिँडेको, हिड्नोस् सँगै जाऔँ ।”

आफ्ना ससुराको आग्रहलाई युवकले नर्कान सकेनन् । उनले पनि सहजै “हुन्छ” भनी दिए ।

बोँगेरानीले सपना सम्झिइन् । आफ्ना खसमलाई “जानू” भन्न पनि सकिनन्, “नजानू” भन्न पनि सकिनन्, उनी किंकर्तव्यविमूढ भइन् ।

अन्ततः बाबुको आग्रह टार्न नसकेर आफ्ना खसमलाई शिकारका लागि जाने अनुमति दिइन् ।

युवक घोडामा चढेर तेर्सैतेर्सो दग्दी हुँदै उकालो चढुञ्जेलसम्म बोँगेरानीले परबाट हेरिरहिन् ।

जङ्गल सुरु भएपछि मान्छे र घोडाहरु जङ्गलभित्रै हराए । यता बोँगेरानी सपना सम्झेर डराउन थालिन् । राजाले जङ्गलको बीच भागमा पुगेपछि घोडालाई रुखमा बाँध्न लगाए र सबैजना सिकार खेल्न अगाडि बढ्ने भन्दै केही पर पुगे ।

सबैको हातमा नाङ्गो तरबार, धनुबाण, गुलेली थिए । अकस्मात् एउटा सिपाहीले अगाडि बढिरहेका युवकलाई पछाडिबाट धनुबाण बर्साए । युवक रक्ताम्य भई भुइँमा ढले र त्यही मौकामा अर्का सिपाहीले आफ्नो हातमा रहेको तरवारले युवकलाई दुई टुक्रा पारिदिए ।
राजाले युवकको लाशलाई त्यहीँको जङ्गलमा गाड्न लगाए । निकै अबेरसम्म पनि आफ्ना खसम नआएपछि बोँगेरानी अत्यन्त चिन्तित् भइन्, रातको कालो छाँयाभित्र आफ्ना खसमलाई खोजिरहिन् ।

झण्डै–झण्डै रातको दुई पहर बितिसक्दा राजा र सिपाहीहरु सिकारबाट फर्केर आए । बोँगेरानी त्यतिञ्जेलसम्म पनि आफ्नो लाग्नेको बाटो हेर्दै बसिरहेकी थिइन् । जब सिकारबाट आफ्ना बाबु, भारदार, सिपाही र आफ्नो लोग्ने चढेको घोडा रित्तो फर्केको देखिन् तब बोँगेरानी मनमा चिसो पस्यो ।

बोँगेरानी– “मेरा स्वामीराजा खोइ त बुबा हजुर ।”

राजाले रुँदै भने– “….खै मेरी छोरी ! म कसरी भनूँ ..हामी जङ्गलमा सिकार खेल्दै थियौँ, अकस्मात् एउटा अजङ्गको बाघ आएर ज्वाइँलाई झम्ट्यो । हामी सबै भागाभाग भयौँ । पछि सबै एकजुट भएर ज्वाइँलाई खोज्न जाँदा त हाडखोर मात्र बाँकी थियो । छोरी तिमी…।”

राजाले यति भन्दा नभन्दै बोँगेरानी मूच्र्छित भइसकेकी थिइन् ।

बोँगेरानी मूच्र्छाबाट ब्यूँतिइन्, उनलाई यो सारा ब्रम्हाण्ड सपना जस्तो लाग्यो । युवकको मृत्युपछि बोँगेरानी अलापविलाप गर्दै रुन थालिन् । आफ्नी सखी कन्यामार्फत आफ्नो खसम मारिएको वास्तविक थाहा पाइन् ।

एकदिन बोँगेरानीले आफ्नो दरबारको भूइँतल्लाको दक्षिणतिरको कोठामा अनेक तरहका कुराहरु फलाक्दै गरेको सुनियो– “यो गाउँठाउँका मानिसहरुकै कारणले मेरो लोग्ने मारियो । अबउप्रान्त यो क्याक्मी सेरोफेरोका मानिसहरु कोही पनि धनीमानी नहोऊन्, यहाँका मानिसहरु रोग, भोग र शोकमा डुबिरहून् ।” यति सराप्दै बोँगेरानी अकस्मात् त्यही अलप भइन् ।

बोँगेरानी अलप भएपछि त्यस ठाउँ परिपरि आकस्मिक रुपमा हावा, हुरी, बतास चल्न थाल्यो, मुसलधारे वर्षा हुन थाल्यो, आकाशमा मेघ गर्जने र ठाउँ– ठाउँमा चट्याङ पर्न थाल्यो । प्रलय नै होला जस्तो भयो ।

गाउँमा ठूलो दैवी विपत्ति आएपछि त्यस ठाउँका मानिसहरु चिहिलबिहिल गर्न थाले । ठाउँ–ठाउँमा पहिरो जाने, रुखहरु भाँचिने, घरका छानाहरु उडाउँने गर्न थाल्यो । राजाले आफ्नै छोरीका कारण अनिष्ट भएको हो भन्ने ठहर गरे ।

