कथा : पराजित अपराजिता

~केदारप्रसाद आचार्य~

आज १६ गते । संधैभन्दा पाँच मिनटअघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रति परिवार पेन्सन लिन दश नबज्दै कार्यालयमा आइसकेका हुन्छन् । तीमध्ये धेरै अशक्त, बूढा र रोगी हुन्छन् । थर्थराएका हातगोडा, लर्वराएको जिब्रो र धमिलिएका आंँखा लिएर ती ग्राहकहरु भीडमा धेरवेर सल्बलाउन नपरोस् भनी आवश्यक व्यवस्था मिलाउन म कोशिस गर्छु । समयको खोलाले पाखा लगाएका तिनलाई भरसक सुविधा उपलब्ध गराउन बुढौतीदेखि डराइरहेको मेरो मन मलाई बारम्बार ताकेता गरिरहन्छ । यिनको कुनै समयमा नाम थियो, पद थियो, शक्ति थियो, प्रतिष्ठा थियो । तर आज यी पेन्सन पट्टाको एउटा नम्बर बनेका छन् । र म यी नम्बरलाई मानिसको पहिचान र मान दिन प्रयत्नशील रहन्छु ।

यसरी पेन्सनपट्टाको नम्बरमा आफूलाई रुपान्तरण गर्न बाध्य हुनेको समूहमा अब युवतीहरुले पनि प्रवेश पाएका छन् । देशमा रहेको दश वर्षे ‘जनयुद्ध’मा पति गुमाएका सेना र प्रहरीका कलिला पत्नीहरु कोही एक्लै, कोही नानी च्यापेर र कोही नानीलाई स्कूल पठाएर पेन्सन लिन आइपुग्छन् । सरिता एउटी यस्तै  पेन्सनहोल्डर हो । पेन्सन बाड्ने दिन ऊ आउछे । लाम लाग्छे र पेन्सन लैजान्छे । पेन्सन भने पनि यो पेन्सन होइन । उसको पति सिपाही राजकुमार कार्कीले खाइपाइ आएको तलव रकम हो । राजकुमार कार्की ‘जनयुद्ध’मा मारिए पछि उसलाई राज्यले यो सुविधा उपलब्ध गराएको हो, हाललाई ७ वर्षसम्म ।

सरिताको पेन्सनपट्टा देखेर मेरो मन सिरिङ्ग हुन्छ । राईकी छोरी सरिताले जीवनको कुन मोडमा क्षेत्रीको छोरालाई मन पराउन पुगिहोली ? शायद कुनै पहाडी प्रहरी चौकीमा राजकुमार खटिएर गएको समयमा यिनीहरुको भेट भयो होला, मायाप्रीति बस्यो होला । गाउँमा सनसनी फैलाएर यिनीहरु भागेहोलान् र नयाँ जीन्दगीको तानाबाना बुने होलान् । बच्चा जन्माउँदा र हुर्काउदा यिनले कस्ता सपना देखेका थिए होलान् ? विराटनगर रानीमा कोठा भाडामा लिएर सरितालाई राखी ड्युटीमा र्फकदा चाँडै पुनर्मिलनको बाचा कसम पनि भएको थियो होला । तर आज उसँग पतिको फोटो भएको पेन्सनपट्टाबाहेक केही छैन ।
–    –       –
“सर हाम्रो पैसा बढेन ?” सरिता पेन्सन पट्टा लिएर मेरा सामु उपस्थित थिई ।

“तपाईंहरुको त बढेको छैन त ।” मैले भने ।

“अनि अरु सबैको बढ्यो त ?” उसले प्रतिवाद गरी ।

“अरुको पेन्सन मात्र हो, त्यो बढेको छ । तर तपाईहरुले त तलब नै पाउनु भएको हो, त्यो भने बढेकेा छैन ।” मैले स्पष्टीकरण दिएँ ।

