~छोगेल मोक्तान~
कालो रातमा खै के भयो आफ्नै छायाँ खोजेछु
सहारा कोही नभेट्दा आखिर अन्धकारलाई रोजेछु ।
सत्यले साथ नदिँदा झूठको आड़ लागेछु
विरक्तिएर होला मैले दैवलाई आफ्नो काल मागेछु ।
बिर्सिएर लक्ष्य मैले दोबाटोमा ढुङ्गालाई सोधेछु
ढुङ्गाको मौन भाषा नबुझ्दा अलमल परेछु ।
किनारको खोजी गर्दा गर्दै झण्डै भित्रै डुबेछु
हरेक साँझको आधा बोतलले भित्र भित्रै सुकेछु ।
अञ्जुलीभरका रेखाहरू सबै भाग्य ठानी मेटेछु
आडम्बरी तिम्रो रूपसँग मैले व्यर्थै माया साटेछु ।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)