संस्मरण : छात्तीमा खसेका गजलका बूँदहरु

~हेमन यात्री~heman-yatri

मध्यपुषको एकदिन, शिशिर खसेको छ भुइँभरि । जाडोमा शरीरले रोपेको काँडा बोकेर उभिएका छौं, माझकिराँतको छात्तीमा । घाम आकाशको एक छेऊ भएर दगुरिहेको छ । मानौं, तिनलाई आकाशमा बस्ने रहर पटक्कै छैन आज । पारीपट्टी ट्याम्के निमग्न उभिएको छ रमिते भएर । शिलिचुङ्ग हुदैँ मातिएर आएको बतास हामीसँग ठोक्किएर पिखुवा खसेको छ सायद । लाग्छ अब त हावा, धुलो र धुँवा सहनलाई नामुद भईसकेका छौँ हामी ।

भोजपुरको टुडीखेल फरक मुद्रामा देखिएको छ आज । सुन्दर श्रृंगारिक गजलका शेरहरुजस्तै । पूर्वपट्टीको मञ्च बेहुलीझैँ लाग्नेगरी सजिएको छ । र सांगीतिक गजलले मैदानको मादकता बढाएको छ । लाग्छ यो बेला सिंगो भोजपुर इतिहास रच्ने क्रममा छ । समयले ठिक १ बजे हिर्काएपश्चात बल्ल मञ्चमा उक्लिए सञ्चालकद्वय प्रशान्ता राई र हरि दाहाल । सभाका अध्यक्ष राजन समीपले औपचारिक सभालाई अगाडि बढाउने अनुमति दिएपश्चात सभाले आफ्नो रफ्तार अगाडि बढायो ।

पत्यार नलाग्नेगरी टुडीखेलमा हजारौं हजार मानिस औइरिसकेका छन् । यो क्रम अझै निरन्तर बढीरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान लोक साँस्कृतिक विभागका सदस्य बरिष्ठ गजलकार प्राज्ञ बूँद राना हातमा एकजोडा सेता परेवा लिएर उभिएका छन् मञ्चका अघिल्तिर । टुडीखेल उत्सुकताले भरिएको आँखा मञ्चतिर कुदाइरहेको छ । केही छिनमै ती परेवका जोडी मुक्त आकाशको यायावर उडानमा अलप भए । यता पूर्वाञ्चलब्यापी गजल महोत्सव सुरु भइसकेको छ ।

-०-०-०-

पौष ११ र १२ गतेको बृहतसभा । हामी पहिलो दिनको आरम्भमा छौँ । महोत्सवमा पूर्वाञ्चलब्यापी गजल प्रतियोगिता चलिरहेको छ । निर्णायक समूहमा भुटान गजल मञ्चका याम थुलुङ, अनाममण्डलीका सुरेश सुवेदी, परिचय साहित्य मञ्चका इन्द्रसुर बेल्टारे लगायत छन् । प्रतियोगीले गजल वाचन सकेपछि खासखुस गर्दै आफ्नो कापीमा लेख्थे निर्णायकहरु । यिनीहरु मानिसको हृदयको मोल तोक्न बसेका छन् आज । नत्र कसरी नम्बर दिनु ! हृदयको तस्वीरलाई । हृदयबाट निस्किएका सिर्जनालाई । मलाई लागिरहेछ सा¥है अप्ठ्यारो कामको जिम्मा लिएका छन् यो समूहले ।

गीतकार शुभ मुकारुङ दाई मेरो छेऊमै घडी हेर्दै हुनुहुन्छ घरिघरि । मानौं, उनलाई कहीँ पुग्नु छ आज । बायाँपट्टि गजलकार निराजन बतास र अशोक बस्नेत कानीखुशीमा व्यस्त छन् । मेचीपुत्र क्यामेराको लेन्स चारैतिर घुमाउँदै निशाना लगाउँदैछन् । तिनको निशाना कहाँ पुगेर ठोकिने हुन् ? हामी अन्जान छौँ । स्थानीय कलाकारहरु बी–बीचमा आधुनिक नृत्यले मनोरञ्जन प्रदान गर्थे । शुभ मुकारुङ दाईले नृत्यकार बहिनीको एक लात्ती भेट्नुभएछ । नृत्यको जोसमा तिनलाई के पत्तो ? शुभदाई आँखा झिमझिम गर्दै, “यी चेलीले त मन पराइन् कि क्या हो ? म बुढालाई पनि ?” भन्दै आफू बसेको कुर्सी पछाडि धकेल्दै जोगिन थाले । कार्यक्रमका प्रमूख अतिथि दाई बूँद राना बुद्धको आशनमा देख्छु ।

अहो ! कति चाडै पारी ट्याम्के छोएर आएको साँझ हामीसम्म आईपुगेको छ । टुडीखेलका दर्शक चिसोको शासनमा टिक्न नसकी हिँड्न थालिसकेका छन् । बूँद दाई भोजपुरको माटोलाई प्रणाम गर्दै गर्जिन थाल्नुभयो–

चुनौतिको भेलबाढी तरी हेरौं न
लोभलाग्दो काम कुनै गरी हेरौं न ।

दिनदिनै कति मर्नु किस्ता किस्तामा
सधैँभरि बाँच्नेगरी मरी हेरौं न ।

-०-०-०-

११ गतेको कार्यक्रम सकेर काखीमा न्यानो च्यापेर ओरालो झ¥यौँ हामी । जाडोले निक्कै विद्रोह गर्न थालेको छ । बेलुकी भोजन गर्दै कार्यक्रमको बारेमा केही चर्चा भयो । र आयोजक भाइबहिनीहरुको पनि । लगभग १८ देखि २२ वर्षसम्मका यी क्रियाशिल भाइबहिनीहरु कार्यक्रमका लागि अहोरात्र खटिरहेका छन् । यिनीहरुको आँखामा न निद छ न भोक ! दिनरात नभनि खटिरहेका छन् । र पनि थकान पटक्क देख्तिन म यिनीहरुको अँधरमा । तर मलाई लागिरहेको छ, यिनीहरुले काँडैकाँडामा टेकेर मुस्कानका थुँगाहरु बोकिहिँडेका छन् । आज यी भाइबहिनीहरु आँखामा फूलैफूल लिएर जीवनको यौटा आकाशमा उडीरहेको देख्ता भीम विरागको यौटा गीत सम्झन्छु यतिबेला–

फूलैफूल मात्र पनि होइन रहेछ जीवन
काँडाबीच फुल्ने फूल रहेछ जीवन

गजल प्रतिष्ठानका भाइबहिनीहरु आइपुगे । हामीले सुन्नु थियो उनीहरुको सिर्जना र प्राप्त गर्नु थियो यौटा मोक्ष । सुप्रसिद्ध कवि मनु मन्जिल भन्नुहुन्छ–असल सिर्जना श्रवण गर्दाको क्षण मानिसले साहुको ऋण बिर्सन्छ, चोटपटक बिर्सन्छ, दुस्मन बिर्सन्छ । र बिर्सन्छ सम्पूर्ण दुखाइहरु । ठिकै त रहेछ नत्र किन भित्रैसम्म छोइन्छौं हामी असल सिर्जनाले । प्रतिष्ठानका विष्णु लेख्छिन्–

भन्न सक्थ्यो भूल हुँदैछ मीठो सह्यौ चुपचाप
कुरिबस्थ्यो भञ्ज्याङमा धाउँदा बिराएँ त ?

पोल्छ भन्थ्यो सिरानीले बिझाउँछ बिछ्यौनाले
माग्छौ ठाउँ हृदयमा सजाउँदा बिराएँ त ?

र लेख्छिन सबिता–

आएपछि याद उसको दिल दुख्तै थियो
पूर्णिमाको जूनतारा नि झिलमिल दुख्तै थियो ।

छुट्तै गएपछि साथ घट्तै गएपछि याद
तेल सिद्या दियोझैँ मन पिलपिल दुख्तै थियो ।

यस्तै राजन समीप, भावेष भुमरी, प्रशान्त राई, गंगा राई, लोकनाथ लगायतले सुन्दर गजलहरु सुनाए ।

