~लक्ष्मी प्रसाद देवकोटा~
म रङ्गीचङ्गी छु वसन्त छोरी ।
म जन्मिएँ कोकिलले कर्राई ।।
झुसिल्किराको सपना सिँगारी ।
दिए पखेटा प्रभुले मलाई ।।१।।
म हूँ पहीली बुझ पङ्खदार ।
वसन्तको फूल लिँदी सिँगार ।।
कता कताको सुकुमार सार ।
फुलेर उठ्दो क्षणको विचार ।।२।।
आकाश जस्तो सुनसान चित्त ।
हुँदा फुरी भाव नयाँ विचित्र ।।
इन्द्रनी जस्तो रंगरुप पाई ।
उचालिए झै म उडें रमाई ।।३।।
म बीउ झै ली सपना सुतेथें ।
झरी र छाया अनि घामभित्र ।।
क्यै कुत्कुतीले बुझ पङ्खदार ।
बनी उडें क्या कलिली विचित्र ।।४।।
सिँगारिएका कति रङ्ग जाति ।
धुलो सुनौला दुइ पङ्खमाथि ।।
हालै बनाएर परी मलाई ।
वसन्तको बाग दिए बनाई ।।५।।
ठिटी म सानी अनि रूपखानी ।
हूँ र्स्वर्गकी एक परी बयानी ।।
बुन्छन् पखेटा प्रभुले मलाई ।
तरङ्गको तान लिई रँगाई ।।६।।
बनी हलूका सुख झैं सलक्क ।
म नाच्छु फुर्फुर्र घुमी फरक्क ।।
जहाँ म जाने मन गर्छु फिर्छु
फुका हँसीली रसिली विचर्छु।७।।
चुसेर मीठा रस फूलमाथि ।
गमक्क भै मस्त बसेर जाति ।।
म बन्छु ध्यानी सुखको वसन्ती ।
न छोप्न खोजे तर यत्ति बिन्ति ।।८।।
सुरुक्क पारी रस फूलबाट ।
चुसेर मीठो अति मस्तसाथ ।।
छोपी अँगालोसित पङ्खद्धारा ।
म देख्छु सातौं सब र्स्वर्ग प्यारा ।।९।।
पिलिक्क पारिकन चट्ट आँखा ।
काला उज्याला कतिका चनाखा ।।
म हेर्छु छन् फूल कहाँ उज्याला ।
भनेर आफ्ना रसदार प्याला ।।१०।।
बसेर प्यूँदो रस थोर बेर ।
मजा अनौठोसँग मस्त हेर ।।
मर् इशको जो रस बासवाला ।
चाखिरहेको छु चुमेर प्याला ।।११।।
अरू उडेको सुखमा हलुका ।
अरू रमेको रसभित्र नीका ।।
देखेर आफै पुतली बनेर ।
नाचें दिलैमा सुख मिल्छ हेर ।।१२।।
सौर्न्दर्यको रूप भजेर रङ्गी ।
त्यहाँ हुने जो रस चुस्नु सङ्गी ।।
त्यही सबै र्स्वर्ग भनेर जान ।
मिल्ला त्यहा इश्वर गन्ध पान ।।१३।।
झुसिल्किराको सपना सिँगारी ।
दिए पखेटा प्रभुले फिजारी ।।
म डुल्छु सारा वन खेत बारी ।
बनेर आँखाकन रूप भारी ।।१४।।
छ शक्ति क्या हेर विचित्र नानी ।
चोली रँगीलो लिनकी म ध्यानी ।।
झुसिल्किरा तुच्छ खराबबाट ।
जन्में म कस्तो रँग-रूपसाथ ।।१५।।
बसेर यौटै मनभित्र ध्यान ।
गरेर सारा मनलाइ तान ।।
बदलिन्छ चोला रँग मिल्छ राम्रो ।
देखिन्छ त्योर् इश्वर हेर हाम्रो ।।१६।।
पाइन्छ मीठा रस चट्ट प्यूँन ।
पुगिन्छ क्या र्स्वर्ग वसन्त ज्यूँन ।।
जहाँ छ राम्रो उसतर्फउड्न ।
लिई पखेटा फुर्रुर्रुर हिँड्न ।।१७।।