समालोचना : देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण

~अजय रिसाल~

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६—२०१६ ) का अनेक कृतिहरुमा “पागल” शीर्षकको गद्य कविताले प्रमुख स्थान ओगटेको पाइन्छ । नाटककार समले उनको ‘पागल’ (२०१०)सँग तेश्रो जन्म भएको उल्लेख गरेका छन्, पहिलो जन्म ‘मुना—मदन’(१९९६), दोस्रो ‘शाकुन्तल’(२००२) । यसैबाट ‘पागल’ र देवकोटाबीच बेग्लै साइनो रहेको विदित हुन जान्छ । प्रकृति–प्रेम र झ्याउरे लयप्रतिको लगाव ‘मुना–मदन’ले देखाउँछ भने महाकाव्य रचनाप्रतिको उत्साह अनि समकक्षीहरुसँगको होडबाजीको उत्कर्षका रुपमा ‘शाकुन्तल’ देखापर्दछ । यी सबैदेखि भिन्न आफ्ना जीवनका भोगाइहरु, समकालीनहरुसँगको सम्बन्ध, समाजमा अभिव्यक्त रहेको प्रेम–घृणाका उपज अनि शासक–वर्ग, विद्वत् वर्ग प्रतिको विद्रोह,सबैको समष्टीगत संयोजनका रुपमा देवकोटाको ह्रदयको मार्मिक उद्गार बनेर ‘पागल’ देखापरेको मान्नुपर्दछ ।

गद्य कविताको उच्च कोटिमा स्थानापन्न गर्न मिल्ने यो कवितालाई ७ हरफमा बाँडिएको छ । यस विभाजनमा शब्द र संख्याको वा वाक्य गणनाको आधार देखिंदैन, बरु सन्दर्भहरुमा अलिकति भिन्नता भएको हो कि भनी विचार गर्न सकिन्छ ।

“साथी” भनेर सम्बोधन गरी कविताको शुरुवात हुन्छ अनि बेला–वेलामा ‘तिमी’ सर्वनाम पनि प्रयोग भएको छ । उक्त सर्वनाम महापण्डित राहुल सांकृत्यायनलाई हो या जनकलाल शर्मा अथवा हामी पाठक सर्वसाधारणका लागि प्रयुक्त भएको हो, यसमा लेखकहरुको आ–आफ्नै विश्लेषण भएको पाइन्छ , जसको चर्चा यस लेखमा यथास्थानमा गरिने नै छ ।

उनी आफूलाई ‘पागल’ नै हुँ भनी घोषणा गर्दै आफ्नो हाल त्यस्तै नै रहेको स्वीकार्दछन् । सर्वप्रथम उनी आफू शब्दलाई देख्न, दृश्यलाई सुन्न अनि बास्नाको स्वाद लिन सामथ्र्यवान् भएको कुरा बताउँदै संसारले अस्तित्वमा नै नमानेको आकाशभन्दा पातला कुरा छुनसक्ने उद्घोष गर्दछन् । पहिलो हरफमा ‘शब्द दृश्यवान् हुने, दृश्य श्राव्य बन्ने अनि बासना स्वादिलो रहने’ भनेर मानसिक रोग ‘साईकोसिस’ को लक्षण अभिव्यक्त्त भएको छ ।तर आकाश भन्दा पातलो कुरा भनेर भगवद्गीताले मानेको ‘आत्मा’ लाई छुने हैसियतमा रहेको ठोकुवा गर्ने देवकोटालाई के पागलपनकै लक्षण देखापरेको भनेर न्यूनीकरण गर्नुृ उपयुक्त होला र? ‘म शुन्यमा शुन्यसरि बिलाएँ’ भनेर जीवनको अन्तिम क्षणमा अध्यात्मको चरमोत्कर्षको उद्गार गर्नसक्ने देवकोटाले आत्मज्ञानको दार्शनिक उद्घरण व्यक्त गर्दा ती सबलाई बहुलठ्ठीपनको कोटिमा राख्न तम्सिने समाजले देवकोटाप्रति गरेको अन्याययको लेखाजोखा कसरी हुने होला ?