-०-०-०-

पारीपट्टी घामका पाइला पुगिसकेको रहेछ । रात निक्कै छिपिएर निदाएका थियौँ हामी । अघिल्लो रातको जाडो बिर्सने गरी होटलवालाले ओढ्नेको व्यवस्था गरिदिएका थिए । अघिल्लो रात होटलवालाले छल गरेको सम्भन्छु– झ्यालढोका बन्द गरेर निदाएपछि गर्मी हुन्छ” भने । आफू त हो न हो भइयो । राती सुत्नेबेला फुकाएको ज्याकेट फेरी लगाएर सुत्दा पनि तीन बजे नै ब्यूँझिएर–“बल्ल बल्ल भेट भो दर्शन नमस्ते” भन्दै जाडो भगाएका थियौँ । अघिल्लो रातको ब्याज समेत असुल गरेर घाम निस्किुञ्जेल सुतिएछ आज ।

-०-०-०-

भोजपुरको प्रसिद्ध मन्दीर सिद्धकाली, सामुदायिक रेडियो चोमोलुङ्मा घुमेर दोश्रो दिनको कार्यक्रममा सबेरै पुगिसकेका थियौँ हामी । जिल्ला विकास समितिको सभाकक्षमा सम्पन्न हुनै लागेको कार्यक्रममा । बाँकी नै थिए अघिल्लो दिनको केही गजल प्रतियोगीहरुको गजल वाचन । हलमा उस्तै भरिभराउ दर्शक क्रमशः प्रतियोगीहरुले आ–आफ्ना गजल वाचन गरीसिध्याए । र अतिथिहरुको क्रम जारी थियो । कार्यक्रम सञ्चालकले यौटा उर्दी जारी गरे–“गजलबाहेक कुनै कविता, मुक्तक आदि भन्न निषेध छ ।” अघिल्लो दिनको कार्यक्रममा एकाध जनाले कविता वाचन गरेका थियौँ । मैले सोचेँ–“संसारमा साहित्यको कविता विधालाई झिकिदिने हो भने बाँकी साहित्यको के रहन्छ ? र भनेँ–काव्यले प्रवेश नपाएका कृतिहरु कहाँ साहित्यिक हुन सक्छ र ! आज हामीले सुन्दै र भन्दै आएका गजलका प्रत्येक शेरमा काव्यले भरिएको छ । नेपाली गजलसम्राट ज्ञानुवाकर पौडेल जहिले भन्नुहुन्छ–“गजलले कविता बोल्नुपर्छ”। मलाई लाग्छ–हामीसँग पठन सँस्कृति कम भएकै कारणले हाम्रा मस्तिष्कका केही झ्यालढोकाहरु उघ्रिन बाँकी छन् । जुनदिन हामी फराकिलो भएर अध्ययन गर्नेछौँ र नयाँ कुराको खोजी गर्नेछौँ तब देखिन बाँकी चेतनाका क्षितिजहरु खुल्दै जानेछन्” ।

-०-०-०-

बूँद राना प्रमुख जिल्ला अधिकारीलाई फकाउँदै हुनुहुन्छ–सर ! मेरो गजल सुनेर मात्र जानोस् है ! पछाडिपट्टी सुनिरहेको छु म यी संवाद । मेचीपुत्र क्यामेराको लेन्स घुमाउनमै व्यस्त छ । यिनले घुमाउन पनि कहाँकहाँ मात्र घुमाएनन् र ! क्यामेराको लेन्स । लगभग दुई दिनमा ८ सय फोटा खिच्न भ्याइसकेका थिए यिनले । उता याम थुलुङको टोली आफ्नो काम सकेर लामा लामा श्वास तान्दैथिए । प्रतियोगीहरुले नतिजा कुर्दाको हैरानी हाम्रा आँखा सम्म आएर ठोक्किइसकेका थिए । तर बूँद दाईको गजल नसुनी के सुख मिल्थ्यो र !

मरुभूमिमा परेँ र त गजलकार भएँ
बूँदको निम्ति मरेँ र त गजलकार भएँ ।

कसैले गंगाको पानी छरे कसैले रक्सी
मैले जीवन नै छरेँ र त गजलकार भएँ ।

मञ्चको अघिल्तिर उभिएका छौं हामी । अनयास कवि बैरागी काइँलाको यौटा कविता सम्झन्छु–

मेरो माया मफलर भए
सजाईदिन्थेँ गलामा….