“खै के हो, के हो ?” उसले भनी ।

खै के हो, के हो ? सारा जनता अन्यौलमा छन्, कर्मचारी अन्यौलमा छन्, व्यापारी र उद्यमी अन्यौलमा छन् । यी सबैलाई अन्यौलमा राखेर केहीले आफ्नो निजी जीवन र स्वार्थलाई स्पष्ट दिशा दिएका छन् । यही अन्यौलको मौसममा उनीहरुको बाली मौलाइरहेको छ । भाषण, नीति र घोषणाका मीठा बचनहरु व्यवहारमा कहीँ कतै भेटिदैनन् । सरिताले पनि पेन्सन बढेकेा समाचार पाएकी थिई तर व्यवहारमा ऊ छलिएकी छ । यसरी नेपाल नै छलिदै गएको छ, सरिता त एउटी सामान्य पात्र मात्र हो ।

“सर, चाँडो सही गरिदिनुस, मलाई हतार छ ।” सरिता पेन्सनको भौचरमा सही गराउन मेरो टेवुलमा आइपुगी । उसलाई मैले आज राम्री र भरखरकी देखेँ । मलाई लाग्यो उसको बिहे गर्ने उमेर त भरखर पो हुँदै थियो । उसले रातो लगाएकी थिइन । तर उसको लवाइले रातोलाई चुनौती दिएको थियो । जसले रातो राम्रो भन्ने उखान बनायो उसले सरितालाई देखेकेा थिएन । उ पहेंलो बुट्टे कुर्ता सुरुवालमा थिई । सेम्पुले धोएको कपाल हावामा उड्न खोजिरहेका थियो । गोरी र छरिती सरिता मेरो अघि पेन्सन पट्टा राखेर उभिइरहेकी थिई । ऊ मुस्कुराइ रहेकी थिई ।

कसैले उसलाई सरकारी अफिसमा बहाना बनाएपछि मात्र काम छिटो हुन्छ भनेर सिकाएको  हुनाले उसले हतारको बहाना बनाएकी हुनसक्छे । अथवा उसलाई आइमाईको अनुरोध बिक्छ भन्ने थाहा भइसकेको पनि होला । पेन्सन पट्टा बनाउन र मृत्युको क्षतिपूर्ति लिन उसले कति सरकारी कार्यालय कति पटक धाई होला ? ऊ यस मामिलामा मभन्दा बढी जानकार छ ।
“किन हतार गरेको त यस्तो ?” यो कुरा मेरो मुखबाट निस्केपछि मैले आफ्नो कुरा बेतुकको भएको पाएँ । उसको एउटा सामान्य अनुरोध थियो, जो पूरा गर्दा कसैलाई नोक्सान थिएन । उसलाई स्पष्टीकरण दिन लगाउन्जेलसम्म त म उको काम गरिदिन भ्याउँथे ।

“जोगबनी जानुपर्ने छ सर, पसलको सामान किन्न । पसलमा सामान सकिएको छ । यही पैसा पनि पसलमा लगाउनु पर्नेछ ।” ऊ खुलस्त भई ।
“कहाँ छ पसल ?” यो मेरो अर्को औचित्यहीन प्रश्न थियो ।
“जोगबनी जाने पुरानो बाटोमा छ सर ! चियानास्ताको पसल हो, कोल्डि्रड्ढस पनि छ । जोगबनी जाँदा निस्कनुस न !”
यतिन्जेलसम्ममा मैले उसको पेन्सन पट्टामा सही गरिसकेकेा थिएँ । अब ऊ ओझेल परिसेकेकी थिई ।

मैले विधवाको एकमात्र परिचय सरितामाथि थोपर्न खोजेको थिएँ । म फगत त्यही रुपमा मात्र उसलाई हेर्थें । तर मानिसको जीवन एउटा परिचयले मात्र न त पूर्ण हुन्छ न त धानिन्छ । पीर र पराजयको पल्लो फाल पुगेर आएकी उसलाई सुखको सास फेर्ने पनि अधिकार छ, रमाउने अधिकार छ, राम्रो लगाउने मीठो खाने अधिकार छ । मेरो हिन्दू पुरुष मनले यो सत्यलाई शायद पहिलो पटक स्वीकार गरेको थियो ।

आजको उसको चालढालमा वैधव्यको दुःखले चिहाउने मौका पाएको थिएन । उसमा नयाँ र प्रतिकूल परिवेशमा पनि जीवन आफ्नै तरिकाले बाँच्ने अठोट थियो । आज सरितालाई देखेर मलाई लाग्यो उसले जीवनले भोगेको क्षतिबाट ऊ केही उक्सेकी छ । उसले संसारमा खुट्टा टेेकेकी छ । उसले आफ्नो व्यवसाय पनि सुरु गरेकी रहिछ । फेरि बिहे गर्ने वातावरण मिल्यो भने ऊ सामान्य जीवन बिताउन समर्थ पनि हुनेछ ।
–    –       –
“यो चालू छ ।” सरिता पेन्सन बुझेरबाहिर गएपछि एउटा साथी आफ्नो धारणा राख्छ ।
“हो र ?” म  आश्चर्यजनक मुद्रामा प्रश्न गर्छु ।
“जोगबनी जाने बाटामा यसको सानो खाजा पसल छ । खाजा पसल भएपछि रक्सी त भैहाल्ने भयो । अरु काम पनि हुन्छ ।” साथी यसरी बोल्छ मानौ ऊ सर्वस्वीकृत तथ्य फेरि एक पटक दोहोर्‍याइरहेको छ ।
“होइन, उसको केटा छ । मैले कतिपटक त्यही केटासँग सरितालाई देखेको छु ।” अर्कोको धारणा अर्कै छ ।
“कहिले कोसँग हिड्छे, कहिले कोसँग ।” पहिलो चालूवाला धारणामा अडिग छ ।
“यिनीहरुले सात वर्षपछि पेन्सन पाउँछन् कि पाउँदैनन् होला ?” अर्को आवाज सुनिन्छ ।
“सात वर्षपछि आधा देला ।”
“बीचमा बिहे गर्नेले पाउँछन् कि पाउँदैनन् हँ ?” अर्को जिज्ञासा देखापर्छ ।
“सरितामा आँखा लाग्यो कि उसको पेन्सनमा ?” जिस्किने मुडमा कोही रहेछन् ।
“मैले नै किन आँखा लगाउनु पर्‍यो र ? लगाउनेले लगाउलान् नि । राम्री छ, उमेरदार छ ।” प्रतिरक्षा सामान्य थियो ।
“होइन, यो त महिला पुनस्र्थापना केन्द्रमा पो थिई त ।” अर्को साथीले कुरा मोड्छन् ।
“लोग्ने नभए पनि माइत थियो होला, घर थियो होला किन पुनस्र्थापना केन्द्रमा ? फेरि क्षतिपूर्तिको रकम पनि त दिएको थियो ।” प्रतिवादमाथि अर्को प्रतिवाद आइलाग्यो ।
“आफैं भागेर बिहे गरेकीले माइती गइन र घरमा त्यही क्षतिपूर्तिको पैसालाई लिएर झगडा भयो । त्यसैले आफूले डेरा बसेका ठाउँमै फर्की । पुनस्र्थापना केन्द्रमा त स्वरोजगारको तालिम लिएकी हो । हस्तकलाका सामान बनाउन सिक्थी । तर त्यहाँ त बस्दिन क्यार । ”
“तपाईलाई त धेरै थाहा रहेछ त ?” मैले भनेँ ।
“हाम्री काकी महिला पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ । उहाँले नै भन्नु भएको ।” साथी आधिकारिक देखियो ।

