~त्रिचन्द्र ‘प्रतीक्षा’~
“के भयो राजु ! किन रुदैछौं ?”
“आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।”
“किन ?”
“आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी थिइन् र मैले स्कूलको फिस माग्दा त मलाई पनि पिट्नु भो ।”
“हत्तेरीका ! यसमा रुनुपर्ने कुरा के छ र ! तिम्रो फिस म तिरिदिउँला” उसका स–साना आँखामा मुस्कानका रेखाहरु दौड्न थाले ।
“तर श्याम, तिमीले यत्ति धेरै पैसा कहाँबाट ल्याउँछौ ? तिम्रो बा पनि छैन ।”
“तिमी जान्दैनौ, मेरो आमा कति काम गर्नु हुन्छ ।”
“साँच्चै ! तिम्रो आमा के काम गर्नुहुन्छ ? बताउन, म पनि मेरो आमालाई त्यही गर्न भनुँला ।”
“थाहा छैन । तिमी आफ्नो बुबासँग सोध्नु नि उहाँ त हरेक दिन राति हाम्रो घरमा आउनु हुन्छ ।”
(स्रोत : मधुपर्क २०७२ मंसीर)