‘ढुंगालाई पूmल देख्ने, नदी–सरोवर किनाराका ढुंगामाटो, बालुवा तथा वटवृक्षलाई चन्द्रमा अनि जादुगर्नी सरह मानेर तिनीहरुसँंग मूक–भाषा बोल्ने’ कविलाई प्रकृतिप्रेमी अनि कल्पनाका धनी नमानेर ‘पागल’ठान्ने समाजलाई, आफूलाई पागलै माने पनि आफ््नो प्रकृतिप्रतिको मोह नडगमगाउने चुनौती दिन पनि पछि पर्दैनन् देवकोटा । त्यस्तै, गणित एवं शास्त्रहरुमा पारंगत विद्वत् समाज अनि पण्डितहरुलाई आफू छैठौं ईन्द्रियले काम गर्ने ह्रदयप्रधान व्यक्ति रहेको कुरा स्पष्ट पार्दै तिनको मस्तिष्क ढुंगासमान कठोर, बाक्लो, जमेको अनि बलियो रहेता पनि आफू कोमल मुटुद्धारा सपनालाई समात्ने जमर्को गर्दै बाँचिरहेको तथ्य उजागर गर्दछन्, जसलाई घडीले जनाउने समयको कुनै वास्ता छैन, जो सुन र हीराभन्दा काँढालाई मूल्यवान् सम्झन्छ ।

‘पागल’कवितामा अध्यात्म दर्शनका उद्घरण अनि प्रकृतिप्रेमका दृष्टान्तहरु मात्र छैनन्, यसमा कविका जीवनका भोगाइहरुको सत्य एवं तथ्यपरक मार्मिक अभिव्यक्तिहरु पनि छन् जसले कवि देवकोटाको मनोसामाजिक पक्षहरुको विवेचना गर्ने अवसर दिलाउँछ ।

वास्तवमा देवकोटा दुःखै दुःखको अथाह समुद्रमा तैरिएर या जीवनरुपी महासागरलाई ५० बर्षको छोटो समयमा नै पार गरेर पनि नेपाली समाजलाई साहित्यको मीठो कोसेली प्रदान गर्न सक्ने महान् हस्ती हुन् । किम्बुको पात खाएर रेशम ओकल्ने रेशमकीरा सरह मानौं या तुच्छ घाँस खाएर अमृतसमान पयोधारा बर्साउने कामधेनु गाई !

“दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे ” भन्ने समको उक्ति देवकोटामा लागू हुन्छ । उनी दुःखी भए जीवनभर, उनको कवि—कुञ्जमा लेख्ने कागज र कोर्ने मसीसमेत थिएन तर माता सरस्वती उनीसँंगै प्रसन्न थिईन् र उनको लेखनीमै बास बस्थिन् ।

उनको ५० वर्षे जीवनका क्षणहरुको अध्ययन गर्दा अधिकांश क्षण दुःखमा नै बितेको अवगत हुन्छ । बी.ए.बी.एल. गरेर दिनको १८ घण्टा ट्यूसन पढाउँदा पनि उनलाई सधै हातमुख जोर्ने नै समस्या परिरह्यो । २१ बर्षको उमेरमै शिक्षण जागरणका लागि लाईब्रेरी स्थापना गर्ने उद्देश्य लिंदा पनि तात्कालिन शासक (भीमसमशेर)ले उनलाई कारावास एवं दण्डजरिवाना गराए । २५ बर्षको उमेरमै आमा अनि लगत्तै पिता र २ महिनाकी छोरी गुमाउन पुग्दा पनि ‘मुनामदन’जस्ता रचना पस्किए उनले । तर २६ वर्षको उमेरदेखि नै अत्याधिक धुम्रपान अनि केही मानसिक समस्याहरुले बिथोल्न थाल्यो तिनलाई । अत्याधिक तनाव, पारिवारिक आघात, आर्थिक अभाव अनि तात्कालिन राणा शासकहरुको शोषण आदि कारकतत्वहरुले तिनको मानसिक रुग्णतामा प्रभाव पारेको मान्न पनि सकिन्छ ।

