~एकु घिमिरे~
वि. स. २०७१ को तिहार मावलकी हजुरआमाको निधनका कारणले मानिएन । चाड नमान्ने हुँदा साथीभाइलाई पालो दिने उदेश्यले मैले अफिस कुर्ने निर्णय गरेपछि कार्यरत चैनपुर बजारमै बस्यो हाम्रो परिवार । टीका नलगाए पनि रमझम भएपछि मन त उड्ने नै भयो । यसै प्रसङ्गमा पार्ट टायम शिक्षण गरिरहेको मकालु अरुण स्कूलका नानीहरुको देउसीमा मिसिन बोलाइएँ । जमातमा अन्य शिक्षक साथीहरु को-अर्डिनेटर सुवास गिरी र गणेश श्रेष्ठ पनि हुनुहुँदो रहेछ । खूव रमाइलो गरियो देउसीमा । मैले मादल ठोकेर भट्याएपछि सबै हौसिए । दान-दक्षिणा पनि सोचेभन्दा धेरै दिए । रमाइलो गर्ने उदेश्य पुरा भयो ।
त्यही देउसीको पैसा खर्च गर्ने भन्दै मङ्सिरको एउटा शनिवार पूर्वको चर्चित थुम्को तीनजुरेको थाप्लोमा बनभोजको आयोजना गरिएछ । म देउसीमा भट्याउने मान्छेले नगइकन सुखै पाइँन । बल्ल बल्ल आएको शनिवार हाम्रो परिवार सँगै बस्ने र युट्यूबका फ्लिम हेर्ने चलनमा त्यो प्रस्तवले प्रभाव पार्यो । म जाउँ कि नजाउँ भन्ने दोधारमा परेँ । मेरी स्टाफकी छोरी सन्जु पनि बनभोजकी आयोजक मध्ये एक थिइन् । उनी स्कूलमा विध्यार्थी भए पनि बाहिर छोरी नै थिइन् । हाम्रो मनोभावना बुझेर होला उनले त अझ हाम्रो परिवार नै जानुपर्छ भनेर पो कर गर्न थालिन । गाडीमा जानुपर्ने हुँदा एकातिर ठाउँ नपुग्ने चिन्ता अर्कोतिर मेरी सुमीलाई गाडीमा बिसन्चो हुने भयले म एक्लै बनभोजमा मिसिएँ । लेण्डलोभरमा भरी भयौँ हामी । एकजना शिक्षक गणेश श्रेष्ठले चाहिँ मोटारसाइकल लानुभएको थियो । गाडीमा नानीहरुको अन्त्याक्षरीमा सामेल भयौँ हामी । यतिबेलाका गीत सबै हाम्रा लागि उस्तै लाग्ने ‘ढुचुक -ढुचुक…………! ‘ । अनि हामीले गाएका पहिलाका गीत पनि नानीहरुलाई एउटै लाग्दो रहेछ ! दोहोरियो भन्ने आरोपको पो दोहोरी चल्यो ! अन्त्यमा गीत गाउने र हल्ला गरेर रमाइलो गर्नेमा परिणत भयो अन्त्याक्ष्यरी । करिव बाह्र बजे हामी तीनजुरे नजिक पुगेर लेण्डलोभरबाट ओर्लियौँ । भूइँ कुहिरो चिसो हावा लिएर बुर्कुशी मरिरहेको थियो । विध्यार्थीहरु हा.. हा.. र हुर.. हुर.. गर्दै थाप्लोतिर उकालिए । म गाईको बाछो जस्तो तिनकै पछि लागेँ । टोपी लगाउँदा पनि टाउको दुख्ला जस्तो चिसो रहेछ । आइ. यू. सि. एन. ले राखेको पहेँलो पृठभूमि भएको बोर्ड्मा कालो अक्षरले ‘घुर्बिसे -२६६० मिटर ‘ लेखेको ठाउँदेखि सेतो धागो टाँगेर थाप्लोमा रहेकी पाथिभरा देवीको मन्दिरसम्म लगिएका त्याना माकुराको जालोजस्तै देखिन्थ्यो । उस्तै रङको कुहिरो धागोमा ठोकिएर सङ्ला थोपा-थोपा झुण्डिरहेका देखिन्थे ।धागोलाई पछ्याउँदै सिँडीको बाटो हामी उकालिँदै रह्यौँ । निक्कैबेर उकालो हिँडेपछी बोट-विरुवा केही पनि नभएको थाप्लोमा पुग्यौँ । त्यहाँ पाथिभरा देवीको मन्दिर र नेपाल टेलिकमको टावर रहेछ । यसो बस्नलाई स-साना चौतारा अनी जिर्ण भइसकेको कुहिरोबाट पानी झार्ने बोराको पर्दा देखिन्थ्यो । सबै झार सुकेको ठुलो फाँट , कुहिरो लागेर आसपास केहि नदेखिने मौसम । विध्यार्थी नानीहरु नबाँधेका बाख्राका