सरिता पेन्सन लिएर गएपछि कार्यालयमा भएका यी कुराले मेरो मन हुँडलिन्छ । म असमञ्जसमा पर्छु । उसलाई मैले त्यो रुपमा त सोचेकै थिइन । नेपाल प्रहरीको एक जवानकी विधवाको यो रुपमा प्रस्तुति मलाई पटक्कै मन परेन । तर म अवाक् सुनिरहेँ । ऊ सहिदकी पत्नी, हस्तकलाको सामान बनाउने, खाजा पसले, रक्सी पसले वा देह व्यापार गर्ने महिलामध्ये को हो ? कि ऊ यी सबै हो ? कि ऊ यी सबै होइन र उसको जीवनको अर्को अलग रंग छ ? म उसप्रतिका विभिन्न मानिसका विभिन्न धारणा देखेर छक्क परेँ । ती सबै धारणामा ऊप्रति सम्मान र सहानुभूति नदेखेर झन् तीनछक्क परेँ ।

ऊ पुरुषप्रधान समाजकी युवा र एक्ली नारी हो । त्यसैले ऊ सबै पनि हुनसक्छे र केही नहुन पनि सक्छे । तर उसलाई हरेक बिल्ला भिराउन समाज स्वतन्त्र छ ।
–    –       –
सरिताको पसल रहेछ जोगबनी जाने बाटोमा । चिया खाजाको सानो पसल, कोकाकोला फेन्टाका क्रेटहरु, सस्ता रक्सीका सिसीहरु, अनि पर्दा पर्दा लगाएको एउटा भित्री कोठा । पसल हेर्दा लाग्थ्या, यहाँ विहान दिउँसो चिया खाजा बिक्छ र साँझमा रक्सी । सरिता पसलमा थिई ।

“नमस्कार सर !” सरिताले मलाई ठम्याई ।

“नमस्कार ! तपाईँको पसल हेर्न आएको नि !” मैले भने । मेरो ग्राहक भएकाले मैले उसलाई तपाई भन्नु पथ्र्यो तर मेरो पुरुष अभिमान उसलाई तपाई भन्न तयार हुँदैनथ्यो । त्यसैले म पहिला तिमी र तपाई दुबै सम्बोधनलाई मिल्ने किसिमका क्रियापद राखी ऊसँग कुरा गर्थेँ । उसको पसलमा भने मैले उसलाई तपाईँ भन्नु उपयुृक्त ठानेँ ।

“उहाँ बैंकको सर ।” उसले आफ्नै उमेरकी अर्की महिलालाई मेरो परिचय दिएर नमस्ते गर्न लगाई ।
“उहाँ चै को नि ?” मैले नमस्ते फर्काएर परिचय सोधें ।

“ऊ मेरी दिदी हो सर ! छेमाकी छोरी । ऊ उतापट्टी लागेकी थिई । भेना पनि उतै थिए । भेना खसेपछि ऊ पनि घर फर्की । हाम्रो पनि त्यस्तो भए पछि दुई जना दुख्याहा दिदीबहिनी मिलेर पसल खोलेकेा सर ! यसको काकाको घर यतै भएकाले आड भरोस पनि छ । सरकारले दिएको पैसाले किनेकेा दश धुर घडेरी पनि नजिकै छ ।” उसले एक सासमा आफ्नो बृत्तान्त सुनाई ।

“फेरि आउनोस् ! अर्को पटकबाट लिउँला ।” खाजाको पैसा तिर्न खोज्दा सरिता अन्कनाई ।
“तपाईँको मात्र भए त तिर्ने थिइनँ । साझे रहेछ ।” म जिस्के ।
“मेरो तर्फबाट पनि माफ भयो ।” दिदी चाहिँ भाँडा माझ्ने ठाउँबाट सुनिरहेकी रहिछ ।
“अहिले भाडमा सानो पसल रहेछ, आफ्नै घरमा पसल सारेपछि पैसा तिर्दिन ।” मैले जोड गरेर पैसा तिरेँ ।

जोगबनीबाट फर्केर आएपछि मेरो मन बेचैन भयो । नेताको भाषण सुन्छु, सरितालाई सम्झन्छु । देशलाई सेवा गरेकेा नाममा भजाइएका सत्ता र सुविधाका चेकहरुबारे पढ्छु, सरितालाई सम्झन्छु । उसले देशलाई सिँउदो दिएकी छ र जोगबनी जाने बाटोमा चियाका गिलास पखालिरहेकी छ । उसले शरीर बेचेकेा हल्ला बजारमा छ । सरिता बेश्या भएको हल्ला चल्नु सरिताको होइन समाजको बेइज्जती हो ।

यी दिदीबहिनी एउटा युद्ध लडिरहेका रहेछन्, जीवनको युद्ध, सार्थक युद्ध । देश र जनताका लागि सिँउदो दिएर पनि कतैबाट नसोधिएका र केहीको आश नगरेका यी दुईप्रति मेरो मनमा अगाध श्रद्धा जागेर आयो । उनीहरुकोे आशावादी, जीवनवादी सोच र यथार्थलाई स्वीकार र सामना गर्ने आँट देखेर म निहुरिएँ ।
–    –       –
“सर, अव  हामीलाई के हुन्छ ?” जनआन्दोलनको सफलतापछि उसले मलाई सोधी । उसको आवाजमा डर र आश के थियो मैले ठम्याउन सकिन । उसको पति ‘जनयुद्ध’मा जसको तर्फबाट लडेको थियो त्यो सत्ता हारिसकेको थियो । यसबाट ऊ हतास भएकी पनि हुनसक्थी । फेरि द्वन्द्व  पीडितलाई राहत र पुनस्र्थापनाको कुरा पनि थियो । ऊ पनि त द्वन्द्व पीडित थिई । यो नयाँ परिस्थितिमा उसले आफ्नो ठाउँ पत्ता लगाउन सकेकी थिइन । के उसको पैसा बढ्छ ? कि त्यो पनि बन्द हुन्छ ? के उसले राज्यको सुरक्षामा समर्पित हुँदा मृत्युवरण गर्न पुगेको सुरक्षाकर्मीकी पत्नीको सम्मान पाउँछे ? कि उसलाई पुरानो राज्ययन्त्रसँग जोडेर हेरिनेछ । उसले सम्मान, सहानुभूति वा हेला के पाउँछे ? राज्यको सिपाहीको रुपमा कर्तव्य पालना गर्दगर्दै उसको पतिले मृत्युवरण गरेको थियो तैपनि राज्यबाट संरक्षण पाउनेमा ऊ ढुक्क थिइन । उसको आँखा प्रश्नमय थिए र उत्तर मसँग पनि थिएन ।

सबैको जितमा उसैको मात्र हार कसरी हुन सक्ला र ? मेरो सोझो मनले प्रश्न गर्छ । यो ‘जनयुद्ध’मा सबैले जितेका थिए । जसले ‘जनयुद्ध’ शुरु गरे र मूलरुपमा जसका विरुद्ध ‘जनयुद्ध’ गरे दुबै पक्ष विजयको खुशीयालीमा थिए । अहिले हेर्दा त यो ‘युद्ध’ सरिताकोे पतिले मात्र हार्यो । आफ्नो पति गुमाएर सरिताले हारी । सुगौलीको सन्धिपछि अमरसिंह थापाले आत्मग्लानि महसुस गरे झै यो युद्ध समापनको सम्झौतापछि कसैले आत्मग्लानि महसुस गरेन । उसलाई यो युद्ध आज फर्केर हेर्दा नक्कली युद्ध जस्तो लाग्छ । आफ्नो मिसनमा अडिग त बरु राजकुमार कार्की मात्र रह्यो । उसको अस्तित्व अहिले सरिता राईको हातमा रहेका पेन्सनपट्टामा फोटो बनेर रहेको छ ।

“तपाईँहरुलाई के हुन्छ होला र ? यो सुविधा यथावत हुन्छ नै ।” मैले सजिलो उत्तर खोजेँ ।
–    –       –
विराटनगर

(स्रोत : शब्द-संयोजन भाद्र २०६८ अङ्क ८८)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.