कविता : तिमीले मलाई बिर्स्यौ भने

~नेत्र एटम~Dr Netra Atom

काँढाहरुले घेरिएको
गाढा रातो गुलाब
फुल्न छोड्ने छैन
हिमनदीको हिउँ पग्लन
र आकाशको नीलिमा
चम्कन छोड्ने छैनन्

ऋतु बदलिइरहने छ
तिम्रो मनजस्तै
झरी परिरहने छ
एकान्तमा बोलिरहने
यी आँखाबाट,
बाटोमा
फोहर हिलो उसै गरी
गुजगुज गरिरहने
छ,
हाँगामा बसेर
सुन्दर चराहरु
गीत गाइरहने छन्,
सुनसान रातमा पनि
झङझङ गरिरहने
खोलाजस्तो मेरो मुटु
केही छिन अडिने छ

चल्न थाल्ने छ
झन् झन् जोडले,
कतै केही फरक पर्ने छैन
कसैलाई केही अभाव हुने छैन

कोठाको अँध्यारो कुनामा
माकुराले लगाएको पुरानो जालोजस्तो
यो मनलाई बाहेक
कतै
केही
फरक पर्ने छैन

कहीं
कसैलाई
अभाव हुने छैन

तिमीले मलाई बिर्स्यौ भने
तिम्रो सम्झनाको सघनता
बोकेर
धिमा हुने छ मेरो हृदयको गति
अरु सब
उस्तै उस्तै
चलिरहने छन्

तिमीले मलाई बिर्स्यौ भने !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.