पठाजस्तै कुदे । कुहिरोमा ठोकिएर तिनका आँखिभूइँ, परेला र कपाल सेतो देखियो । जाडो झन-झन बड्यो । नानीहरुले घर-घरमै बनाएर ल्याएका खानेकुराहरु खाएर हामी ओरालो झर्यौँ । बिहानको अल्छि हरायो अनि आकाश खुलेका बेलामा देखिने दृश्य हेर्ने रहर उब्जाउँदै गुराँस घारीको सानो मोटरबाटोमा गूडेर हामी क्रमश टाढिरह्यौँ । यसरी पहिलो तीनजुरे यात्रा आकस्मिक भयो । अल्छि लाग्दै शुरु भयो अनि रहर र कौतुहलता नमर्दै सकियो ।
त्यसपछि त्यो थाप्लोमा पुगेर वरिपरी देखिने सुन्दरता हेर्ने रहर बर्षायामको झारजस्तै बड्न थाल्यो । अझ गुराँस फुलेका बेला त्यो बाटो पैदल नै यात्रा गर्नपाए हुन्थ्यो भन्ने बिचार त्यही तीनजुरेको कुहिरो जस्तै मनभरी मडारिन थाल्यो ।’तँ चिता , म पुर्याउँछु ‘ भनेजस्तो एकहत्तर सालको चैत्रमा मेरो पहिलो कृति ‘एउटा बाटो गाउँसम्म’ को विमोचन कार्यक्रममा सुनसरी झर्दा त्यो सुन्दर डाँडो एकफन्को घुम्ने योजना मनमनै बनाएँ । म सँगै सुमी र छोरो सुयोग पनि जानेवाला थिए । यदि मौषम नराम्रो भए त्यहाँ जानुको कुनै अर्थ थिएन । मौषमको भर नहुने भएकाले मैले उक्त योजना उनीहरुलाई सुनाइनँ । रहरका छालहरु उठेपछी रोक्ने तगारो हाल्नु ठुलो पाप हो जस्तो लाग्छ । जानी-जानी पापी नबन्न मैले योजना गुपचुपमै राखेँ । चैत्र १८ गते बुधवार बिहान साढे पाँच बजे चैनपुर-धरानको गाडीमा मैले धरमर हुँदै टुटे-देउराली सम्मको टिकट काटेँ । मौषम उस्तो सफा थिएन । गाडी धूलो उडाउँदै मुडे-सानीश्चरे पुग्दा घाम झलमल्ल लागेको थियो । टुटे पुग्दा ठीक नौ बजेको थियो अनि आकाश एकदमै निलो देखिन्थ्यो । हामी त्यहीँ ओर्लियौँ ,खाजा खायौँ , झोला थन्क्यायौँ र उकालियौँ । शुरुमा भेटिएका बुडा गुराँसका बोट फुलेका थिएनन् । नेपाली कागज बनाउन प्र्योग हुने लोक्टाको विरुवा उनीहरुलाई चिनाइदिँदै हामी मोटर हिँड्नसक्ने दम्स्याइलो बाटोमा हिँडिरहयौ। घना अनि निर्जन जङ्गल भएकाले कतै भालु नै पो आउला कि भन्ने डर पनि आयो भित्री मनमा । गुराँस नफुलेको देखेर निरासा पनि थियो । यत्तिकैमा एउटा ठुलो कालो जनवर हामीतिर आएको देखेपछि मेरा गोडा गले । तर त्यो त भोटेकुकुर पो रहेछ । त्यो कुकुरको अलिक पछि आउनेहरुको हातभरी गुराँसको फूल थियो । उनीहरुको अनुहार पनि गुराँसजस्तै देखिन्थ्यो । यो जम्काभेटले हाम्रो यात्रामा हौसला थप्यो । नानीले मागेपछि उनीहरुले केही थुङ्गा गुराँस उपहार दिए । अनि मातृभाषामा आफ्नै गफ गर्दै ओरालो झरे । उनीहरुको कुरा नबुझेर नानी ट्वाल्ल पर्यो । हातभरी गुराँस पाएपछि मख्ख पर्यो ।त्यो गुराँस हाम्रो जन्मस्थान इलामको श्रीअन्तुतिर पाइने भन्दा अलिक गुलावी अनि स्वादमा चाहिँ नमिठो रहेछ । केटाले स्वाद नपएपछि ती थुङ्गाहरु मिल्केतिर हिँडेका जापानिजहरुको टोलीलाई दियो। गुराँसको उपहार पाएपछि तिनीहरुले गाइडलाई भन्न लागाएछन् ‘फूल दिएकोमा धन्यवाद तर यसरी फूल टिप्नु नराम्रो काम हो । यस्तो सुन्दर चिज हेर्नलाई मात्र हो छुन वा बिगार्न हैन । अबदेखि नटिप्नु ल । ‘ उनीहरुले आफूलाई फटाहा सम्झेकोमा नानीलाई नराम्रो लाग्यो होला अनि गाइडलाई भन्न लगाइदियो कि यो फूल उस्ले हैन कुकुरवालाले टिपेका हुन । नानीको कुराले खुशी भएका उनीहरुले चक्लेट उपहार दिएर अघि लागे ।