१९९३–९४ तिर कलकत्तामा गीत रेर्कडिङ्ग गराउन पुगेका तिनले फर्कने बेलामा रेलयात्राका क्रममा मानसिक रोगका लक्षणहरु देखाएका थिए । ‘बोलीमा नियन्त्रण गर्न नसक्ने, खर्चमा सन्तुलन नहुने, अत्याधिक चुरोट पिउने, ननिदाउने’ जस्ता समस्याहरु देखा परेको उनलाई अन्ततः पारिवारिक एवं सामाजिक जिम्मेवारी निर्वाह गर्नमा नै कष्ट पर्न गएको हँुदा १९९५ तिर भारतको राँची लागिएको थियो । करीव २–३ महिना त्यहाँ उपचार गराउँदा मृगेन्द्रसमशेर, ब्रम्हसमशेर आदिले आर्थिक सहयोग गर्ने गरेको र उनका दाजुभाइहरु आलोपालो उनीसँगै रहने गरेको देखिन्छ । उनको उपचारमा संलग्न मनोविज्ञ वर्कले हिलले उनलाई ६ महिना घरपरिवारबाट अलग रहने सल्लाह दिएको तर त्यो व्यावहारिक रुपमा लागू हुन नसकेको उनका दाजुसँग आदानप्रदान भएका चिठ्ठीपत्रहरुद्वारा ज्ञात हुन आउँछ । तर राँचीबाट काठमाडौं आएपछि विभिन्न कारणहरुले गर्दा औषधोपचारमा निरन्तरता कायम रहन नसकेको देखिन्छ । यद्यपि यस्तो अवस्थामा पनि उनले आफ्नो साहित्यिक धर्म भने निर्वाह गरी नै रहे । १९९६ देखि २००४ को बीचमा ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’ जस्ता काव्यहरु, ‘यात्री’ जस्ता कविताका साथै अनेकौं लेख निबन्धहरु प्रकाशित भए उनका । २००३ मा त्रिचन्द्र कलेजमा प्राध्यापन, नेपाली साहित्य परिषद्जस्ता साहित्यिक अनि केही राजनैतिक कृयाकलापहरुमा पनि अनुबन्धता रहेको देखिन्छ उनको । २००४मा आफ्नै सभापतित्वमा तिनले विराट साहित्य सम्मेलन पनि आयोजना गरोका थिए ।

२००४ साउन ४ गते अचानक बनारसतिर लागे उनी । यसमा उनको मानसिक समस्या नै कारक थियो या अन्य कुनै राजनैतिक कारण, त्यसै भन्न सकिन्न । त्यही समयमा उनका छोरा कृष्णप्रसादको दुःखद मृत्यु भएको, उनको घरमा सैनिकहरुले खानतलासी गरेको अनि राणशासकहरुले उनको घर रोक्का , जग्गा जफत गरेको देखिन्छ । त्यस समयमै लेखिएका उनका रचनाहरुले पनि उनमा रहेको विद्रोही भावना या उदासीनता नै दर्शाउँछन्,

“…………स्वदेशमा देश पाइएन, घरमा घर पाइएन……………।”

यसरी घर छोडेर प्रवास पुगेका उनलाई खोज्दै उनकी पत्नी पनि बनारस पुगिन् २००५ मा, उनी भने त्यहाँबाट कलकत्ता हान्निए अनि दार्जिलिङ्ग तिर ।

मानसिक रोग (उदासीनता) या अन्य जेसुकै कारण भएतापनि प्रवासमा रहँदा समेत उनको लेखन कार्य जारी नै थियो तर २००६ मा उनको शारीरिक कमजोरी एकदमै बढ्यो र लेखन कार्यमा अर्धविराम लाग्न पुग्यो । ‘मलेरिया’ लागेको आशंकामा शासक वर्गसँग बिन्तीभाउ गरी उनलाई स्वदेश नै फर्काइयो । अलिकति स्वस्थ हुनासाथ उनी फेरि साहित्य र राजनीतिमा सक्रिय भइहाले । प्रजातन्त्र ल्याउनका लागि तिनको रचनात्मक योगदान त थियो नै, त्यसका साथै लेखक संघको स्थापना, विभिन्न क्षेत्रको भ्रमण, साहित्य रचना समेत द्रुतगतिमा कायम रह्यो ।

२००९ मा जेठा छोरा प्रकाशको मृत्युले उनलाई साहित्यमा आफूलाई साथ दिन सक्ने २१ वर्षे साथीको अभावको कारण केही मानसिक तनाव अवश्य दियो भन्नुपर्दछ ।

२०१० मा भारतीय पर्यटक राहुल सांकृत्यायनसँग भेट भयो उनको । सांकृत्यायनको ‘नेपाली महाकवि देवकोटा’ शीर्षकको हिन्दी लेखमा अभिव्यक्त ‘उनलाई राँची लगिएको…..’ प्रसंगका कारण भाञ्जाका रुपमा सम्बोधन गरिने गरिएका जनकलाल शर्मासँग ‘पोल खोलेको’मा रिसाएर गाली गर्र्दैे हिंडेको र त्यही रात क्रोध र आवेशमा आएर तिनलाई र राहुललाई समेत सम्बोधन गरी ‘पागल’ कविता रचना गरेको जनकलाल(२०३२) ले आफ्नो पुस्तकमा लेखेका छन्, तर अन्य लेखक (बसन्तकुमार शर्मा, कुमारबहादुर जोशी)का अनुसार देवकोटाले ‘पागल’ कविता २००८ मा नै नक्साल रात्रि पाठशालाको जन्म–जयन्तीका अवसरमा सुनाएका र त्यसबेलामा त्यहाँ उपस्थित लेखकहरु निक्कै नै प्रभावित भएका थिए । २००८ या २०१० जहिले भए पनि कविताको चौथोदेखि अन्तिम हरफसम्म नै उनको मन— मस्तिष्कमा अटेस मटेस रहेका जीवनभरिका पीडा, दुःख, व्यथा, समाजप्रतिको आक्रोश, विद्वत् एवं शासकवर्गप्रतिको विद्रोह छाताछुल्ल पोखिएको हामी पाउँछौं जसले हामी पाठकहरुलाई भावनामा बगाएर आँसु खसाल्नसमेत विवश पारिदिन्छ ।

‘प्रगति’ द्वैमासिकको दोश्रो अंक ( २०१०) मा प्रकाशित ‘पागल’ को चौथो हरफमा उनले आफूलाई राँची लगिने समयको आफ्नो मानसिक अवस्था र त्यसपछिका दिनहरुमा परिवारजन, मित्रवर्ग एवं समाजले देखाएको घृणा, तिरष्कार, अवहेलना आदिलाई कवितात्मक भावमा प्रस्तुत गरेका छन् । समाजले उनलाई ‘तरंगी, भूत लागेको, छटाएको, बहुलाहा’ आदि नाम दियो । उनलाई बाँधियो, चिमोटियो अनि पागलखानामा लगियो । उनले अरुको दुःखमा रुन पाएनन्, न त आफ्नो दुःखमा नै आहत भएर चिन्तित रहने समय नै पाए । खाना खाने बेलामा फेर्ने धोतीसमेत जोर्न नसक्ने आर्थिक दुरावस्थामा पुग्दा उनी आफूलाई मूर्दा समान नै ठान्दथे र एक साँझ लम्पसार सुतिदिएका थिए । त्यस समयमा उनकै सहकर्मी साहित्यकार (केदारमान व्यथित) ले उनलार्ई चिमोटेको प्रसंग उनले नै कतै व्यक्त गरेका थिए जसलाई यस कविताको चौथों हरफको अन्तिम वाक्यमा हुबहु उतारिदिएका छन् । त्यसैले उनलाई ‘पागल’ बनाउने समाज नै थियो भन्ने प्रष्ट हुन जान्छ । वास्तवमा आफ्नो आर्थिक दुरावस्थाको पीडा र विद्रोही मानसिकतको प्रतिबिम्ब उनका अन्य रचनाहरुमा समेत यथेष्ट रुपमा पाइन्छ, जस्तै “तीज” शीर्षकको कथा, “गरीब” कविता आदि !

पाचौं हरफमा पुगेपछि देवकोटा ‘तिमी’ सम्बोधन गर्दै समाजलाई (विद्धत् वर्ग, शासकहरु) चेतावनीस्वरुप आफ्नो ह्रदयको कडा भाषा सुनाउँदछन् । उनीहरुको मोजमस्तीको मदिरा गरीबको रगतसमान छ, व्यभिचारका अंगहरु लाश समान छन्, पण्डितहरु मूर्ख, सुन–फलाम अनि तिनको धर्म पापसमान, चलाखी मूर्खता, उन्नति अवनति सरह ठान्दछन् देवकोटा । त्यस कारण उनी आपूलाई ‘पागल’ कहलाइनुमा नै गौरवान्वित हुन्छन् ।