साँच्चै ! हाम्रा गला सजिएको छ मफलरले । निधारमा अबीर हातमा भोजपुरे खुकुरी । कस्तो नजाति–“लेखक/कविको हातमा कलम हुनुपर्ने थियो खुकुरी भयो । अब लेखकहरुले पनि खुकुरी बोक्ने दिन आएछ ।” निराजन बताससँग ठट्टा गर्यौँ हामीले । खासमा भोजपुरलाई नबिर्सने कसम खुवाएका थिए हामीलाई । एक अंगालो प्रेम पोखाएर कसम खायौं हामीले । प्रेम र श्रद्धाले भरिएको छाती बोकेर भावविभोर हुदैँ हिँड्यौ हामी होटलको बास पाहिल्याउँदै ।

-०-०-०-

यौटा ऐतिहासिक साहित्यिक सभामा भाग लिएर फर्कने क्रममा छौं हामी । जुन माटाले क्रान्तियोद्धा नारदमुनी थुलुङ जन्मायो । जुन माटाले परशु प्रधान, गणेश रसिक, मञ्जुल, श्रवण मुकारुङ, श्याम तमोट लगायतका दर्जनौं जीवन्त स्रष्टाहरु जन्माएका छन् । त्यहीँ माटोमा उभिएका छौँ आज । तिनै स्रष्टाहरुले खनेको बाटामा हिँड्नका निम्ति पूर्वाञ्चलब्यापी गजल प्रतियोगिताबाट छानिएर आएका छन् क्रमशः सिता तिवारी, आइन्द्र आँकुरा, देव आवारा र कञ्जन कविन जिम्बा ।

-०-०-०-

विहान ९ बजेको टिकट हुनाले केहीबेर अल्मलिने योजना बनायौँ हामीले । र निस्कियौँ कतै । मेचीपुत्र विहानैदेखि उदास देखिन्थे । अघिल्लो दिनको उल्लास कहाँ झारेछ यिनले ? अझ हामीसँग टाढिएर एक्लै हिँड्न खोज्छ ऊ । हामी तिनको कलेजो चिर्नेगरी बाँण तेस्र्याउथ्यौँ–“फोटोग्राफरको मन फोटोमा मात्रै अल्झन सकेन क्यारे ! सायद अघिल्लो दिनको दोहोरो तस्वीर फायरिङले मुटुमा लागेको होला नि चोट, त्यहीँ भएर घायल छन् ।” निराजनले फ्याट्ट भनिहाले–“मेची ! हाम्रो हेमनले १८ हजारको क्यामेरा बिगारेर त खुशी नै देखिन्छ, तपाईँको चाला के हो यस्तो ?” अघिल्लो दिनको कार्यक्रममा भुइँमा खसेर मेरो क्यामेर बिग्रिएको थियो । मैले तत्काल जवाफ सोझ्याएँ–“हेर्नोस् निराजन जी ! अर्को १८ हजारमा क्यामेरा किन्दा पाइहालिन्छ तर मेचीको हृदय ३६ हजारमा तपाई किन्न सक्नुहोला ?” साथीहरु हाँसे गललगलल….। उता मेचीको हालत पतला भइसकेको थियो ।

-०-०-०-

साँच्चै मनमा विरहले बयली खेल्न सुरु गरिसकेको छ । हामी बसपार्क पुगुन्जेलसम्म माथि टुडीखेल, सिद्धकाली लगायत सारा भोजपुर हामीलाई नै हेरिरहेका थिए । आयोजक साथीहरु प्राय सबै हाम्रा विदाईमा आईसकेका छन् । बसले सुसेल्न थाले हर्न । हामी आ–आफ्नो सिटमा बस्यौँ । आयोजक साथीहरुले फूलको थुँगो र प्रेमसँगै मिसाएर आर्शिवाद दिए सुरक्षित यात्राको लागि । बसले रफ्तार लियो । हामीले विस्तारै भोजपुर छाड्दै गयौँ । र ति प्रिय मनहरु छट्तै गए, जसले आजसम्म बाँधिराखेका थिए हामीलाई । सारा परिवेश स्तब्धताले भरिएको छ । कोही बोल्ने आँट गर्दैनन् । धाँगो काटेर बरालिएको चङ्गाजस्तो मन बोकेर सम्झिरहेको छु म यतिबेला आफ्नै गजलका शेरहरु–

मनको आकाश फाटेको बेला सिएर आएछु
अँध्यारोबीच पहाडको गुराँस लिएर आएछु ।

रहरको जून संघारछेऊ चुटेर ओर्लियो
खुशीले मुटु बेठेगान हुँदा पिएर आएछु ।

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.