अब हामी गुराँसै-गुराँसले भरिएको जङ्गलमा पुगिसकेका थियौँ । आहा! बर्णन गर्नै कठिन हुने सुन्दरता थियो त्यहाँको । परि-परिको स्टायलमा फोटो खिच्दै हामी उकालिँदै रह्यौँ । कहिले बोट्मा चढेर , कहिले गुराँसलाई शिरमा लगाएर अनि कहिले फाँटमा गुराँसै- गुराँसको दृश्य फोटोमा कैद गर्दै हामी समुद्र सतहबाट २६६० मिटर उचाइको घुर्बिसे पुगेका थियौँ । एकाएक कताबाट कुहिरो आयो अनि सबै सुन्दरता बेहुलिको घुम्टोले झैँ छोपिदियो । श्वास बढाउँदै तीनजुरेको थाप्लोमा पुग्दा उही पहिलाकै जस्तो जाडो भयो । वरपरका केही पनि दृश्य हेर्न नपाईकन मन्दिरमा दर्शन गरेर हामी ओरालो झर्यौँ ।तीनजुरेको उचाइबाट सुन्दर दृश्य हेर्ने रहर दोस्रो पटक पनि अधुरै रह्यो ।
तीनजुरेको थाप्लोबाट पूर्वान्चलका सबै जिल्ला देखिन्छन भन्ने हल्ला पनि सुनेको थिएँ । म दुई-दुई पटक त्यहाँ पुगेकै पनि हो तैपनी भूइँ कुहिरोको सिरकभित्र लुकेर तीनजुरेले म सँग किन जोरी खोजेको होला भन्ने लागिरह्यो सधैँ ।हाम्रो स-परिवार त्यहाँबाट देखिने रमिता हेर्न चैत्रमा तिर्खाएका बस्तुजस्तै बनिरह्यो । फेरि बहत्तरको चैत्र १७ गते हाम्रो त्यही पारिवारिक टोलीलाई तिनजुरे ईलाकाको सुन्दरतामा रम्न साइत जुर्यो । यो पल्ट हाम्रो ड्राइ पिकनिक पनि थियो । ग्लोबल वार्मिङको कारणले होला अघिल्लो बर्षजस्तो ढकमक्क गुराँस फुल्नै बाँकी थियो । तैपनी पहिलोपटक देख्नेलाई त्यो दृश्य कम आनन्ददायक थिएन । हाम्रो उद्देश्य तीनजुरेको थाप्लोबाट देखिने रमितामा रमाउनु थियो । ढिलो गर्दा कुहिरोमा लुक्ने तीनजुरेलाई यसपटक झुक्याउने गरी हामी हत्तार गरेर उकालीयौँ । नभन्दै यसपटक हाम्रो माग पुरा गरिदियो मौषमले । आकाशमा एउटै थेग्लो बादल नभएका बेला हामी टुप्पामा पुग्न सफल भयौँ ।
आम्मामामामा !! पूर्वोत्तर फर्किँदा कनचजंघा, कुम्भकर्ण र नचिनेका हिमालहरु दाँयातिर अनि फेरी मकालु हिमशृंखला बाँयातिर !! पूर्वमा ताप्लेजुङ् पाथिभरा ,अलिक तल पाँचथरका नीला डाँडाहरु ।दक्षिणतिर तेह्रथुम अनि धनकुटाका हरिया डाँडाहरु । उत्तरतिर संखुवासभाका खाँदबारी ,चैनपुर ,वाना ,मादी आदी बजारहरु टल्किरहेका । पर भोजपुरका डाँडाहरु उस्तै नीला देखिन्थे । दुर्बिन हिँदो हो त अझ टाढा ओखल्ढुङ्गाका पनि ठाउँ देखिन्थे होला । मैले चिन्दो हुँ त उदयपुर र खोटाङ समेत देखिएको थियो होला । नजिकै वरिपरी चाहीँ गुराँस फुलेर सजिएको तीनजुरेको त्यो सुरम्यताको बर्णन गर्न म सक्दिनँ । क्यमेराले उक्त दृश्य खिच्न सक्दैन । मेरो मनको क्यमेराले कैद गरेको त्यो सुन्दर तीनजुरेको दृश्य अझै पनि जिवीत छ र फेरी-फेरी पनि त्यस ठाउँमा पुगिरहन पाइयोस भन्ने इच्छा छ । तीन पटक जम्का गरेपछि मैले देख्न पाएको त्यो दृश्य हेर्न तपाईं पनि पछि नपर्नुहोला भन्ने अनुरोध गर्दछु ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )