~हाङ्ग्युग अज्ञात~
हिनताबोधको ठर्रा सुँघेर
प्रतेक साँझ मर्नु भन्दा
राष्ट्रको उन्नतिको कामना गर्दै
एक्लै कुनै कुनामा होइन
खुलामन्चमा एकजुट भएर
सिघ्र संविधान बनोस् भन्ने
परम् प्रार्थना गर्दै
यो भट्टी पसल जस्तो देशमा
आऊ सामुहिक आत्महत्या गरौँ !
कति थाम्नु धैर्यताको बाँध ?
कति थुम्थुम्याउनु अराजक चित्त ?
कति रोक्नु मनको आक्रोश ?
आउँदा- आउँदै
बीच बाटोबाट
खै ! कसले अपहरण गर्छ शान्ति ?
खै ! कसले चोर्छ कलम र कापी ?
र, लेखिनुबाट वन्चित हुन्छ
संविधान …!
छट्टु शासकहरूको विरुद्धमा
टट्टू नेताहरूको विरुद्धमा
दलाल पार्टीहरूको विरुद्धमा
प्रतिबद्धताको मुट्ठी कसेर
संविधानसभाको पटांगिनीमा
आऊ सामुहिक आत्महत्या गरौँ !
कति पिउनु हलाहल ?
कति गिंड़नु
दक्षप्रजापतिको टाउको ?
कति हिंड्नु तमोरको किनारै-किनार ?
हरेक युगमा
हामीले नै औंला चढाउनु पर्ने ?
हरेक युगमा
हामीले नै पाताल भासिनु पर्ने ?
हरेक युगमा
हाम्रो उत्सर्गले
पानीजहाज खिपेर
माचिन्डेहरू कोलम्बस हुने ?
कि पशुपतिको मन्दिरमा
बज्दा-बज्दैका मङ्गल धूनहरू
रोकियून्
अनि स्तब्ध भएर
ब्रम्हाले साँच्चैको आँसु झारून्
आऊ सामुहिक आत्महत्या गरौँ !
संविधान लेख्न नसक्ने
कायर टपरेहरूको विरुद्धमा
आऊ सामुहिक आत्महत्या गरौँ !
किन काँप्छन्
संविधान लेख्ने हातहरू ?
किन ढल्छन् सरकार सालिन्दा ?
किन धाउँछन् दिल्ली बारम्बार ?
किन फेर्छन् बोली धोतीजस्तो ?
कि ब्रम्हाण्डमा
फेरि कहिले घाम नउदाओस्
फेरि कहिले जून नछाओस्
हामी नागरिकहरू सप्पै मरूंग
र कंकालहरूमा जारी गरून्
संविधान
आऊ सामुहिक आत्महत्या गरौँ !
आऊ सामुहिक आत्महत्या गरौँ !