उनी समाजका अगुवाहरुलाई अन्धा मान्दछन् भूपि शेरचनको “घुम्ने मेचमा रहनेहरु” जस्तै जो साँचो न्याय निसाफ गर्न सक्दैनन् । त्यस्तै गुफामा रहने तपस्वीहरु भगुवा हुन् जो समाजमा टिक्न सक्दैनन् । त्यसैले त यहाँ जाली फटाहाहरु सफल बन्दछन् , साधुसन्तहरु असफल ! यसमा साँच्चै नै देवकोटाको ह्रदय बोलेको छ, वेदना उर्लिएको छ। पीडाको रापमा जलेर उनी ‘दिवाना’ बन्दछन् ।

सातौं हरफमा आएर उनी राजनैतिक नेताले झै जन–अधिकारको माग गर्दछन् । शासकहरु निर्लज्ज छन्, पत्रपत्रिकामा छापिने भँगेर–टाउके अक्षरहरु झुठा कुरा बक्दछन्, ठूलाले सानालाई, बलियाले निर्धालाई निलेका छन् । यी सब देखेर उनी क्रोधको ज्वालामुखी निकाल्न विवश हुन्छन्, विद्रोह गर्दछन् र भीमसेनले झैं क्रोधाग्नि निकाल्दछन् उनी । साँच्चै नै अमानवीयता र अन्याय–अत्याचारका विरुद्घमा देवकोटा क्रोधित छन्, विद्रोही बनेका छन् ,आवश्यक परे ‘पागल’ नै बन्न पनि तयार छन् ।

यसरी सात हरफमा बाँडिएको उनको ‘पागल’ कविता पूरा हुन्छ । मानसिक रोगका लक्षणहरु, तत्वज्ञान ÷शास्त्रका दार्शनिक सूत्रहरु, मानसिक रोगीले पाउने घृणा तिरस्कार अनि दुर्वचनहरु, तिनलाई नजानिंदो तवरले गरिने ‘छोइछिटो’ जस्ता व्यवहारहरु (जो आजको समाजमा समेत कायम छ), राजनैतिक चेतनाका दृष्टान्तहरु, विद्रोहका ज्वालाहरु सब एकसाथ यसमा पोखिएको छ ।

हो , देवकोटा जीवनमा एकपटक मानसिक रोगका कारण राँची लागिएका थिए या पुगेका थिए । मानिस भएपछि रोग लाग्दछ, जो शारीरिक या मानसिक जुनसुकै पनि हुनसक्छ । मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता शारीरिक रोग लाग्दा समाजले अर्कै व्यवहारले हेर्ने गर्दछन् । त्यसका कारण अस्पताल भर्ना हुँदा भेटघाट गर्न दौडधुप गर्ने अनि प्रचार गर्ने परिवार एवं समाज मानसिक रोग लाग्दा भने किन लुकाउने, छिःछिः दुर् दुर् गर्ने गर्दछन् त ?

देवकोटालाई मानसिक रोग लागेकै आधारमा तिरस्कार गर्ने समाजले उनीबाट फाइदा लिन भने कहिल्यै अप्ठ्यारो महसूस गरेन । त्रिभुवन विश्वविद्यालय होस् या प्रज्ञा प्रतिष्ठान, दुवैैको स्थापना प्रयासमा ती भरमग्दूर रुपले लागे । छोटो समयको शिक्षा मन्त्रित्वकालमा तिनले सकेको गरे । रुस, चीन, भारत आदि देशमा नेपाली साहित्यिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दे तिनी पुगे र प्रतिवेदन पेश गरे, वाहवाही बटुले तर तिनकै तलब रोक्का गर्ने घृणित कार्य प्रजातान्त्रिक सरकारले नै ग¥यो । क्यान्सरका कारण छटपटाई छटपटाई ‘पोटासियम साईनाइड’ माग्नुपर्ने अवस्थामा ती पुगे । अर्थाभावमा नै पिल्सिएर आधा आयु मात्र बाँचे यी महान् कवि !