बोँगेरानी अलप भएपछि चार गाउँमा खैलाबैला मच्चियो । गाउँमा विभिन्न किसिमका अनिष्टहरु हुन थाल्यो । मानिसहरु आफूहरुले विगतमा बोँगेरानीप्रति गरेको वितृष्णामा पछुताउन थाले । गाउँका कतिपय मानिसको सपनामा बोँेगेरानीले दीक्षा देखाउन थालिन् ।
एकदिन सपनामा राजाले बोँगेरानीलाई देखे । आफ्नी छोरी आफूप्रति अत्यन्त क्रुद्ध बनेको पाए । छोरीले आफ्नो लोग्नेलाई मारेको बदला लिने कुरा बताइन् ।

राजा निन्द्रबाट बिउँतिए । आफूले सपनामा देखेको कुरा गुरुपुरोहितलाई सुनाए । गुरुपुरोहितले “देउ राख्ने” (झाँक्री लगाउँने) सल्लाह दिए । देउ राख्दा झाँक्री बक्न थाल्यो– “हे पापी मान्छे हो, तिमीले मेरो लोग्नेलाई मार्यौ, त्यहीँकारण म अलप भएकी हुँ, मैले नै यो चार गाउँमा अनिष्ट गराएकी हुँ ।”

“तिमी कसरी खुशी हुन्छ्यौ त छोरी ? कुन उपायले तिम्रो अशान्त मनलाई शान्त पार्न सकूँला ? केही उपाए भए बताइदेऊ छोरी ।” राजाले झाँक्रीलाई प्रश्न सोध्न थाले ।

“तिमीहरुले ममाथि ठूलो अन्याय गरेका छौ, अब मलाई खुशी बनाउने हो भने म अलप भएको ठाउँमा एउटा मन्दिर बनाइदिनू, माघे शुक्ल पञ्चमीका दिन एउटा गाई काटेर बली चढाइदिनू– अनिमात्र म खुशी हुन्छु, मेरो आत्माले शान्ति पाउँछ, होइन भने यो चार गाउँमा विपत्ति आइरहने छ ।”

त्यसपछि राजाले माघे शुक्ल पञ्चमी तिथिको दिन पारेर गाउँलेहरुलाई त्यहाँ गाई काट्न लगाए, बोँगेरानीको नाममा मन्दिर निर्माण गरिदिए, धूमधामसँग गाउँलेहरुले बोँगेरानीको नाममा पूजा गरिदिए । त्यसपछि भने गाउँमा अनिष्ट हुन छाड्यो ।

+ + +

समय बित्दै गयो, विस्तारै उक्त आदिबासी बस्तीमा विभिन्न ठाउँबाट मानिसहरु आएर बसोबास गर्न थाले । हिन्दू धर्मावलम्बीहरुको वर्चस्व बढ्दै गयो, प्रकृतिका पुजारी स्थानीय आदिवासीहरुलाई गाई काटी बोँगेरानीलाई बली दिन रोक लगाए, गाईको सट्टामा मरेको गाईको दाम्लो चढाउँने नियम बनाइदिए ।

आज पनि माघे शुक्ल पञ्चमी तिथिका दिन उक्त बोँगेरानीको मन्दिरमा मरेको गाईको दाम्लो चढाएर पूजा गर्ने चलन रहदै आएको छ । बोँगेरानीको श्रापका कारण क्याक्मी वरिपरिका मानिसहरुले प्रगति गर्न नसकेको हो भनी अझै पनि बूढापाकाहरु भन्ने गर्छन् ।

(दन्त्यकथा कहिल्यै विश्वास नगर्नू, मायावी पात्रहरु आएर अनेक लीला गर्छन् यहाँ । पात्रहरुका अस्यिपञ्जरमा मांसपिण्ड भरिदिएपछि ती आफै जीवनलीला देखाउँछन्, लेखकसँग झगडा गर्छन्, लेखकलाई अनेक लाञ्छना लगाउँछन्, कहिलेकाहीँ लेखकलाई माया पनि गरिहाल्छन् । बडा अनौठा हुँदारहेछन् पात्रहरु ।

बोँगेरानीको अस्थिपञ्जर भेटेपछि यसलाई जीवित पार्न निकै सङ्घर्ष गर्नु पर्यो । जब रानीमा प्राणसञ्चार भयो त्यसपछि यो पात्र आफै कुदिरह्यो– भूमिराज राजा खोज्यो, मुसलमान युवक भेट्यो, ऊसँग प्रेम गर्यो । अन्ततः बोँगेरानी आफैधर्तीमा अलप भइन्– भग्नावशेषहरु छाडेर ।

यो साँचो कथा हो, यो झूटो कथा हो– विश्वास आफ्नो आफ्नो ।)

बाटुलेचौर–१६,पोखरा

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.