~मनु कन्दङ्वा~
काठेचराले
ठुँगेर ध्वन्द्रो बनाएको
त्यो बूढो बकैनाको रुख
आजकल
ब्याङ्पाटेको गुँड बोकेर
उभ्भेको छ
तन्नेरी छउन्जेल
लुछ्यो कति चिउला भन्दै
राम्रो सँग
हुर्कन नपाउँदै पातहरु र
खुवायो सुत्केरी
बाख्राहरुलाई
अनि हुर्कन लागेको झ्याम्ले
पाठाहरुलाई
कति निलो फूल
फूल्न नपाउँदै हाँगाहरु छाँसेर
टाट्नाको बोकाहरुलाई
खुवायो त कत्ति
चरनको बोकाहरुलाई
हिँउदमा साँढेहरुले सिंगौरी हानेर
कत्ति चर्कायो
बिचरा बूढो बकैना
बोक्राहरु खुत्त्याएर
चोपहरु कत्ति बगे कत्ति
तै पनि
सयौँ बर्ष पुरानो बकैना
सालिन्द
पाउलिएर झ्याँगिन खोज्छ
तर हुर्कन नपाउँदै
लुछिन्छ ,भाँचिन्छ
तेसैगरि बोकाहरुको लागि
अब त हावाले नै
लाछिन्छ
किन भने ऊ मात्र
आवरण छ
काठे चराले खोलेको ध्वन्द्रो बोकेको
ऊ भित्र रेलवे छ
ब्याङ्पाटे कमिलाहरुको र
चलिरहन्छ
हरबखत रेल ओहोर दोहोर
यसरि यस्तै
रफ्तारहरु चल्दा चल्दै
ढल्ने छ एक दिन
त्यो जिर्ण बकैना
म यिनै
कुराहरु सँग संवाद गरिरहेछु
काभ्राको रुखमा
पिपल हुर्कन्छ भने के बकैनाको रुखमा
काभ्रा हुर्कन सक्दैन ?
सक्छ अवस्य !
रोपेर हेरौँ
रोप्ने हिम्मत त गरौँ!
देश बकैना
हो स देश साँच्चिकै बकैना
काठे चरा, ब्याङ्पाटे कमिला,बोका
सुत्केरी बाख्रा,झ्याम्ले पाठा
हिँउदको साँढे
पालिरहेछ, हुर्काईरहेछ
के देश
काभ्राको हुन सक्दैन ?
(स्रोत : पर्लस्टजोर्नल डट कम)