सृजना शक्ति र मानसिक रोगबीच सम्बन्ध देखाउन हालसालै पनि थुप्रै अध्ययन एवं शोध कार्यहरु भएका छन् । हेमिङ्वे, वल्फ, सिल्भिया प्लाथ, टोल्स्टोय जस्ता सर्जकहरु पनि जीवनका कुनै क्षण मानसिक रोगका शिकार भएका थिए । सन् २०११–१२ मा भएका थुप्रै अध्ययन कार्यले साहित्यकार ÷चित्रकार÷वैज्ञानिक आदि सृजनामुखी वर्गमा सिजोफ्रेनिया, बाइपोलार डिसअर्डर, डिप्रेसन, मद्यपान ÷धुम्रपान आदि जस्ता मानसिक रोगहरु ज्यादा देखिएको अनि तिनमा आत्महत्याको दर पनि ज्यादा हुने तथ्यहरुको प्रामाणिकता देखाउन खोजे तापनि सफलता पाउन सकेका छैनन् । सन् २०१२ को ‘साईन्स डेली’ ले ‘डोपामिन’नामक रासायनिक पदार्थको यसमा भूमिका हुन सक्ने देखाएको छ तर वैज्ञानिक पुष्टी भने भैसकेको छैन ।

मनोवैज्ञानिक क्षेत्रको अध्ययन अनुसार सृजनशील मस्तिष्क “हाईपोम्यानिया” भनिने भावनात्मक उद्वेगमा बढी काम गर्ने गर्दछ जसका कारण भोक–शोक–निद्रा बिर्सेर कल्पनाको संसारमा नै विचरण गर्ने गर्दछन् सर्जकहरु । देवकोटाले ३ महिनामा ‘शाकुन्तल’, १० दिनमा ‘सुलोचना’ अनि एक रातमा ‘कुञ्जिनी’ तयार गर्न सकेको यसैको फलस्वरुप थियो कि ? अनुसन्धानको विषय हो यो ।

अर्को पक्षबाट विचार गर्दा सृजनशीलताको सकारात्मक प्रभावका कारण नै जीवनका दुःखदायी क्षणहरु, अर्थाभावका पीडाहरु, सामाजिक तिरस्कारहरु, शासकीय शोषणहरु सबैलाई भुलेर त्यसका नकारात्मक दुष्पारिणामले तिनलाई गलाउन नसकेको र तिनी काव्य रचनातिर निरन्तर लागिरहन सकेका हुन् कि? क्यान्सर जस्तो दुःसाध्य रोग नलागेको भए तिनले केही वर्ष अझै बढी हामीलाई साहित्य रचना पस्कन पाउने थिए कि ? नेपाली साहित्य अझै बढी धनी बन्ने थियो कि ? उनैले घोषणा गरेको ‘उद्देश्य के छ लिनू ? उडी छुनु चन्द्र एक ?’ भने झैं उनी नेपाली र अंग्रेजी दुवै साहित्यमा परिष्कृत रचना दिएर नोबेल पुरस्कार विजेता नै पो बन्ने थिए कि ?

यी सब सुखद कल्पनाहरुलाई यहीं नै टुंग्याएर माथि उल्लेखित मनोवैज्ञानिक तथ्यहरुमाथि विचार गर्दै देवकोटाको जीवनी, घटना–परिघटना, उतारचढावका क्षणहरुलाई ह्रदयंगम गरी उनको ‘पागल’ कवितामा अभिव्यक्त शब्दहरुको गहिराइमा डुवुल्की मार्दा एक पटक राँची पुगेको आधारमा तिनलाई समाजले हेर्ने गरेको नजरप्रति पीडादायी गुनासो गर्दै तथाकथित विद्वत् वर्ग अनि मुलुक र जनताको शोषणमा प्रवृत्त शासक वर्गप्रतिको विद्रोहको प्रतिबिम्ब मान्न सकिन्छ यसलाई । यसको मर्मलाई बुझेर पढिदिए मात्र पनि पाठक वर्गले देवकोटाप्रति न्याय गरेको ठहर्दछ ।

–डा. अजय रिसाल
मानसिक रोग विशेषज्ञ
धुलिखेल अस्पताल

सन्दर्भ सामाग्री ः
१.बन्धु, चुडामणि. २०६७, ‘देवकोटा’, चौथो संस्करण, साझा प्रकाशन ।
२.शर्मा, जनकलाल. २०३२, ‘महाकवि देवकोटा—एक व्यक्तित्व, दुई रचना’. साझा प्रकाशन ।
३. घिमिरे, भवानी. २०५९.‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’. विद्यार्थी पुस्तक भण्डार ।

(स्रोत : मधुपर्क २०७१ कार्तिक)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.